calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

महराबाट गल्ती भएकै हो : प्रचण्ड

दाङ, २० कार्तिक
नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ति गरेको र त्यस बिषयमा आफुलाई सही सूचना नदिएर झनै गल्ति गरेका बताएका छन् । ‘महराजीले क्रिमिनल अपराध त गर्नुभएको होइन, तर नैतिक त्रुटी गर्नुभएकै हो’ दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठाए, तर उहाँले सही कुरा बताउनु भएन ।’ अध्यक्ष प्रचण्डले थपे, ‘त्यसपछि म आफै जाँदा पनि उहाँले सही कुरा बताउनुभएन यो उहाँको अर्को गंभिर गल्ति भयो ।’ पार्टी नेतृत्वले छानविन गर्न खोज्दा महराले साथ दिएनन् भन्ने प्रचण्डको प्रष्ट अभिव्यक्ति थियो ।

महराको पक्षमा तपाई बोल्नु भएन भन्ने पत्रकारको जिज्ञासाको जवाफमा उनले भने, ‘अदालतले फैसला प्रक्रिया थालिसकेको बिषयमा पार्टीको लिडरसीपले त्यसलाई राजनीतिकरण गर्नु उचित होइन ।’ उनँले अदालतलाई सघाउन महरालाई समेत आग्रह गरे । ‘महराजी थुनामा गैसक्नु भयो, अव उहाँलाई पनि मेरो गल्तिको सजाय पाउनुपर्छ भन्ने लागेको होला’ प्रचण्डले भने, ‘यो गर्नुभनेको राष्ट्रलाई पनि सघाउनु हो, समाजलाई सही दिशातर्फ लैजाने प्रक्रियालाई सघाउनु हो ।’

सिमाका बारे कुटनीतिक पहल शुरु भैसकेको छ
प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नो तिर पारेको बिषयमा सरकारले कुटनीतिक पहल शुरु गरिसकेको जानकारी दिए । ‘मैले सबै बुझ्न पाएको छैन, बुझेर बोल्द राम्रो हुन्छ’ प्रचण्डले भने,‘तर यो बिषयमा सरकारले कुटनीतिक पहल गरिसकेको छ ।’ उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीलाई यो बिषयमा प्रष्ट कुरा भनेको स्मरण पनि गराए ।

माहौला बनाउन आन्दोलनको कुरा
प्रचण्डसंग पत्रकारहरुले बेलाबेलामा आन्दोलनको कुरा गर्नुहुन्छ किन ? भनेर सोधको थिए । जवाफमा प्रचण्डले भने, ‘परिवर्तन विरोधीहरु सलवलाउँदा, शान्तिप्रक्रिया बिरुद्ध निर्णयहरु हुँदा र जनतासंग जोडिएका सवालहरुमा उनीहरुको साथ दिदा फरक माहौल बनाउनका लागि त्यसो भनेको हुँ ।’ उनले कुनै राजनीतिक कारण र उकुस मुकुस भएर त्यस्तो नभनेको स्पष्टिकरण पनि दिए ।