गोरक्ष डेस्क
दाङको तत्कालीन महेन्द्र अस्पतालमा साझा औषधि पसल सञ्चालमामा ल्याउँदा ठूलो महत्वकांक्षा थियो । अस्पतालको पूर्वपट्टि कटुवाखोला, खोलाभन्दा पनि पूर्वपट्टिको नवलपुर डाँडा, जसलाई पछि रुख रोपेर बनका रुपमा तयार पारिएको थियो । त्यो ठाउँमा साझा स्वास्थ्य सेवाले नै औषधि उद्योग निर्माण गर्ने ।
स्थानीयहरुको २४ प्रतिशत, आम नागरिकको २५ प्रतिशत र साझा स्वास्थ्य विभागको ५१ प्रतिशत शेयर हुनेगरी प्रक्रिया पनि अगाडि बढाइयो । सैद्धान्तिक सहमतिको काम करिब–करिब सकियो पनि । प्रक्रियामा प्रबेश गर्दै जाँदा बनको जमिन भनेर बन विभागबाट केही आलटाल हुन थाल्यो । कृषि तथा सहकारी मन्त्री थिए, बलदेव शर्मा मजगैयाँ । ‘मेरो चाहना हो यो, गराउँछु नै’ धेरै जनासँग मजगैयाँले भनेको सम्झन्छन्, डा.जनार्दन पन्थी ।
मजगैयाँ मन्त्री भएको समयमा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका दाङका मधुसूदन सुवेदी साझा स्वास्थ्य सेवा समितिको बोर्ड सदस्यमा नियुक्त भए । मन्त्रीको जिल्लाको मान्छे, बोर्डमा उनको प्रभाव हुने नै भयो । ‘पहिलो बैठकमै दाङमा साझा औषधि पसल सञ्चालन गर्ने प्रस्ताव उठाएँ र त्यसको सबै जिम्मा बोर्डले मलाई दियो’, सुवेदी सम्झन्छन्– ‘अनि म आफै गएर स्थापना गराएको हुँ ।’
त्यत्तिमा मात्र कुरा सकिएन । सुवेदी भन्छन्– ‘बलदेवदाइले औषधि कम्पनीका लागि जमिन ल्याउने प्रक्रिया पनि शुरु गर भनेर आग्रह भनौं कि निर्देशन नै दिनुभयो, त्यो प्रक्रिया पनि थालियो । स्थानीयको सहमति भयो । तर बनमा गएर प्रक्रिया रुक्यो । मेरो पदावधि पनि सकियो । बलदेवदाइ पनि त्यतिबेला मन्त्रीवाट बाहिरिइसक्नु भएको थियो ।’ त्यसरी ठूलो सम्भावना बोकेर आएको साझा औषधि पसल अहिले अलपत्र पर्दैछ ।
महेन्द्र अस्पतालबाट राप्ती उपक्षेत्रीय हुँदै स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा त्यो संस्था रुपान्तरित भइसकेको छ । उता सरकारले अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्नका लागि नीति बनाएर निर्देश गरेको छ । नागरिकलाई सबै औषधि पु¥याउन सहज हुने गरी साझा औषधि पसलको सञ्जाल देशभर जसो बिस्तार पनि भइसकेको छ ।
साझा नरहे के हुन्छ ?
औषधि क्षेत्रका जानकारहरु भन्छन्, साझा भएन भने अस्पतालको फार्मेसीले मात्र झण्डै २५ प्रतिशत औषधिका प्रकार उपलब्ध गराउन सक्दैन । यो नसक्दा जनतालाई सास्ती हुने नै भयो । अर्को, फार्मेसीमा औषधि ठेक्का दिएर ल्याइने हो । यसरी ल्याउँदा ठेकेदारको प्राथमिकता नाफा हुन्छ, उसले बढी नाफा हुने औषधि ल्याउने र आफ्नो अनुकूलमा मात्र औषधि पु¥याउने अबस्था हुन्छ, जुन उसका लागि स्वाभाविक हो ।
सकिएको औषधि ठेकेदारका कारण समयमै नआउने समस्या करिब करिब सबै फार्मेसीहरुले भोगिरहेका छन् । यता साझा औषधि पसलले सिधै आफै औषधि मगाउन सक्छ । ‘७५ प्रतिशत जति औषधि हामीले काउन्टरबाटै अर्डर गर्न सक्छौ र आजको भोलिमा आइपुग्छ,’ साझा औषधि पसलमा काम गर्ने एकजनाले भने– ‘हामीले देशभरका सबै शाखामा यस्तो अभ्यास गरिरहेका छौं ।’
कस्तो छ साझाको अहिलेको अवस्था ?
