विमानस्थल स्तरोन्नतिका लागि पहल, उडान घट्दै
बालाराम खड्का
तुलसीपुर, २५ भदौ । केही समय पहिले प्रधानमन्त्रीसहित विभिन्न नेताहरू समक्ष टरिगाउँ विमानस्थलको स्तरोन्नति गरिदिन भन्दै पहल भएको थियो । जिल्लाबाट सरोकारवालाले ठुलो विमान बसाल्न स्तरोन्नतिका लागि पहल बढाए पनि हवाई उडान भने घट्दो क्रममा छ ।
विसं. २०११ सालमै स्थापना भएको टरिगाउँ विमानस्थलमा अहिले नियमित उडान हुन नसक्दा यात्रुलाई भैरहवा र नेपालगञ्ज पुग्नु पर्ने बाध्यता छ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा सातामा चार दिनको उडान तालिका भए पनि सामान्यतः एकदेखि तीन दिनमात्र उडान हुने गरेको थियो । त्यो उडान पनि बिचमै रोकिएको थियो । कहिलेकाहीं त महिना दिनसम्म ठप्प हुने गरेको छ । पहिलो सातामा चार दिन आइतवार, सोमवार, मङ्गलवार र विहीवार उडानको तालिका छ ।
सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग रहेको विमानस्थलमा साना १९ सिटे विमान मात्र अवतरण गर्न सक्छन् । यी विमानको सेवा पनि कहिले यात्रु अभाव त कहिले मौसमका कारण देखाएर अवरुद्ध हुँदै आउने गरेको छ । यस अघि विमानस्थलमा बाउजर (इन्धन भर्ने व्यवस्था)को अभाव देखाएर एयरलाइन्सहरूले उडान भर्न मानेका थिएनन् । अहिले टरिगाउँमा बाउजर राखिए तापनि नेपाल वायु सेवा निगमले प्रत्येक शुक्रवार मात्र उडान भर्ने भनेको छ ।
गत हप्तादेखि प्रत्येक शुक्रवार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए । निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रवार मात्र उडान भर्ने नीति लिएको उनले जानकारी दिए । ‘हप्तामा सात दिन चलाउने कुरा हो तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ’, उनले भने, ‘त्यसले गर्दा पनि अहिले केही अवधिका लागि हप्ताको शुक्रवार मात्र चलाउने कुरा छ ।’ अहिले प्रत्येक शुक्रवार दिउँसो १२ बजे टरिगाउँ आउने र १२ः२० मा फर्किने उनले बताए ।
हाल दाङबाट काठमाडौं जाँदा सात हजार एक सय भाडा लाग्छ भने काठमाडौंबाट दाङ आउँदा सात हजार दुई ५० रुपैयाँ भाडा भायम भएको उनले बताए । अहिले दाङबाट काठमाडौं जानका लागि यात्री नपाउने अवस्था छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भए यो समस्या नहुँने उनको भनाइ छ । यस अघिको शुक्रवार दाङबाट काठमाडौं जाँदा एक जना मात्र यात्रु थिए । टरिगाउँ विमान स्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो ।
केही महिना जहाज नै आएन तर अब त्यसो नहुने प्रमुख सुनारले बताए । उक्त विमानस्थलाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ तर नियमित हुन सकेको छैन । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिए ७२ सिटे जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ । ७२ सिटे जहाज बस्ने कुरा भने ‘आकाशको फल आँखा तरी मर’ मने जस्तै भएको छ । पर्याप्त बजेट राज्यले पनि छुट्याउन सकेको छैन । कहिले क्षेत्रफलत कहिले अन्य प्राविधिक कारण देखाउँदै विमानस्थल स्तरोन्नतिको काम भने अगाडि बढन् सकेको छैन । दाङबासीको हवाई सेवा नियमित हुने आशा भने निराशामा बदलिँदै गएको छ ।
यसैगरी विमानस्थलको स्तरोन्नतिका लागि तीन अर्ब ४२ करोड २८ लाख ३५ हजार रुपैयाँ आवश्यक पर्ने देखिएको प्राविधिक अध्ययनले केही समय पहिले देखाएको थियो । स्तरोन्नतिपछि टरिगाउँमा ७२ सिटे विमान समेत अवतरण गर्न सक्ने प्राविधिकहरू बताउँदै आउका छन् । विमानस्थल स्तोन्नतिका लागि जग्गा आवश्यक पर्ने बताइए पनि मुआब्जाका लागि आवश्श्यक बजेट व्यवस्थापन हुन सकेको छैन । टरिगाउँ विमानस्थलमा हवाई सेवा नियमित गराउन र विमानस्थलको स्तरोन्नतिका लागि यस अघि विभिन्न समयमा विविध अभियान चलाइए पनि सफल हुन सकेको छैन ।
।