‘मिसेज लुम्बिनी २०८१’ प्रतियोगिता हुने
गोरक्ष समाचारदाता
दाङ, १ असोज । प्रदेशस्तरीय ‘मिसेज लुम्बिनी प्रदेश २०८१’ सञ्चालन हुने भएको छ । लुक्बिनी प्रदेशमा पहिलो पटक यस प्रकारको प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले जानकारी दिएको छ । रोटरी क्लब दाङको संयोजन तथा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा घोराहीमा गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनका प्रतियोगिताका संयोजक देवी गुरुङले पहिलो पटक प्रदेश स्तरीय मिसेज लुम्बिनी प्रदेश २०८१ सञ्चालन गर्न थालिएको जानकारी दिइन् । नयाँ कार्यक्रमको सुरुआत गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरेको उनको भनाइ छ । विवाहित पहिलाहरूको क्षमता बाहिर ल्याउने उद्देश्यले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । ‘विवाहित महिलाहरू कम प्राथमिकतामा पर्ने भएकाले उनीहरूलाई प्राथमिकता दिएर कार्यक्रम आयोजना गरिएको हो’, कार्यक्रम संयोजक गुरुङले भनिन् ।
प्रतियोगीतामा सहभागिताको लागि लुम्बिनी प्रदेशका विवाहित २० वर्षमाथि उमेर भएकाले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताका लागि फाराम शुल्क नौ सय ९९ रुपैयाँ कायम गरिएको छ । छनोट दाङ र रुपन्देहीमा सञ्चालन गरिने उनले बताइन् । अडिसनबाट छनोट भएकालाई तालिम दिइने र फाइनल मंसिर १५ गते रुपन्देहीमा हुने भएको छ ।
तालिममा सहभागी हुन २५ हजार रुपैयाँ तिर्नु पर्ने छ । अडिसनबाट छनोट भएकालाई विभिन्न सिपमूलक तालिम दिइने रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर अध्यक्ष ओम जैसीले जानकारी दिए । जसले उनीहरूलाई दैनिक जीवनमा सहजता ल्याउने उनको भनाइ छ । प्रतियोगिमा प्रथम हुनेलाई नगद ५१ हजार सहित विभिन्न पुरस्कार, दोस्रोले ३१ बजार नगद सहित विभिन्न पुरस्कार र तेस्रोले २१ हजार नगद सहित विभिन्न पुरुस्कार प्राप्त गर्ने उनले जानकारी दिए । प्रतियोगीहरूलाई विभिन्न अवसर समेत प्रदान गरिने उनले बताए ।
पत्रकार सम्मेलनमा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले महिलाहरूको क्षमता प्रदर्शन गर्ने अवसरको रूपमा प्रतियोगिता सञ्चालन गरिनु पर्ने बताए । पत्रकार सम्मेलन रोटरी क्लब दाङका अध्यक्ष प्रदीप सुवेदीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण रोटरी क्लब दाङका उपाध्यक्ष मिनराज भाटले गरेका थिए ।
