calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

मेरो खुशी : सारङ्गीले दिएको सम्मान …

जमिनको नाममा दुई कट्ठा ऐलानी भएपनि राम्रो उव्जनी हुँदैन । कमाउनका लागि विदेश जाने उमेर छैन, न हातमा अन्य कुनै सिप नै छ । त्यही भएर घोराही उपमहानगरपालिका–११ मझेरा टोल निवासी ५५ बर्षीय मिट्ठु गन्धर्वको परिवार पाल्ने माध्यम बनेको छ, सारङ्गी ।

१४÷१५ बर्षको उमेरमै बुबासँगै गाउँघरमा गाउन हिड्दा हिड्ँदै सारंगी बजाउन र गीत गाउन सिकेका मिट्ठुको चार दशक सारंगीसँगै बितिसकेको छ । करिव चार दशक सारंगीसँगै गीत गाउँदै पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म पुगिसकेका मिट्ठ सारङ्गीले दिएको सम्मान नै आफ्नो जीवनको खुसी भएको बताउँछन् । पढ्दै नपढेको मान्छे भए पनि सारंगीसँगै दाङदेखि पूर्वी नेपालका झापा, इलामसम्म पुगिसकेको भन्दै त्यसक्रममा स्थानीयबाट पाउने माया र सम्मान नै आफ्नो ठुलो खुसी भएको बताउँछन् ।

‘जीन्दगीको खुसी भनेको आपूmले पाउने माया र सम्मान नै हो’, उनले भने, ‘जुन माया र सम्मान मैले यही सारंगी बजाउँदै हिड्दै गर्दा पाएको छु, म त्यहीमा खुसी छु ।’ मिट्ठको सारंगी सारथी मात्र होइन, परिवारको जीविका चलाउने माध्यम बनेको छ । घरमा भएकी बिरामी श्रीमती, छोरी र नानातिनालाई साँझबिहान खानेसँगै दुःख बिरामी पर्दा आवश्यक पर्ने पैसा समेत सारङ्गी बजाएरै जोहो गर्ने गरेका छन् ।

सारङ्गीले नै आफ्नो जीवन चलेको भन्दै उनी भन्छन्, ‘श्रीमती बिरामी छिन्, काम सक्दैनन् । छोराहरू छैनन्, छोरीको कोहीको विवाह भइसकेको छ, त्यसैले परिवारका लागि खर्च आफै जुटाउने गरेको छु ।’ उमेर बढ्दै जाँदा दुःख बिरामी बढ्ने र रहरहरू घट्दै जाने भए पनि परिवार पाल्नु पर्ने जिम्मेवारीका कारण अहिले पनि सांरगीकै भरमा हिड्नु पर्ने अवस्था भएको बताउँछन् ।

त्यही भएर उनी घरभन्दा धेरै बाहिरै हुने गरेका छन् । जातले नै गाउने बनाएको भन्दै उनी भन्छन्,‘गन्धर्व गाउँदै हिड्ने र त्यहीबाट भएको आम्दानीले परिवारको जीविका चलाउने जाति हो तर समयको विकासक्रमसँगै पछिल्लो समय अवस्था बद्लिएको छ । अहिले धेरै गन्धर्वले गाउन छोडिसकेका छन् ।’ महिनामा १० देखि १२÷१३ हजारसम्म पैसा उठ्ने र त्यहीले घरको खर्च चलाउने गरेको बताउँछन् ।

कुनै समय गाउँमा सञ्चारको माध्यमको समेत काम गरेका गन्धर्वहरू पछिल्लो समय बद्लिदो समयसँगै पछि परेको बताउँछन् । नयाँ–नयाँ गीत संगीतको विकाससँगै आधुनिक बाजाहरूको प्रभाव बढ्दै जाँदा गन्धर्वको पुर्खाैली पेसा लोप हुने अवस्थामा पुगेको बताउँछन् । पहिले गाउँघरमा हुने पूजा, विवाह, लाखबत्तीलगायतका विभिन्न कार्यक्रममा नाँचगान गर्नका लागि गन्धर्वलाई बोलाउने गरे पनि पछिल्लो समय प्रविधिको विकासका कारण घरमै गीतसङ्गीत बजाएर नाच्न मिल्ने भएपछि बोलाउन छोड्दै गएको बताउँछन् ।