दाङमा साझा औषधि पसल अस्पतालले हटाउन चाह्यो । तत्कालीन उपक्षेत्रीय अस्पतालले यहाँ फार्मेसी सञ्चालनका लागि भनेर साझालाई निर्णय गरेर हट्न भन्यो । आफू भएको स्थानबाट साझा हट्न बाध्य भयो र अस्पतालको गेटनेर आएर बस्यो । त्यतिबेलाको अस्पताल प्रशासन र व्यवस्थापन त्यतिसम्म उदार भयो ।
अहिले साझा र प्रतिष्ठानबीचको सम्झौता सकिएको छ । ०७६ साउनदेखि सम्झौताको म्याद सकिएपछि प्रतिष्ठानले साझा औषधि पसललाई हट्न पत्र काटिरहेको छ । ‘सायद दुईपटक पत्र काटियो यो अवधिमा’ प्रतिष्ठान स्रोतले भन्यो । अहिले प्रतिष्ठानको गेटमा ‘स्यानिटाइजर टनेल’ जडान गरेपछि साझालाई थप समस्या परेको छ, उसको बिक्री काउन्टरको बाहिर थुनिएको झै अवस्था छ ।
कोरोनाको संक्रमणको समयमा ‘स्यानिटाइजर टनेल’ गेटमा राख्नु सुरक्षाको दृष्टिले जायज नै हो, तर यहाँनेर साझा औषधि पसललाई अप्ठ्यारो पार्ने नियतले त त्यो टनेल जडान गरिएन ? भन्ने गम्भीर आशंका भएको छ । प्रतिष्ठानले बनाएको नियमावलीमा आफ्नो परिसरको निश्चित दूरीमा समान प्रक्रियाका सेवाहरु राख्न अनुमति नदिने प्रावधान राखिएको छ । ‘आफै फार्मेसी सञ्चालन गर्न शुरु भैसकेपछि अब साझालाई त्यहाँ बस्न अनुमति दिनु भनेको नियमावली उल्लंघन गर्नु हो’, प्रतिष्ठान यस्तो तर्क गर्छ । साझा औषधि पसल भने प्रतिष्ठानसँग संवाद नै चाहँदैन, जे होला होला भन्ने मुडमा देखिन्छ ।
दाङकै मुद्दा बन्नुपर्छ साझा
दाङमा ठूलो योजनाका साथ प्रवेश गरेको साझा औषधि पसलको नियमितता र तत्कालीन रुपमा थालिएको तर विभिन्न कारणले अलपत्र परेको उद्योग स्थापनाको प्रक्रियाको नियमितता यतिबेला दङालीको मुद्दा बन्नपर्ने हो । तर, यो रुपमा खासै छलफल र बहस हुन भने सकेको छैन । बहस हुन नसक्नुको एउटा कारण छ । दाङमा एउटा समूह छ, जसको प्रयास प्रतिष्ठानको नेतृत्वलाई असहयोग गर्दै असफल घोषित गर्ने । यो खुला गोप्य हो ।
नेतृत्वको असफलता कुरेर बसेको त्यो समूह प्रतिष्ठानलाई आउने अनुदानलायतका सहयोग र बजेट रोक्ने सक्रिय हुनेदेखि अन्य प्रक्रियामा समेत असहयोग गर्न उद्धत छ । यसो गर्दा प्रतिष्ठानको नेतृत्व असफल हुने हो कि दाङको एउटा ठूलो संस्थालाई नै दीर्घरोगले समाउने हो भन्ने कुरामा ध्यान छैन । त्यही समूह अहिले साझाको यो अलपत्र अवस्थालाई पनि प्रतिष्ठानको नेतृत्वको विफलता भनेर व्याख्या गर्ने एउटा आधारका रुपमा लिएर बसेको छ । त्यसकारण साझाको भविष्यका बारेमा खुला र आग्रहरहित बहस र त्यसको निरन्तरताका लागि पहल हुन सकिरहेको छैन ।
यता प्रतिष्ठान नेतृत्वले पनि आफूलाई असहयोग गरिएको समूहलाई कि त समर्थनमा ल्याउन कि त सन्तुलन मिलाइराख्न प्रयत्न गर्नुपर्ने हो । किनभने यो लफडाले अन्ततः दाङलाई क्षति हुने हो । यसका लागि साझा औषधि पसलको निरन्तरता एउटा मिलनबिन्दु हुन सक्छ । यसका लागि प्रतिष्ठानको अग्रसरता जरुरी छ ।
अर्को समस्या पनि छ, त्यो हो साझा औषधि पसलका कार्यालय प्रमुख बेलबहादुर पौडलको क्षमता वा स्वभाव । न त उनले यो बिषयमा यहाँको समुदायसँग परामर्श गर्छन् न त प्रतिष्ठान प्रशासनसँग संवाद र समन्वय नै । हुन त उनी साझा स्वास्थ्य सेवामा पनि राम्रो ‘इम्प्रेसन’ दिन नसकेका कर्मचारी हुन् । उनी जहाँ–जहाँ बसेर काम गरे, सबै ठाउँबाट उनको गुनासो आएको साझा स्वास्थ्य सेवा स्रोतले जानकारी दिएको छ ।
समाधान के त ?
