Goraksha

National Daily

तटबन्धले फर्काएको खुसी

उमा भण्डारी
दाङ, २ असोज । वर्षौँपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का डिल्ली चौधरीको अनुहारमा खुसी ढकमक्क फक्रिएको छ । नफर्कियोस् पनि किन, वर्षौँदेखि बाबुबाजेले रगत(पसिना सिञ्चेर आयस्ता भित्र्याएको जमिन बबई नदीले आहारा बनाउँदै आएको थियो । बर्सेनि बबई नदीले बाटो बिराउँदा डिल्लीको जमिन बगर बनेको थियो । ढुङ्ग्यान जमिन, त्यसमाथि काँस उम्रिँदा उनको मन चरचरी चिरा पथ्र्यो । त्यही उराठ र बञ्जर जमिनले लय समात्दा र खेतमा धानले बयली खेल्दा उनको मुहारमा घाम उदाउनु स्वाभाविकै भइहाल्यो । बबई नदी तटबन्ध कार्यक्रमले उनको पीडामा मल्हमपट्टी गरेको हो ।

कचिला गाउँका महटवा हुन् उनी । र त, तटबन्धले गाउँलेको जीवन गुजाराको माध्यम जोगाइदिएपछि दोब्बर खुसी छन्, उनी । बर्खा लागेपिच्छे बबई नदी उर्लंदै आउने र ढुङ्गा बालुवा उरूङ लगाएर बगरतुल्य बनाइदिएको जमिनमा बाली लहलहाउन थालेपछि नदीमा बगेको खुसी फर्किएको उनले अनुभूति सुनाए । ‘मलाई कति खुसी लागेको छ, त्यो म बताउन सक्दिनँ । मेरा टोलबासी खुसी भए मात्रै पनी मेरो मन हाँस्दो रहेछ ! त्यसमाथि यत्रो जग्गा जमिन खोलाले खानबाट जोगिएको छ’, उनले भने, ‘गाउँलेको गरिखाने माध्यम नै जोगिएको छ, तपाईं आफै महसुस गर्नुस् म कति खुसी भएको हुँला ।’

बखरीया टोलकी लक्ष्मी केसीले नदीमा तटबन्ध निर्माण भएपछि राहतको स्वास फेरेको अनुभव सुनाइन् । नदीले कटान नगरोस् भनेर दर्बिलो तटबन्ध गरेपछि जीविकोपार्जनमा ठुलो सघाउ पुगेको उनले बताइन् । बर्सेनि नदी उर्लंदै आएर खेत(खेत पस्ने । खेतीयोग्य जमिन कटान गरेर आफ्नो धारमा मिसाउने, अन्नबाली बगाएपछि उनले उब्जाउयोग्य जमिन पनि बाँझै छाडेकी थिइन् । तर खेतमा खोला नपसोस् भनेर बलियो छेकबार (तटबन्ध) लगाएपछि उनले खुुुसी फर्किएर खेतखेतै हिँड्न थालेको अनुभूति गरेकी छिन् ।

बाँझिएको जमिन खनजोत गरेर उनले गत वर्षदेखि नगदे तथा खाद्यान्न बाली लगाउन थालेकी छन् । उनको खेतमा अहिले आलु, प्याजले गट्टा हाल्न थालेका छन् । साग लहलहाउँछन् । मनग्गे काउली फल्छ । तिनलाई बजारमा लगेर बेचबिखन गर्दै उनले गर्जो टार्न पाएकी छन् । यो वर्ष त उनले धानबाली समेत लगाएकी छन् । ‘भएको ४ कट्ठा खेत पनि बगर बनेपछि तरकारी, चामल सबै बेसाउनु (किनेर खानुपर्ने) पर्ने अवस्था थियो’, उनले भनिन्, ‘पोहोर बाढी आउँछ कि भनेर धान लगाइनँ । हिउँदमा भने तरकारी रोपेँ । अहिले आलु, प्याज किन्न परेको छैन । उब्रिएको तरकारी बजारमा पु¥याएर बेचबिखन पनि गरेँ ।

