जीवनोपयोगी सिप सिक्दै विद्यार्थी
हेमराज शर्मा
दाङ, २९ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोहल स्थित सरस्वती माध्यमिक विद्यालय भरपतुरका विद्यार्थीले पढाइसँगै जीवनोपयोगी सिप सक्न सुरु गरेका छन् । विद्यालयले आफ्नो वार्षिक कार्यपात्रो बनाएर महिनामा दुई दिन विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिइन् । उनका अनुसार प्रत्येक महिनामा दोस्रो र चौथो शुक्रवारका दिन विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाउन थालिएको छ । सोही कार्यक्रम अनुसार शुक्रवार विद्यार्थीलाई बत्ती काट्न र व्युटी पार्लर अन्तर्गत थ्रेडिङ गर्न सिकाइएको हो ।
विद्यालयले महिनामा दुईवटा शुक्रवारका दिन विद्यार्थीका रुचि र व्यावहारिक सिप अन्तर्गतका सिप सिकाउन सुरु गरेकोे छ । सोही सिप अनुसार विद्याथीलाई टाई बनाउने, जुत्ताको तुना मिलाउने, घरमा सामान मिलाएर राख्ने, कपडामा आइरन लगाउने, चिया पकाउने, अतिथिलाई पानीलगायतका सामान दिएर आदर गर्न सिकाउने, दुना र टपरी बनाउन सिकाउने, कपाल बाट्ने, कपाल काट्नेलगायतका सिप सिकाउने गरी वार्षिक कार्यपात्रो बनाएर कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक पौडेलले बताइन् ।
विद्यार्थीले सिपमूलक सिप सिक्न पाएकोमा खुसी भएका छन । अभिभावले पनि आफ्ना छोराछोरीले पढाइसँगै दैनिक जीवनमा आवश्यक पर्ने सिप सिकेको र त्यसलाई घरमा पनि लागु गरेकोमा खुसी व्यक्त गर्ने गरेको विद्यालयले जनाएको छ । विद्यालयको कार्यपात्रो अनुसार विद्यार्थीलाई विद्यालयका शिक्षक र आवश्यकता अनुसार बाहिरबाट प्रशिक्षक बोलाएर विद्यार्थीलाई प्रशिक्षण र सिप सिकाउने व्यवस्था गरेको छ । घोराही उपमहानगरापलिका सामाजिक विकास महाशाखाले चालु शैक्षिक वर्षदेखि महिनामा एउटा शुक्रवार नगरपालिकाभित्रका विद्यालयमा बु–फ्री–डे बनाई विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाउन आग्रह गरेको छ ।
