स्वास्थ्यमा चौथो पटक राप्ती उत्कृष्ट
गोरक्ष समाचारदाता
दाङ, १ असोज । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० पालिकामध्ये राप्ती गाउँपालिका लगातार चौथो वर्ष उत्कृष्ट भएको छ ।
स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा सोमवार राप्तीलाई उत्कृष्ट घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरू पालिकामध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचक गत वर्षको कार्यक्रममा सबैभन्दा राम्रो बनाएको आधारमा पहिलो भएको प्रमाणपत्र दिइएको हो ।
यसैगरी खोप कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, स्वास्थ्यका लक्षित कार्यक्रम सहित २६ वटा सूचकलाई आधार बनाएर गरेको कामको उत्कृष्ट घोषित गरिएको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्यले जानकारी दिए । यसैगरी जिल्लाको घोराही उपमहानगरपालिका दोस्रो, दंगीशरण गाउँपालिका तेस्रो भएको छ । उत्कृष्ट भएका पालिकालाई जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मालगायतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
जिल्लाका १० वटै पालिकाले पालिकागत रूपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामबारे जानकारी गराउँदै कार्य प्रगति र चुनौतीबारे अवगत गराएका थिए । वार्षिक समीक्षा गोष्ठीले आगामी दिनमा पालिका–पालिकाबिच समन्वय स्थापनासँगै देखापरेका समस्या र चुनौतीलाई समाधान गर्दै स्वास्थ्यका सूचक सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