गोपाल र लक्ष्मी जस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कचिला, फल्कापुर, रामजानकी टोलका स्थानीयहरू यस वर्ष निकै पुलकित देखिन्छन् । खेतबालीमा लहलहाइरहेको बालीनालीसँगै उनीहरूको अनुहारमा खुसी धपक्कै बलेको छ । एक दशकअघि बेहोर्नुपरेको घाउचोटले इलाज पाएजस्तो मन शीतल छ । २०७२ सालमा बबई नदीमा उर्लिएको बाढीले कचिलाको सिंगो वस्तीलाई निशाना बनायो । वस्ती त डुबानमा प¥यो नै, खेतीयोग्य जमिनमा पनि बाढी पस्यो । नदीको भेलले कटान गर्दा चार सय बढी परिवार विस्थापित भए । त्यसपछि बर्सेनि बबई नदीले कचिलालाई दुःख दिने गरेको थियो । नदीको भेलमा मिसिँदै बगर बन्ने गरेका खेत हेरेर भक्कानिनु बाहेक उनीहरूसँग कुनै विकल्प थिएन । तर गत वर्षदेखि यो नियतिमा फेरबदल आएको छ । यस भेगमा स्थानीयलाई नदी कटान र डुबानको पीडा धेरै हदसम्म मत्थर भएको छ ।

कचिला, बबई, बखरिया, शितलपुर । यी गाउँकोबीच भएर बग्छ बबई नदी । बबई नदीमा तटबन्ध नहुँदा वर्षौँदेखि भेल(बाढीको सामना गर्दै आएका यसक्षेत्रका एक हजार १ सय ३७ घरधुरी परिवारले गत वर्षदेखि त्राण पाएका छन् । तुलसीपुर उपमहानगरपालिका र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा पालिकासँग सहकार्य गर्दैआएको युएसएआईडीको तयार नेपाल परियोजनाले उनीहरूको खुसी फर्काउन भरथेग गरेको हो । पालिका र तयार नेपाल परियोजनाले बबईमा व्यवस्थित तटबन्ध बनाएको छ । यसले बबई नदीलाई आफ्नै लयमा बग्न मद्दत त गरेको छ नै, कृषकहरूले आफ्नो खेतमा निर्बाध कमाइ लगाउन पाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र सम्भावित विपद् जोखिम न्यूनीकरण गर्नका लागि युएसएआईडी तयार नेपाल परियोजनाको सहयोगमा बबई नदीमा तटबन्धन निर्माण गरिएको हो । दुई वर्ष अघि २०७९ असोज महिनामा तीनदिनसम्म परेको अविरल झरीका कारण कचिला प्रताडित बन्यो । बाढी खेतमा पसेपछि ६० बिगाहमध्ये करिब ४० बिगाह जमिनको धानबालीमा क्षति पुग्यो । बर्सेनि खेतीयोग्य जमिन बाढीले कटान गर्न थालेपछि उपमहानगरपालिकाले तयार नेपालसँग मिलेर त्यसक्षेत्रमा व्यवस्थित तटबन्ध बनाउने योजना अघि सारियो । योजनाले मूर्तरूप पनि पायो ।

पहिलो र दोश्रो चरणमा गरी तयार नेपालले २ करोड १५ लाख ६९ हजार ६ सय १४ रुपैयाँ र उपमहानगरपालिकाले ४ लाख रुपैयाँ विनियोजन गर्यो । नदी कटान क्षेत्रको अवलोकन र अध्ययनलगत्तै सोही वर्षको फागुनको दोश्रो सातादेखि तटबन्ध निर्माण सुरू भएको हो । पहिले चरणमा तयार नेपालको ५६ लाख १७ हजार ६ सय ३० रुपैयाँ र तुलसीपुर उपमहानगरपालिकाको ४ लाख रुपैयाँ गरी कुल ६० लाख १७ हजार ६ सय ३० रुपैयाँ लागतमा पहिलो वर्ष १ सय २१ मिटर लम्बाइको तटबन्ध निर्माण भयो ।

