तुलसीपुर, १२ बैशाख । लकडाउनका कारण १ महिनादेखि अवरुद्ध रहेको खोप कार्यक्रम तुलसीपुरमा शुरु भएको छ । बालबालिकाहरुलाई विभिन्न रोगबाट जोगिनका लागि खोपहरु लगाउन शुरु गरिएको जनस्वास्थ्य शाखाका निरीक्षक विमले केसीले बताए । उनले उच्च सतर्कता अपनाएर खोप कार्यक्रम शुरु गरेको बताए । स्वास्थ्यकर्मीलाई पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गरेर खोप लगाउने काममा खटाइएको उनले बताए । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अत्यन्त संवेदनशील मानिने बालबालिकाको स्वास्थ्यलाई सुरक्षित राख्न सुरक्षित रहेर खोप कार्यक्रम सञ्चालन गरिएको बताए ।
कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बिसिजी खोपलाई प्रभावकारी मानिएको छ । जन्मिने वित्तिकै लगाउनुपर्ने बिसिजीदेखि विभिन्न आठ प्रकारका खोपलाई तुलसीपुरले निरन्तरता दिएको छ । प्रादेशिक अस्पताल, वडामा रहेका स्वास्थ्य केन्द्रलगायत विगतमा खोप दिइँदै आएका ५० वटै केन्द्रमा १० गतेदेखि शुरु भएको खोप आउँदो १५ गतेसम्म सञ्चालन हुने निरीक्षक केसीले बताए । उपमहानगरपालिकाले बिसिजी, पेन्टा, ओपिभी, एफआइपिभी, पिभिसी, एमआर तथा जेई र टिटी नामका खोप लगाउन शुरु गरिएको छ । यी खोपहरु जन्मिएदेखि २३ महिनासम्मका बच्चालाई लगाउनुपर्ने हुन्छ । उपमहानगरपालिकाभित्र यस्तो खोप लगाउने बालबालिकाको संख्या ३ हजार ६ सय १० रहेको केसीले बताए । अहिलेसम्म २ हजार १ सय ६६ जनाले यस्तो खोप लगाइसकेका छन् ।