सामाजिक सञ्जालबाट उठ्यो विद्यालयको ऋण तिर्ने रकम
नारायण खड्का
दाङ, २१ भदौ । शान्तिनगर गाउँपालिका–५ काँसीपुर निवासी ५० वर्षीय डिल्लीबहादुर खड्काले असार १३ गते ट्याक्टर लगेर आफ्नै गाउँको ‘आदर्श माध्यमिक विद्यालय’ खेल मैदान जोतिदिए । मैदान जोतिएपछि विद्यालयको शान्ति भंग भयो। गाउँघरमा डिल्लीबहादुरको बुद्धि बिग्रेको भनेर आलोचना भयो भने कतिपय घरगृहस्थी बर्बाद हुन लागेपछि जोतेर ठिक ग¥यो भने ।
विद्यालयको खेल मैदान जोतेपछि समाज दुई कित्तामा बाँडिएन मात्र राजनीतिक गुटबन्दी भयो। विद्यालय प्रशासनमा अन्योल उत्पन्न भयो। डिल्लीबहादुरले आफ्नो गाउँको विद्यालय मैदान जोत्नुको खास कारण थियो, उनले विद्यालयबाट पाउनु पर्ने सात लाख रुपैयाँ । जुन सात वर्ष बित्दा पनि पाउन सकेका थिएनन । जस्ले गर्दा उनले विद्यालयको खेल मैदान जोत्नु परेको थियो । पैसा पाउन गत फागुन ४ गते निवेदन पनि दिएका थिए, १० गते विद्यालयमा छलफल भएको थियो।उक्त छलफलमा वैशाख १ गतेदेखि खड्काले भनेका एकजना शिक्षक नियुक्त गर्ने, सात लाख रुपैयाँ चाँडै बुझाउने र उनको नाममा एउटा शिलालेख राख्ने सहमति भएको थियो। सहमति त भयो तर विद्यालयको कोषमा पैसा नभएकाले पाउन सकेका थिएनन् । त्यही बदलामा उनले विद्यालय बन्द रहेको समयमा गत असार ११ गते मैदान जोतिदिए ।
डिल्लीबहादुर २०७४ सालको को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको उम्मेदवार भएर वडा सदस्य पदमा निर्वाचित भएका थिए । निर्वाचित जनप्रतिधिहरूमा कामको उत्साह थियो। त्यही समयमा केही न केही राम्रो काम गरेर देखाउन चाहन्थे। आदर्श माध्यमिक विद्यालयले जम्माजम्मी साढे तीन कट्ठा जग्गा ओगटेको थियो । आधा जमिनमा भवन थिए । विद्यार्थीका लागि मैदान अति साँघुरो थियो । विद्यार्थीले आसपासका बालीनालीमा क्षति पु¥याएको भन्दै विद्यालयमा उजुरी आउँथ्यो ।
विद्यालय प्रशासन मैदान बढाउन चाहन्थ्यो । विद्यालयले यससम्बन्धी प्रस्ताव वडा कार्यालयमा पेश ग¥यो। काँसीपुर गाउँ र जनप्रतिनिधिको सहयोगमा विद्यालयलाई जग्गा मिलाउने निर्णय भयो। समन्वयको जिम्मा डिल्लीबहादुरले पाए। जिम्मेवारी पाएपछि उनले विद्यालयको मैदानसँग जोडिएको जग्गा दिलाएका थिए । साढे दुई कट्ठा जग्गा दिने गरी जग्गाधनी ६ जना किसानसँग कुरा मिल्यो । मकै मासेरै भएपनि विद्यालयलाई जग्गा दिन किसानहरू तयार भए । जग्गाको मूल्य सात लाख एक हजार २५० रुपैयाँ तय भयो । अन्तिम निर्णय भएपछि विद्यालयले जग्गामा तारबार गरी मैदान विस्तार ग¥यो। जग्गा किन्ने पैसा विद्यालयमा थिएन। गाउँपालिका र माथिल्ला सरकारहरूसँग आग्रह गरेर पैसा जुटाउने सोच बनेको थियो। जग्गा व्यवस्थापनको समन्वय गरेका डिल्लीबहादुरले दुई महिनाभित्रै पैसा बुझाउने वचन जग्गाधनीहरूलाई दिएका थिए। विद्यालयको आग्रहमा जमानी पनि बसेका थिए।