समाजको बदलिँदो दृष्टिकोणले धेरै गन्धर्व समुदायका व्यक्तिले आफ्नो पेसा परिवर्तन गरिसकेको बताउँदै मिट्ठु भन्छन्, ‘पुर्खाैली पेसा भए पनि गाउँदै हिड्ने मानिसलाई सम्मान नहुने भएकाले धेरैले छोडि सक्नुभएको छ, नयाँ पुस्ता पनि सिक्न इच्छुक छैनन् ।’ बाहिर गएर काम गर्न तयार भए पनि नयाँ पुस्ता सारंगी बजाउने, गाउने र बनाउनेप्रति खासै चासो नदिएको बताए ।

चार दशकदेखि सारङ्गीसँगै समय र जातजातिका अनुसारका गीत गाउँदै र सारंगी बजाउँदै हिड्दै आएका मिट्ठु पश्चिम क्षेत्रको तुलनामा गन्धर्वलाई पूर्वतिर सम्मान गर्ने गरेको बताउँछन् । नेपालको तराई र पहाडका अधिकांश जिल्ला पुगिसक्नु भएका मिट्ठु भन्नुहुन्छ, ‘नेपालको पश्चिम क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा गाउन जाँदा सम्मान मिल्छ । गन्धर्वलाई घरमा बोलाउने, गीत सुन्ने र सकेजतिको पैसा वा अन्नपात दिने गर्नुहुन्छ तर पश्चिम क्षेत्रमा गाउँन जाँदा कतिपय ठाउँमा मागी खान आए जस्तो व्यवहार गर्नुहुन्छ, त्यस्तो बेला मन दुःखछ ।’

परिवारको जीविकोपार्जनसँगै बाउबाजेबाट सिकेको सिप र आफ्नो संस्कार भएकाले आफू जस्ता केही व्यक्ति अहिले पनि सारङ्गी बजाउने गरेको बताउँछन् । पुराना र बुझ्ने व्यक्तिले अहिले पनि दसैँको समयमा मालश्री धुनका लागि बोलाउने गरेको भन्दै दसैँमा मालश्रीलगायत बिहानी समयमा बजाइने मङ्गलधुनसँगै आफूले जाति र समुदाय अनुसार फरक–फरक गीत गाउने गरेको बताउँछन् ।

अहिले पनि कतिपय परिवारले सारङ्गी र गन्धर्वको महत्वलाई बुझेर चाडपर्वमा बोलाउने गरेको भन्दै मिट्ठुले भन्छन्, ‘अहिले पनि दाङमा कतिपय परिवार हुनुहुन्छ, दसैँको समयमा मालश्री धुन सुन्नका लागि बोलाउनुु हुन्छ, जाने गरेको गर्दछु । सारङ्गी र गन्धर्वको महत्वलाई बुझिदिँदा खुसी लाग्छ ।’ घरघर गएर गाउँने गन्धर्वको परम्परा जस्तै भए पनि गाडीहरूमा सारङ्गी बजाउने कार्यलाई चाही राम्रो मान्दैनन् । ‘गन्धर्वको चलन अनुसार घरघरमा जाने गीत गाउने परम्परा हो’, उनी भन्छन, ‘परम्पराको नाममा जहाँ पायो त्यहीँ गाउने र पैसा माग्नु हुँदैन । यसले नराम्रो सन्देश जान्छ ।’

सल्यानको खलङ्गा वनगाडमा जन्मिएका मिट्टु सानैमा परिवारसँगै दाङ आएका थिए । दाङ आएपछि सुरुमा उनको परिवार नारायणपुरमा बसेको थियो तर उक्त जग्गा स्कुलको पर्ने भएपछि त्यहाँबाट परिवार हापुर पुगेको थियो । २०२६ सालमा बुबा पूर्णबहादुर गन्धर्व र आमा चमेली गन्धर्वको जेष्ठ सुपुत्रका रूपमा जन्मिएका मिठ्ठु निमा गन्धर्वसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । गन्धर्व दम्पत्तिका सात छोरा रहेका छन् ।

प्रस्तुति : लीलाधर वली