नेसंविमा बौद्धिकताको खडेरी होइन : उपकुलपति खतिवडा [अन्तर्वार्ता]
दाङ जिल्लाको मात्र होइन मध्य एसियाकै गरिमाको विश्वविद्यालय हो, नेपाल संस्कृत विश्वविद्यालय । योगी नरहरि नाथको साथ र यहाँका जग्गा दाताहरूको सदासयतासँगै विश्व विद्वत् सम्मेलनले मात्रै नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो । नेपाल संस्कृत विश्वविद्यालयमा भएका वेदलगायतका ग्रन्थहरूले पश्चिमा मुलुकहरूले पनि धेरै अनुसन्धान गरिरहेका छन् र संस्कृत विधालाई अनुशरण समेत गरिरहेका छन् ।
संस्कृत, अङ्ग्रेजीलगायत विभिन्न भाषामा समेत अनुवाद भएर त्यसैका आधारमा विभिन्न अनुसन्धान भइरहेका छन् । यो गहनामा भने कहिले आगो लगाइन्छ त कहिले ताला लगाइन्छ अनि कहिले प्राचार्य थुन्ने र विद्यार्थी कुटाउनेसम्मका अभ्यास भइरहेका छन् । यसै सन्दर्भमा नेपाल संस्कृत विश्वविद्यालयका केही समयका लागि नियुक्त भएका उपकुलपति प्राध्यापक डा. भीम खतिवडासँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।
नेसंविमा बौद्धिकताको खडेरी कि राजनीतिक भागबण्डाको समस्या ?
नेपाल संस्कृत विश्वविद्यालयमा बौद्धिकताको खडेरी होइन तर झरीमा पनि सुख्खा बनाउने कहीँकतै प्रयास नदेखिएका भने होइनन् । कारण के हो भने हामीले यहाँको समाजका जनगुनासोलाई सम्बोधन गर्न सकिरहेका छैनौँ, सुनाउन सकेका छैनौँ अनि बुझाउन सकेका छैनौँ । त्यसैले हामी यहाँको समाजबाट टाढा भएका छौँ । वास्तवमा यो सवै व्यवस्थापकीय विकृति हो जस्तो मलाई लाग्छ ।
बौद्धिकतालाई धेरै माथि लैजाने हामीसँग प्रशस्तै आधार छन् । राज्यले पनि हामीलाई सम्बोधन नगरेको होइन तर तेरो, मेरो र उसको भन्ने पक्षमा हामी अलमलिएका छौँ । यही कारण नेपाल संस्कृत विश्वविद्यालयले चाहे अनुसार गति लिन सकेको छैन । तैपनि हामीले अनुसन्धानका कुरालाई छायाँमा पार्ने होइन, उजागर गर्ने हो भन्ने विषयमा प्रतिबद्ध छौँ । नेपाल संस्कृत विश्वविद्यालयमा बौद्धिकताको खडेरी होइन, व्यवस्थापकीय समस्या हो भन्ने मलाई लाग्छ ।
नेपाल संस्कृत विश्वविद्यालयका हरेक सङ्काय रित्तिँदै गएका छन्, चलेको सङ्काय भनेकै बिएएमएस हो तर यसमा धेरै चुनौती देखिएका छन् नि ?
हो, हामीले अहिले प्राथमिकतामा राखेको सङ्काय यही हो । बिएएमएस अध्ययनरत विद्यार्थीलाई ओपिडी सेवा उपलब्ध छैन, हामीले आफ्नै शिक्षण अस्पताल बनाउन सकेका छैनौँ तापनि हामीले यसको विकल्प खोजिरहेका छौँ । त्यसैले त हामीले चालु शैक्षिक सत्रमा पनि बिएएमएस शिक्षा सञ्चालनको अनुमति पाइसकेका पनि छौँ । मलाई लाग्छ हामीले मङ्सिर महिनासम्म बिएएमएस कक्षाका विद्यार्थीका लागि ओपिडी कक्षा सञ्चालन गर्ने अन्तिम तयारी गरेका छौँ । हामीले त्यसको व्यवस्थापन गर्न नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठलाई पूर्वाधार निर्माणको तयारी गर्न आग्रह समेत गरिसकेका छौँ । मलाई लाग्छ मङ्सिर महिनाभित्रै बिएएमएस विद्यार्थीका लागि ओपिडी कक्षा सञ्चालनमा आउने छ ।
संस्कृत शिक्षाको उन्नयनका लागि सयौँ दाताले जग्गा दिए तर ती जग्गामा त भूमाफियाहरूको रजाइँ छ नि ?
हो, नेपाल संस्कृत विश्वविद्यालयका कम्तिमा एक हजार बिघा बढी जग्गा अतिक्रमणमा परेको छ । त्यसका लागि अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारले जग्गा व्यवस्थापन समिति समेत निर्माण गरिसकेको छ । त्यो समितिले काम सुरु पनि गरिसकेको छ । पहिलो चरणमा समितिले अभिलेख लिने कामको थालनी गरेको छ । जिल्लास्तरीय उच्च राजनीतिक संयन्त्रसँग समितिले निरन्तर परामर्श गरिरहेको भन्ने मैले जानकारी पाएको छु । जग्गा प्राप्ति त्यति सजिलो कुरा पनि होइन, यसमा धेरै घुसपैठ हुन सक्छन् भन्ने हामीले बुझेका छौँ तर ती सबै विषयलाई चिर्दै जग्गा प्राप्तिको कामलाई सार्थकता दिन मैले पनि गम्भीरतापूर्वक लिएको छु ।
हरेक पटक पदाधिकारी नियुक्त हुँदा एकीकृत समन्वय भएको देखिंँदैन, रजिस्ट्रार एकातिर, भिसी अर्कोतिर, कतै भिसी सेरेमोनियल त होइन ?
कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा उपकुलपति सेरेमोनियल हुँदैन । सबै कार्यकारी अधिकार उपकुलपतिमै निहित हुन्छ तर पनि अधिकारको बाँडफाँडको सन्दर्भमा कहिलेकाहीँ समस्या देखिन सक्छन् । आर्थिक अधिकार र प्रशासकीय अधिकार रजिस्ट्रारमा पनि हुने भएकाले यहाँ धेरै अघिदेखि समस्या देखिएका होलान् तर सबैले आफूलाई प्रत्यायोजन गरिएको अधिकारको घेरामा मात्र सीमित रहेर काम गर्ने हो भने विश्वविद्यालयको यो अवस्था आउने थिएन । अब हामी सबैले यसलाई स्मरण गरेर आवश्यक सकारात्मक सल्लाह र सुझाव दिन आवश्यक छ ।
त्यसमा सबैभन्दा ठुलो भूमिका तपाईँहरूजस्तै सकारात्मक सोच भएका सञ्चारकर्मीहरूको हुन आवश्यक छ । सकारात्मक आलोचना हाम्रा लागि सदैव शिरोधार्य छ । किनकि यो तपाईँहरूको दाङ जिल्लाको सम्पत्ति मात्र नभएर नेपालकै गहना हो नि । यो अर्थमा नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत विषयको अध्ययनसँगै अनुसन्धानको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्न हामी यहाँका सञ्चारकर्मी, नागरिक समाज, बेलझुण्डी क्षेत्र विकास समिति, सम्पूर्ण राजनीतिक दल, सबै क्षेत्रका जग्गादातालगायत स्थानिय प्रशासनसँग सहकार्य र सहजीकरण गर्न तयार छौँ ।
जग्गा सदुपयोगको नीति पनि छ कि ?
सबैभन्दा पहिले त हामीले आफ्नो स्वामित्वमा रहेको जग्गा प्राप्ति गर्नेमा छौँ । दोस्रो कुरा हामीले भूमि सदुपयोग नीति पनि बनाएका छौँ । नेपाल संस्कृत विश्वविद्यालयको मातहतमा रहेका सबै जग्गालाई आयआर्जनलगायत प्राज्ञिक क्षेत्रका संस्था खोल्न हामी आतुर छौँ तर यसमा उच्चस्तरीय राजनीतिक सदासयताको पनि हाम्रो अपेक्षा हो । हामी नेपाल संस्कृत विश्वविद्यालयलाई तालझुण्डीको उपमाबाट मुक्त बनाउन चाहन्छौँ । किनकि संस्कृत विश्वविद्यालय हाम्रो गरिमाको विषय हो ।
यसलाई अझै परिस्कृत र परिमार्जित बनाएर नेपालकै धरोहर बनाउन चाहन्छौँ । यसका लागि नयाँ सोच र नयाँ कार्यक्रमको आवश्यकता छ । यसमा कसैले सीमित स्वार्थको गिद्धेदृष्टि राख्नुहुने छैन भन्ने मैले आम पाठकलाई ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल संस्कृत विश्वविद्यालयको गरिमा बढाउन एक जना भिसीले मात्र सक्ने विषय होइन, कानुनले दिएका अधिकारको पालना गर्दै कर्मचारी, प्राध्यापक, पदाधिकारी, विद्यार्थी संगठन सबैले यसमा हातेमालो गरेर अघि बढ्नु पर्ने छ भन्ने मैले यसै पत्रिकामार्फत् सबैलाई ध्यानाकर्षण गराउन चाहन्छु ।
अन्त्यमा केही भन्नु छ कि ?
सबै कुरा भनिसकेँ, यहाँ बजेटको अभाव होइन, व्यवस्थापकीय सोचको अभाव हो । निहित स्वार्थलाई आत्मसात गर्ने अर्को समस्या हो । यी सबै विषयलाई हामी सबैले नमन गर्नु पर्छ । अब नेपाल संस्कृत विश्वविद्यालयको गरिमालाई अझै पनि अन्तर्राष्ट्रिय जगतमा परिमार्जन सहित चिनाउने दायित्व हामी सबैको हो । यसमा स्थानीय जनसमुदाय, जग्गादाता, स्थानीय सरकार, नागरिक समाज, सञ्चारजगत, प्रदेश सरकार र सङ्घीय सरकारको पनि सकारात्मक सोच र भावना हुनु पर्छ भन्ने मैले सबैलाई अवगत गराउँछु । नेपाल संस्कृत विश्वविद्यालयबारे सबै कुरा राख्ने अवसर जुराइदिने गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परिवारलाई विशेष धन्यवाद दिन्छु ।