Goraksha

National Daily

प्रमुख अतिथि नआएपछि फालियो शिलालेख

गोरक्ष समाचारदाता
तुलसीपुर, २६ भदौ । तुलसीपुरमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नआएपछि तयार भएको शिलालेख फालिएको छ । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा निर्माण गरिएको बोटिङ पुलको उद्घाटन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नआएपछि तयार भएको शिलालेख फालिएको हो ।

मङ्गलवार बिहान ८ बजे पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राप्ती शान्ति उद्यानमा निर्माण गरिएको बोटिङ पुलसँगै हात्ती, गैँडा र जिराफका स्ट्याचु उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । उद्घाटन कार्यक्रमका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आउने कार्यक्रम थियो तर सोमवार बेलुका मुख्यमन्त्री चेतनारायण आचार्य आउन नसक्ने जानकारी पार्क व्यवस्थापन समितिले पाएपछि उद्घाटन कार्यक्रम स्थगित भएको हो ।

मुख्यमन्त्री आचार्य उद्घाटनका लागि नआउने भनेपछि विभिन्न क्षेत्रमा अतिथिलाई आमन्त्रणका लागि पत्राचार गरिएको थियो तर अन्तिम समयमा मुख्यमन्त्री आउन नसक्ने भएपछि उद्घाटन कार्यक्रम स्थगित गरिएको समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिएका छन् । पार्कमा निर्माण भएको बोटिङलगायतका अन्य संरचना लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लिबहादुर चौधरीको निर्वाचन क्षेत्र भएको र चाधरीकै पालामा प्रदेश सरकारमार्फत् विनियोजित बजेटबाट निर्माण भएका कारण उद्घाटन गर्न नआएको बुझिएको छ ।

अहिले आफूहरू सत्तासाझेदार दल भएको हुँदा निवर्तमान मुख्यमन्त्री चौधरीको निर्वाचन क्षेत्रमा उद्घाटन कार्यक्रममा उपस्थित हुन नसकेको मुख्यमन्त्री आचार्यले जनकारी दिएका छन् । कार्यक्रममा मुख्यमन्त्री नआएपछि उद्घाटनका लागि तयार गरिएको शिलालेख निकालेर फालिएको अध्यक्ष भण्डारीले बताए । उद्यानमा तत्कालीन मुख्यमन्त्री चौधरीको पालामा प्रदेश सरकारको ४४ लाख र उद्यानको आन्तरिक व्यवस्थापनबाट १८ लाख खर्च गरेर बोटिङ पुल तथा विभिन्न जनावरका स्ट्याचु तयार गरिएका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको लगानीमा दुईवटा डुङ्गा उपलब्ध गराइएको छ ।