तटबन्धप्रति स्थानीयलाई उतिसाह्रो भरोसा थिएन । बर्सेनि नदीले कटान गरिराखेले तटबन्ध नाघ्ला भन्ने भय पनि थियो । ‘वर्षौँदेखि बाढीले अन्नबाली, घरबास बगाएको देख्दादेख्दै फेरि किन खेती गर्नु भन्ने लागेर केही बाली लगाइनँ, तर पोहोर साल बाढी खेतमा पसेन । यसवर्षदेखि मैले मल छरेर धानबाली लगाएको छु’, स्थानीय जनक खत्रीले भने, ‘५÷६ वर्षपछि धान रोप्न पाउँदा खुसीले आँसु नै झ¥यो ।’ क्षतिग्रस्त जमिनलाई थप जोखिमबाट मुक्त गर्न पालिका र तयार नेपाल दोस्रो चरणको तटबन्ध निर्माणमा जुट्यो । उपमहानगरसँगको समन्वमा २०८० माघ १० गतेदेखि २०८१ असार ३ गतेसम्म २ सय मिटर गरी कुल ३ सय २१ मिटर लम्बाइको तटबन्ध निर्माण भयो ।

दोश्रो चरणमा १ करोड ५९ लाख ५१ हजार ९ सय ८४ रुपैयाँको लागतमा तटबन्ध निर्माण भएको थियो । नदीमा तटबन्ध निर्माण भएपछि गत वर्षदेखि स्थानीयहरू बर्खायाममा पनि ढुक्कले रात कटाउन पाएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष खुसीराम थारूले बताए । ‘२०७२ सालपछिका बर्खायाममा स्थानीयहरू कुनै पनि रात आनन्दले निदाएका थिएनन् । जाग्राम नै बस्थे । वर्षालाग्नासाथ उनीहरूको छाती सुर्ताले भतभती पोल्न थाल्थ्यो । तर गतवर्षदेखि त्यो चिन्ता हटेर गएको छ’, उनले भने, ‘वर्षौँदेखि सहश्रधारा रोएर रात काटेका वडावासीले तयार नेपाललाई भगवान जस्तै मानेका छन् । हाम्रा निम्ति ढुङ्गा खोज्दा देउता मिलेजस्तै भएको छ ।’

‘नदी तटबन्ध गरिएको क्षेत्रमा जमिन सुरक्षित भए पनि थप जग्गा सुरक्षित गर्न बाँकी रहेको वडाध्यक्ष थारूले बताए । खानेपानी योजनाको काम भइरहेको ठाउँमा जमिन काटिएको छ । त्यहाँबाट फेरि नदीले बाटो बिराउने हो कि भन्ने डर छ । त्यहाँ पनि तटबन्ध गर्न पाए नागरिकले सुखको स्वास फेर्ने थिए’, उनले भने, ‘यसका लागि प्रदेश सरकारसँग पनि आग्रह त गरिएको छ । उहाँहरूले के गर्नुहुन्छ ?’ उनका अनुसार तटबन्ध नभएको ठाउँबाट खेतबारीमा बाढी पस्दा त्यसको निकासका लागि पूर्वाधार बनाइएको छ । पानी निकासका लागि तटबन्धसँग जोडेर ढोकासहितको नाला निर्माण गरिएको छ । जसबाट जलमय भएको अवस्थामा ढोका खोलिदिएमा पानी सहजै नदीमा मिसिन पुग्ने उनले बताए । यसले जमिन कटान हुन र डुबान पर्नबाट जोगाउने उनी बताउँछन् ।

