घोराहीमा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
गोरक्ष समाचारदाता
दाङ, २९ भदौ । घोराहीमा दोस्रो अन्तर विद्यालय नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ सुरु भएको छ । घोराही उपमहानगरपालिका नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा शुक्रवार घोराही–१४ स्थित कभर्ड हलमा सुरु भएको प्रतियोगितामा पालिकाभित्रका ६ विद्यालयले भाग लिएका छन् ।
पालिकामा रहेका जनज्योति विद्या मन्दिर, सिद्धार्थ एकेडेमी, पद्मोदय पब्लिक नमुना मावि, नेपाल पुलिस स्कुल, लिटिल एञ्जल स्कुल र शान्ति सुधा माविका विद्यार्थीले भाग लिएका छन् । पहिलो दिन समूह चरणका सबै खेल सम्पन्न भएका छन् । छात्र÷छात्रा डबल र छात्र÷छात्रा सिङ्गल इभेन्टमा प्रतियोगिता भइरहेको छ । जस अनुसार शुक्रवार भएको खेलमा छात्र डबल इभेन्टतर्फ जनज्योति विद्यामन्दिर र सिद्धार्थ एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । जनज्योति विद्यामन्दिरका आभाष घर्ती र रञ्जित पुन तथा सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारी र समीर चौधरी फाइनलमा प्रवेश गरेका हुन् ।
यसैगरी छात्रा डबल इभेन्टतर्फ लिटिल एञ्जल स्कुल र पद्मोदय पब्लिक नमुना मावि फाइनलमा प्रवेश गरेका छन् । लिटिल एञ्जलक चेतना घर्ती र सुप्रिया रोका तथा पद्मोदयका सुस्मिता वली र विजया पाठक फाइनल प्रवेश गरेका हुन् । यसैगरी छात्र सिङ्गल इभेन्टतर्फ सिद्धार्थ एकेडेमी र पद्मोदय पब्लिक नमुना मावि फाइनलमा प्रवेश गरेका छन् । जस अनुसार सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारी र पद्मोदयका राजीव रेग्मी फाइनलमा प्रवेश गरेका हुन् । यसैगरी छात्रा सिङ्गल इभेन्टतर्फ लिटिल एञ्जल स्कुल र जनज्योति विद्यामन्दिर फाइनलमा प्रवेश गरेका छन् । लिटिल एञ्जलकी सुप्रिया रोका र जनज्योतिकी लीला मल्ल फाइनल प्रवेश गरेकी हुन् ।
प्रतियोगिताको दुवै इभेन्टको फाइनल खेल शनिवार दिउँसो २ बजेपछि कभर्ड हलमा हुने भएको छ । प्रतियोगिताका विजेता, उपविजेतालाई पुरस्कारसहित मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस अघि समूह चरणको खेलमा छात्र डबल इभेन्टतर्फ सिद्धार्थ एकेडेमीले लिटिल एञ्जललाई २–० को सेटमा, जनज्योतिले पद्मोदयलाई २–० को सेटमा जितेको थियो । यसैगरी सिद्धार्थ एकेडेमीले शान्ति सुधालाई २–० को सेटले जित्दा जनज्योति विद्यामन्दिरले नेपाल पुलिस स्कुललाई
२–० को सेटमा जितेको थियो ।
छात्रा डबल इभेन्टतर्फ पाँच वटा टिमको सहभागिता रहेको थियो । जनज्योति विद्यामन्दिरले नेपाल पुलिसलाई २–० को सेटमा, लिटिल एञ्जलले सिद्धार्थ एकेडेमीलाई २–० को सेटमा तथा पद्मोदय पब्लिक नमुना माविले जनज्योति विद्यामन्दिरलाई २–१ को सेटमा हराएको थियो । यसैगरी सिङ्गल इभेन्टतर्फ फाइनल प्रवेशका लागि भएको छात्रको खेलमा जनज्योति विद्यामन्दिरले लिटिल एञ्जल स्कुललाई २–० को सेटमा, पद्मोदय पब्लिक नमुना माविले शान्ति सुधालाई २–० को सेटमा, सिद्धार्थ एकेडेमीले जनज्योति विद्या मन्दिरलाई २–१ को सेटमा तथा पद्मोदयले नेपाल पुलिस स्कुललाई २–० को सेटमा पराजित गरेको थियो ।
सिङ्गल इभेन्टतर्फ फाइनल प्रवेशका लागि भएको छात्राको खेलमा लिटिल एञ्जल स्कुलले पद्मोदय माविलाई २–१ को सेटमा, जनज्योति स्कुलले नेपाल पुलिस स्कुललाई २–० को सेटमा तथा लिटिल एञ्जल स्कुलले सिद्धार्थ एकेडेमीलाई २–० को सेटमा हराएको अफिसियल बालकृष्ण शाहले जानकारी दिएका छन् ।
प्रतियोगिता हुनु अघि आयोजित उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले खेल क्षेत्रको विकासका लागि पालिकाले योजनावद्ध रूपमा काम अघि बढाएको बताएकी थिइन् । स्वस्थ नागरिक उत्पादन गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहेको भन्दै विद्यालयमा अध्ययनरत बालबालिका खेलकुदमा आवद्ध भएर स्वास्थ्यसँगै खेललाई व्यावसायिक बनाउन सक्ने बतइन् ।
पछिल्लो समय खेलकुद विकासमा राज्यको लगानी थपिँदै गएको भन्दै नेपालमा खेलकुदको वातावरण निर्माण हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो नतिजा हासिल गरिरहेको उनको भनाइ थियो । स्थानीय सरकारका रूपमा रहेको घोराहीले पनि एक वडा एक खेल मैदानको अवधारणालाई सार्थक बनाउन नगरस्तरीय खेलकुद विकास समितिमार्फत् काम अघि बढाएको बताइन् ।
खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतमा भएको प्रतियोगितामा सामाजिक विकास समिति संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले घोराहीका राष्ट्रिय मान्यता प्राप्त सबै प्रकारका खेलकुदको विकासका लागि पालिकाले खेलकुद विकास समितिमार्फत् प्रतियोगिता आयोजना गर्ने बताएका थिए । घोराही–१४ का वडाध्यक्ष भानसिं बुढाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदको महत्व हुने बताए । खेलकुद विकास समिति सदस्य केशव थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रको सहजीकरण प्रतियोगिता संयोजक श्रवणकुमार खनालले गरेका थिए ।
