Goraksha

National Daily

बालबालिकाको अधिकार सुनिश्चितताका लागि सचेतना आवश्यक

तुलसीपुर, २९ भदौ । बालबालिकाकोे हक अधिकार सुनिश्चितताका लागि अभिभावक सचेत बन्नु पर्ने ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । ‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भने मूल नाराका साथ तुलसीपुर स्थित गुरु जजुर नमुना माध्यमिक विद्यालयमा भएको कार्यक्रमका सहभागीले बालअधिकारबारे सर्वप्रम अभिभावक सचेत हुनु पर्नेमा जोड दिएका हुन् ।

नगर बाल सञ्जालकी उपाध्यक्ष प्रशंसा केसीको अध्यक्षता तथा न्यायिक समितिका सदस्य लालमती भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बाल अधिकारकर्मी एवम् पूर्व जनप्रतिनिधि नवराज लामिछानेले बालअधिकार संरक्षणका लागि सबै क्षेत्रको समन्वय र सहकार्य हुनु पर्ने बताएका थिए । नेपालको संविधान २०७२ को धारा ३९ मा उल्लेख भएका बालबालिकाका हक अधिकारसम्बन्धी व्यवस्थालाई व्याख्या समेत गरेका थिए । बालबालिकालाई बालअधिकार भनेको के हो ? यसका आयाम के के छन् र बालअधिकारभित्र के के कुरा समेटिएका छन् भन्नेबारे जानकारी गराउनु पर्ने उनको भनाइ थियो । बाल दिवस मनाइरहँदा कतिपय बालबालिका आफ्नै अधिकारबाट वञ्चित हुनु पर्ने अवस्था रहेको भन्दै त्यसतर्फ सबै सरकारवालाले ध्यान दिनु पर्ने उनले बताएका थिए ।

पछिल्लो समय अभिभावकको हेरचाह र निगरानी नहुँदा विद्यालय जाने उमेरका बालबालिका लागूऔषध र कुलतमा फसेको बताउँदै उनले यसतर्फ सबै अभिभावकले ध्यान दिनु पर्ने बताए । ‘विद्यालय भर्ना गरेर मात्र हुँदैन, आफ्ना सन्तान विद्यालय गएका छन् वा छैनन्, विद्यालयमा के गरिरहेका छन् भन्नेतर्फ ध्यान दिन जरुरी छ’, उनले भने ‘विद्यालय गएकै छन् भन्ने भरमा अभिभावक बस्दा थाहा नपाउँदो तरिकाले बालबालिका कुलतमा फसेका घटना धेरै छन्, यसतर्फ सजग हुन जरुरी छ ।’

तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद विकास महाशाखाका मनबहादुर खड्काले बालबालिकाकोे हक अधिकार सुनिश्चितताका लागि अभिभावक जिम्मेवार बन्नु पर्ने बताएका थिए । परिवारको निगरानीको अभावले कयौं बालबालिका कुलतमा फस्ने गरेको बताउँदै उनले यसतर्फ समयमै ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । ‘विद्यालय पठाएर मात्र हुँदैन उनीहरूको हरेक गतिविधिलाई अभिभावकले निगरानी गर्नु पर्छ, आफ्ना सन्तान कहाँ कुन अवस्थामा छन्, कसरी समय व्यतीत गरिरहेका छन् भन्नेतर्फ ध्यान दिन नसके हाम्रा बालबालिका कुलतमा लाग्ने र लागूऔषध दुव्यशनको सिकार हुन पुग्छन्, यसतर्फ ध्यान दिन आवश्यक छ’, उनले बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालअधिकारको औचित्य र महत्वबारे बताउँदै तुलसीपुर उपमहानगरपालिका र नगर बाल सञ्जालले विगतदेखि गर्दै आएका गतिविधिबारे जानकारी दिएकी थिइन् । उनले बालबालिकाको अधिकारका लागि सबैको पहल आवश्यक रहेको बताइन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक कृष्ण भण्डारीले प्रविधिको बढ्दो प्रयोगले बालबालिका थाहा नपाइँदो तवरले अपराधिक क्रियाकलापमा संलग्न हुने गरेको बताउँदै यसतर्फ अभिभावक र शिक्षकले ध्यान दिनु पर्ने बताएका थिए । रमाइलो गर्ने, साथीसङ्गीसँग भेटघाट गर्ने वहानामा नजानिँदो तरिकाले बालबालिका सामाजिक अपराधमा मुछिने गरेका घटना बढ्दै गएको भन्दै यसतर्फ सजग हुन उनले विद्यार्थीलाई आग्रह गरेका थिए । बालबालिकाको भविष्यका लागि प्रहरी आफ्नो क्षेत्रबाट दिनरात खटिरहेको भन्दै बालबालिकालाई अनुशासित जीवनयापन गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा माध्यमिक विद्यालय कालाखोलाका शिक्षक शालिग्राम ढकाले संवैधानिक व्यवस्थामा उल्लेख भएका कुरा व्यवहारमा कार्यान्वयन भएका छन्÷छैनन् भन्नेबारे जानकार हुन आवश्यक रहेको बताए । बालबालिकाका रक्षक भनिनेबाटै बालशोषण हुने गरेको उदाहरण दिँदै उनले हरेक निकाय हरेक तह बालमैत्री र बालअधिकार सुनिश्चितताका लागि जिम्मेवार बन्नु पर्ने उनको भनाइ थियो । तुलसीपुर नगरस्तरीय बालसञ्जालका निवर्तमान अध्यक्ष शिशिर गिरीले बालअधिकार संरक्षण र सुनिश्चितताका लागि विभिन्न काम गर्दै आएको बताएका थिए । बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि सरकार मात्र नभई सबै सरोकारवाला निकाय उत्तिकै जिम्मेवार बन्नु पर्ने बताए ।

कार्यक्रममा ज्ञानज्योति माध्यमिक विद्यालयकी छात्रा रेजिना घर्तीले कुनै पनि अवस्थामा बालअधिकार सुनिश्चित हुनु पर्ने बताएकी थिइन् । कार्यक्रममा नगरस्तरीय बालसञ्जालका पदाधिकारी एवम् सदस्यहरूले बालविवाह, बालश्रम, साइबर अपराध र बढ्दो सोसल मिडियाको दुरुपयोगबारे जनचेतनामूलक नाटक र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाकी ललिता कँडेलले गरेकी थिइन् कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रम तुलसीपुर नगर बाल सञ्जालको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा भएको थियो ।