नदी तटीय क्षेत्रलाई थप सुरक्षित बनाउनका लागि बायोइन्जिनियरीङ तटबन्ध अर्थात जैविक तटबन्ध पनि गरिएको छ । बाढीका कारण हुने भू(स्खलन र भू(क्षय रोक्नका लागि स्थानीयवासीको सक्रियतामा बाँस, अजमरीजस्ता बोट बिरूवा रोपिएको गल्छी थारूले बताइन् । ‘ती बिरुवाका जराले जमिनलाइ बलियो बनाउने र माटो समातेर जमिनलाई भत्किनबाट जोगाउने भएकाले सबै मिलेर बाँध बाँधेको ठाउँमा बिरूवा रोपेको हौं’, उनले भनिन् ।

यसैगरी फल्कापुर, कचिला, रामजानकी टोलका नागरिकको दिनचर्या पनि फेरिएको छ । पानी परे पनि ढुक्क घरबाट बाहिर निस्कन सक्ने वातावारण छ । खेतबारीको काम सकेर बस्तुभाउ चराउँछन् । खोला किनारमा गएर माछा मार्छन् । बजारमा पु¥याएर बेचबिखन गर्दै घरको गर्जो टार्छन् । बितेका वर्षहरूमा जमिन जोगाउनका लागि गारो लगाउने, माटो थुपार्ने, ढुङ्गा उरूङ लगाउँदैमा बर्खायाम बित्ने गथ्र्यो । तर अहिले दिउँसोको समयमा नदीको बहाव बढेपछि टापी र हेल्का (माछा मार्ने काठ र जाली बनाइएको सामग्री) बोकेर माछा मार्न जाने गरेको स्थानीय निमनारायणले सुनाए । धेरै माछा हात लागेको दिन बेच्नका लागि बजारसम्म पुग्ने गरेको उनले बताए । त्यसबाट छाक पनि टर्ने र आम्दानी पनि हुने भएकाले दोहोरो फाइदा हुने उनले बताए ।

यसैगरी वडा नम्बर १४ लोहाडबरा र डबकपुर गाउँको जोखिम न्यूनीकरणका लागि पनि तयार नेपालले १ सय ६५ मिटर लम्बाइको तटबन्ध निर्माण गरेको छ । तयार नेपालको १ करोड १३ लाख ८९ हजार ७ सय ८५ रुपैयाँ र तुलसीपुर उपमहानगरपालिकाको ५ लाख रुपैयाँ गरी कुल १ करोड १८ लाख ८९ हजार ७ सय ८५ रुपैयाँ लागतमा उक्त तटबन्ध निर्माण गरिएको हो । यसबाट ५ सय घरधुरी लाभान्वित बनेको विपद् व्यवस्थापन शाखाका प्रमुख टोपबहादुर डाँगीले जानकारी दिए ।

जोखिम संवेदनशील भू(उपयोग योजनामा समावेश गरिएको तथा तुलसीपुर उपमहानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमको प्राथमिकताका आधारमा तयार नेपालसँग सहकार्य गरी ती क्षेत्रमा तटबन्ध निर्माण गरिएको उनले बताए । तटबन्ध निर्माण भएसँगै त्यसक्षेत्रका नागरिकले पुनर्जीवन नै प्राप्त गरेको उनले अनुभूति सुनाए । यसका अतिरिक्त डुबानको जोखिममा रहेका अन्य स्थानहरूलाई लक्षित गरी खोज तथा उद्धारका सामग्रीहरूलाई वडास्तरमा विन्यास गरिएको उनले जानकारी दिए । तालिम प्राप्त जनशक्ति उत्पादन गर्नुका साथै निजी क्षेत्रको संलग्नता गराइ जोखिम वित्त पोषणका काम समेत भइरहेको उनले बताए ।

