सार्वजनिक यातायात समय सापेक्ष सुधार हुनुपर्दछ’
बालाराम खड्का
तुलसीपुर, ३० भदौ । यातायात क्षेत्रमा देखिएका समस्यालाई सुधार गदै यातायात क्षेत्रलाई व्यवस्थित एवम् यात्रुमैत्री वातावरण गराउनुपर्ने कार्यक्रमका सहभागीले बताए छन् । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि तुलसीपुरको पाँचौ वार्षिक साधारणसभामा सहभागीले सार्वजिक यातायातलाई समय सापेक्ष सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका हुन् ।
नेपालमा सार्वजनिक यातायात क्षेत्रले ठुलो हिस्सा ओगटेको भए पनि राज्यले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्न चासो नदिएको सहभागीको गुनासो थियो । त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार पूर्व अध्यक्ष देवीबहादुर डिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै सहभागीले निजी क्षेत्रले नेपालमा यातायात क्षेत्रमा ठुलो लगानी लगाई सेवा दिए पनि राज्यले व्यवस्था गर्नु दुःख भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि डिसीले व्यवसायीले सेवासँगै सेवा गरेबाफत केही नाफा पाउने गरेको भन्दै सबैको एकताले मात्र यातायात क्षेत्रको विकास हुने बताए । उनले सार्वजनिक यातायातलाई यात्रुमैत्री बनाउनु पर्ने भन्दै यात्रुलाई राम्रो व्यवहार गर्नु पर्नेमा जोड दिए । ‘पहिलेभन्दा अहिले यातायात क्षेत्र धेरै फराकिलो भएको छ, अब हामीहरू पनि समय सापेक्ष यसलाई सुधार गर्दै जानुपर्छ’ उनले भने ।
डिसीले गाडी धनी लोभी र सडकको अवस्था राम्रो नहुँदा दुर्घटना हुने भन्दै गाडीको आवस्था र राम्रो गराउन लगानीकर्ता लाग्नु पर्ने बताए । उनले बाटोको अवस्था सुधार गर्न राज्यले ध्यान दिनु पर्ने बताए । त्यस्तै कार्यक्रममा सहभागीहरूले नेपालमा दिन प्रतिदिन सुविधा सम्पन्न गाडी भित्रिए पनि सडकको अवस्था भने सुधार नहुँदा यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य भएको बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा समितिका पूर्व अध्यक्षहरू प्रेम बस्नेत, नेत्रमणि लामिछानेले यस क्षेत्रको पहिलो यातायात समिति हाल रुपान्तरित त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले धेरैलाई रोजगारी दिनुका साथै अहिले हमालको नेतृत्वको समितिले सुविधा सम्पन्न गाडी भित्र्याएर सेवा दिएको बताएका थिए । त्यस्तै नायक निखिल उप्रेतीले सकारात्मक ज्ञान, व्यवहार र आचरणको विषयमा प्रशिक्षण दिँदै पेसा सानो ठुलो नहुने भन्दै आफ्नो पेसालाई मर्यादित गराउनु पर्नेमा जोड दिएका थिए ।
‘हामीले राम्रो व्यवहार ग¥यौँ भने अर्कोले पनि राम्रो गर्छ, हामीले दिने सेवा प्रभाकारी हुनुपर्छ, एउटा चालकको हातमा धेरैको भविष्य हुन्छ । त्यसैले यात्रालाई सम्झन लायक गराउन चालक र सहचालकको महत्वपूर्ण हात हुन्छ’ उनले भने । त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेलले यातायात क्षेत्रको सुधारमा सबै पक्ष जिम्मेवार हुनु पर्ने भन्दै त्यसमा पनि विशेष जिम्मेवार चालक हुनु पर्ने बताए । ‘दुर्घटनाका धेरै कारण छन् तर चालकको
सानो गल्तीले ठुलो दुर्घटना निम्तिन सक्छ यसमा जिम्मेवार हुनुपर्छ, जिउ धनको रक्षा गर्नु पर्ने हुन्छ’ पोख्रेलले भने ।