सरकारले अस्पतालहरुलाई अनिवार्य फार्मेसी चलाउन भने तापनि धेरै ठाउँमा साझा पसलको उचित व्यवस्थापन गरियो । काठमाडौंको बीर अस्पताल, टिचिङ हस्पिटललगायतका ठाउँमा सहमतिमै उचित व्यवस्थापन गरियो र औषधिको समस्या हुन नदिने अबस्था बनाइयो । धनगढीमा औषधि व्यवसायीहरुले पसल बन्द गरेर हड्ताल गर्दा पनि त्यहाँको साझा पसलले औषधिको आवश्यकता पुरा ग¥यो, अभाव हुन दिएन । यी सन्दर्भले साझा औषधि पसलको औचित्यतालाई प्रष्ट्याउँछन् । त्यसकारण साझाको निरन्तरता हुनै पर्दछ ।
साझा र प्रतिष्ठान दुबैको नेतृत्व समन्वयकारी भएनन् भन्दैमा हेर्दा हेर्दै साझा उठ्ने अवस्था आउन दिनु र ‘तिमी असफल भयौं’ भन्ने निष्कर्ष निकालेर रमाउनुले क्षणिक राहत त देला तर यसले दाङको स्वास्थ्य सेवामा एउटा ठूलो उपलब्धि भने गुम्ने छ ।
तत्कालिन उपक्षेत्रीय अस्पतालले फार्मेसी चलाउँदा साझालाई साविकको ठाउँबाट हटाएर गेटमा पु¥यायो । त्यसपछिको अबस्थालाई अब पनि निरन्तरता दिनुलाई प्रतिष्ठानले समस्या मान्न दिनुहुँदैन । जहाँ प्रतिष्ठान छ, त्यहाँको स्थानीय मानसिकतालाई नबुझेर, बेवास्ता गरेर आफ्ना नियमावलीका ठेली देखाएर मात्र प्रतिष्ठानले निर्णय गर्नु न्यायिक हुनै सक्दैन । अस्पतालको फार्मेसीले सबै आवश्यकता धान्न सक्दैन भन्ने उदाहरण देशभरका फार्मेसी सञ्चालन प्रक्रिया हेर्दा हुन्छ ।
ठेकेदारले औषधिको नियमित उपलब्धता भन्दा कर्मचारीलाई खुशी पार्ने कुरामा ध्यान बढी दिएको अनुभव हामी सबैसँग छ । यही लोभमा प्रतिष्ठान र यहाँका उच्च पदस्थहरु परेर दाङको सम्पत्तिका रुपमा रहेको साझालाई बिस्थापन गरियो भने त्यो सबैका लागि दुर्भाग्य हुनेछ । त्यसकारण दाङको बस्तुगत आबश्यकताका रुपमा पनि र भावनात्मक चाहनाका रुपमा पनि साझा पसल चाहिन्छ ।
रह्यो कुरा कहाँनेर राख्ने भन्ने, त्यस सन्दर्भमा कुनै आग्रहविना प्रतिष्ठान, साझा पसल स्वयं र दाडका प्रतिनिधि पात्रहरुबीचमा गहन छलफल हुन जरुरी छ । त्यस्तो बेला कुनै लिखित नियम कानुनभन्दा पनि बस्तुगत आवश्यकता र दाङबासीको चाहना संवादको केन्द्रमा स्वतः आउने छ र साझाको निरन्तरता सम्भव छ ।
प्रतिष्ठानसँगको जुहारीमा साझा जाँदै गर्दा खुच्चिङ गर्नु कुनै पनि हालतमा बुद्धिमानी हुँदैन । साझा यो लडाइँको अस्त्र बन्न हुँदैन । यो त ठूलो सम्भावनाको ढोका खोल्न दाङ आएको वा ल्याइएको संस्था वा सम्पत्ति हो । त्यो सम्भावनाको समेत ख्याल गरौं । ठूला उपलब्धिका लागि उर्जा खर्च गरौ । हाम्रो सामाजिक क्षति गराउने मूल्यमा आफ्ना तुजुक देखाउने काम राम्रो होइन । जिम्मेवार व्यक्तिहरू सबैको राम्रो हुने काममा लागेको नै सुहाउँछ । अहम् र संकीर्णता सुहाउने कुरा होइन ।