परियोजनाले विपद् जोखिम न्यूनीकरणमा अपनत्व जगाएको छः नगर प्रमुख खड्का

तुलसीपुर उपमहानगरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तयार नेपाल परियोजनाले महत्त्वपूर्ण योगदान पु¥याएको तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले बताए । यस परियोजनाले उपमहानगरको संरचना, संस्थागत क्षमता सुधार, नीति, नियम, वातावरण संरक्षण मात्र नभइ विपद् जोखिम संवेदनशील भू–उपयोग योजना, वित्त पोषण एवम् आपतकाली कार्य सञ्चालन र विपद्को सामना गर्न दिशानिर्देश गरेको उनले बताए । यस परियोजना अन्र्तगतका हरेक गतिविधिले उपमहानगरलाई जोखिम न्यूनीकरणमा अपनत्वको भाव सिर्जना गरेको प्रमुख खडका बताउँछन् ।

‘विपद्सँग मात्र नभइ पर्यावरण र जलवायु अनुकूलनसँग सम्बन्धित रहेर पनि यस परियोजनाले थुप्रै कामहरू हाम्रो पालिकामा गरेको छ, यसले हामीलाई सिकाइ मात्र भएको छैन, विपद्लाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने अपनत्वको भाव पनि जगाएको छ, त्यो नै सबैभन्दा ठूलो उपलब्धी हो ।’ उपमहानगरको वार्षिक बजेट तर्जुमा गर्दा विपद्लाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनले बताए । विपद् व्यवस्थापन कोष सञ्चालन गर्नका लागि आर्थिक वर्ष २०८१÷८२ मा उपमहानगरले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । यसका साथै विपद् जोखिम क्षेत्रको पहिचान र नक्साङ्कनका साथै रणनीतिक कार्ययोजनाअनुसार बाढी पहिरो तथा नदी कटान भू(क्षय नियन्त्रण र तारजालीका लागि पनि बजेट उपलब्ध गराइने उनले बताए ।

नीति तथा कानुन, योजना निर्माण

तुलसीपुर उपमहानगरपालिकाले तयार नेपालको सहयोगमा नगरस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विभिन्न नीति तथा कानून एवम योजनाहरू निर्माण गरेको छ । उपमहनगरले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, नियमावली, विपद् व्यवस्थापन कोष कार्य सञ्चालन कार्यविधि, आपतकालीन कार्यसञ्चालन कार्यविधि, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यविधि, मनसुन पूर्वतयारी योजना, जोखिम समंवेदनशील भूउपयोग योजना तयारी, भौतिक पूर्वाधार तथा भवन निर्माण मापदण्ड निर्देशिका निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख खड्काले बताए । यस्तै, भवन प्रवलीकरण अनुमति निर्देशिका तथा मापदण्ड, अग्नि जोखिम न्यूनीकरण तथा व्यवस्थापन निर्देशिका लगायतका कानूनहरू निर्माण गरिएको उनले जानकारी दिए ।

प्रमुख खडकाका अनुसार उपमहानगरपालिकामा परियोजना सुरू हुनुपूर्व विपद् जोखिम व्यवस्थापनका लागि विभिन्न कानूनी तथा वित्तीय समस्या विद्यमान थियो । तर परियोजना सुरू भएपश्चात यसको सहयोगमा ११ वटा नीति तथा कानून र ४ वटा योजनाहरू निर्माण भएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई स्थानीयकरण गर्न, लैंगिकतामा आधारित हिंसा रोकथाम गर्न, कर्मचारीको नेतृत्व तथा संवेदनशीलता, सक्रियता र जिम्मेवारीमा पनि गहन वृद्धि भएको उनले अनुभव सुुनाए । बाढी, पहिरो, महामारी, आगलागी, सडक दुर्घटना, हावाहुरी जस्ता विपद्जन्य घटनाबाट उत्पन्न हुने विपद्को जोखिम उपमहानगरको प्रमुख चुनौती रहेको बेलामा तयार नेपाल परियोजनाले २०७७ असार २० गते उपमहानरगसँग द्विपक्षीय सम्झौता गरी विपद् जोखिम न्यूनीकरणकोे क्षेत्रमा विभिन्न क्रियाकलापहरू सञ्चालन गरी विपद् उत्थानशीलतामा अहम् भूमिका खेलको उनले बताए ।