त्यस्तै कार्यक्रममा सहभागी यातायात व्यवसायीले सबै व्यवसायी एक भए मात्र यातायात क्षेत्रको विकास हुने भन्दै एक हुनुपर्ने बताए । कार्यक्रममा यातायात व्यवसायी केशव भण्डारीले हिजो २ घण्टाको बाटोको यात्रा अहिले ६ घण्टा लाग्ने भन्दै राज्यले यसमा ध्यान दिनु पर्ने बताए । ‘हामी यातायात व्यवसायी चालकले पनि केही कमी कमजोरी भए सुधार गर्नुपर्छ तर राज्यले सडकको दुरावस्थाको विषयमा गम्भीर हुन जरुरी छ’ भण्डारीले भने ।
कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका उपमहासचिव घनश्याम डाँगीले सेवामा प्रतिस्पर्धा हुनु पर्ने स्वभाविक भए पनि पछिल्ले समय बाटोको अवस्था र अन्य विभिन्न कारणले दुर्घटना बढेको बताए । उनले राजमार्ग तथा अन्य क्षेत्रमा हुने ट्राफिक चेकजाँच धेरै भएको भन्दै त्यसमा सुधार गर्नु पर्ने बताए ।
‘यहाँबाट काठमाडौं जानु प¥यो भने अहिले २४ घण्टा लाग्छ बाटोको सुधार कहिले हुन्छ, त्यसैमा दाङमा ७÷८ स्थानमा गाडी चेकजाँच हुन्छ’ उनले भने । त्यस्तै प्रालिका प्रशासनिक संयोजक नारायणप्रसाद न्यौपानले अहिले राज्यले ल्याएको नीति अनुरुप बैंकको यातायात क्षेत्रमा लगानी गर्न चासो नहुनु र बैंकले बढाएको व्याजदरका कारण नयाँ गाडी भित्र्याउन नसकेको बताए ।
उनले सडक विस्तारको नाममा सडक संरचना भत्काउँदा यात्रा कष्टकर भएको र दुर्घटना जोखिम समेत बढेको भन्दै सम्बन्धित निकायले समयमै त्यसतर्फ ध्यान दिनु पर्ने बताए । कार्यक्रममा डा. लोकराज पराजुलीले यातायात हिजोदेखि नै हेपिएको भन्दै यसलाई राम्रो बनाउनतर्फ सबै लाग्नु पर्ने बताए
त्यस्तै चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य ध्रुवराज न्यौपानले यातायात सम्बन्धि ऐन कानुन भए पनि त्यो लागु हुन नसकेको भन्दै सार्वजनिक निजी यतायातका कुरा राज्यको हेर्ने दृष्टिकोण राम्रो नभएको बताए । उनले अहिले पनि यातायात क्षेत्र, अस्तव्यस्त भएको बताउँदै यसलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले नविनतम कार्यक्रम गदै आएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, कलाकार कमल गाउँले, पूर्व जनप्रतिनिधि नवराज लामिछाने, जिल्ला ट्राफिक प्रमुख राजेश शाही, नेपाल यातायात मजदुर संघ दाङका अध्यक्ष पदक वली, प्रालिका सल्लाहकार विनोदकुमार रावत, कर्मचारी युनियनका उपाध्यक्ष यज्ञबहादुर वली, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष दिपक बुढाथोकीलगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्दै प्रालिका अध्यक्ष हमालले यातायात क्षेत्रलाई व्यवस्थित गराउन आफूहरू मात्र लागेर नहुँने भन्दै सबैले सहयोग गर्नु पर्ने बताए । उनले आफूहरूले विभिन्न समयमा प्रालिमार्फत् सामाजिक तथा रचनात्मक काम गर्दै आएको बताए । ‘हामी यसअघि समिति हुँदा पनि देशभर उत्कृष्ट थियाँै अहिले पनि छाँै, हामीले दिने सेवा सधै उत्कृष्ट नै हुन्छ’ अध्यक्ष हमालले भने ।
उनले यातायात क्षेत्रमा केही सुधार गर्नु पर्ने कुरा उठेको भन्दै साँझको खाना नौदेखि १० र बिहानको साढे ११ सम्म यात्रुलाई खुवाउन निर्देशन समेत दिए । साधारणसभामा उत्कृष्ट कर्मचारी, त्यस्तै गोला प्रर्थाबाट एकजना व्यसायीलाई नगद ५५ हजार ५५५ र अन्य व्यवसायीलाई ५५ सय पुरस्कार तथा टायर मोविल समेत वितरण गरिएको थियो । प्रालिकाका संरक्षक भरतनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभाको सञ्चालन प्रेस संयोजक शरद रेग्मीले गरेका थिए । उक्त अवसरमा व्यवसायी कर्मचारी, तथा यातायात मजदुरलाई सकारात्मक ज्ञान व्यवहार सम्बन्धी नायक निखिल उप्रेतीले शिक्षा दिएका थिए ।