विद्यालयले दुई महिनामा पैसा दिन सकेन। गाउँमा चन्दा संकलनको प्रयास भयो। केही रकम जम्मा भयो पनि तर विभिन्न कारणले रोकियो। पैसा नपाएपछि जग्गाधनीहरू डिल्लीबहादुरको घरमै धाउन थाले । उनी विद्यालयलाई ताकेता गर्थे। विद्यालय प्रशासन वडाध्यक्षलाई सहयोगका लागि आग्रह गर्दथ्यो तर पैसा जुटेन। अन्ततः डिल्लीबहादुर आफैले तिरिदिएका थिए । उनले ऋण काढेर २०७५ साल माघ सात गते सात लाख एक हजार २५० रूपैंया जग्गाधनीहरूलाई एकमुस्ट चुक्ता गरिदिएका थिए । तत्कालीन वडाध्यक्षले कुनै उपायले विद्यालयलाई पैसा दिलाउँला भन्ने आश्वासन दिएका थिए। त्यही भरमा डिल्लीबहादुरले जोखिम उठाएका थिए । उनलाई एकदुई महिनामा पैसा जुटाइन्छ भन्ने विश्वासमा थियो। तर आजभोलि भन्दाभन्दै सात वर्ष बित्यो । उनी जनप्रतिनिधि पनि रहेनन्। उनका लागि सात लाख रुपैयाँ सानो रकम थिएन । त्यसमाथि ब्याज कबोल गरेर ऋण लिएका थिए ।
‘सात वर्षदेखि ब्याज तिर्दातिर्दा आजित भइसकेको थिएँ। घरमा कलह बढ्दै गएको थियो’, उनले भने ‘शान्त गृहस्थी जीवन खलबलिन थालेपछि विद्यालयको मैदान जोत्न बाध्य भएँ ।’ उनलाई ट्याक्टर लगाएर विद्यालयको मैदान जोताउनु गलत काम थियो भन्ने लागेको छ । उनका अनुसार त्यसका लागि अरू विकल्प थिएन । ‘मलाई थाहा थियो, मैले गलत गरेको थिएँ’, उनले भने ‘तर त्यो मेरो बाध्यता थियो । आँगन जोतेर भताभुङ्ग पारिदिएपछि पक्कै केही पहल होला भन्ने सोचें।’
साँच्चै डिल्लीबहदुरको कदमले गाउँसमाजमा ठूलो तरंग ल्याइदियो। विद्यालयको मैदान जोतिएको खबरले स्थानीय २५ वर्षीय युवक हरि खड्काको निद्रा हराइदियो। उनले विद्यालय मैदान जोगाउन अभियान चलाउने अठोट गरे । उनले गाउँका केही युवा र विद्यालय परिवारमा छलफल चलाए। गाउँबाट त्यती ठुलो रकम उठाउने सम्भव थिएन । हरि सामाजिक सञ्जालमा निकै सक्रिय छन्। ‘रूटिन अफ शान्तिनगर’ नामको अनलाइन पेज चलाउँछन्।
उनले गौ संरक्षण अभियान, छाडा चौपायाका लागि घाँसपराल, शवदाह स्थल निर्माणलगायतका कार्यका लागि सामाजिक सञ्जालमार्फत रकम जुटाएका थिए। चन्दा सङ्कलनबाटै विपन्न एक परिवारका लागि घर बनाइदिएका थिए। त्यसरी जुटेको रकम र खर्चको विवरण जस्ताको तस्तै सार्वजनिक गर्ने गरेका छन् । हरिको अनुभव र इमानदारीले विद्यालयका लागि पनि सहयोग जुट्न विश्वास गरेर अभियानमा जुटे ।
त्यसैअनुसार हरि अघि बढे । उनले जोतिएको मैदानको फोटोसहित आफ्नो अनलाइन पेजमार्फत सहयोग आह्वान गरे। विद्यालयका शिक्षक चूडामणि केसीको संयोजकत्वमा ‘सहयोग सङ्कलन समिति’ बन्यो। उनी आफूले २२ हजार २२२ रुपैयाँ सहयोग गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर वलीले ६१ हजार, प्रधानाध्यापक विनोद डाँगीले २२ हजार २७२ र शिक्षक हीराबहादुर डाँगीले २७ हजार पाँच सय पाँच रुपैयाँ प्रदान गरे । तुलसीपुरमा व्यवसाय गर्ने विजय केसीले हरिको आग्रहमा ११ हजार रुपैयाँ सहयोग गरेका थिए ।
गाउँघरबाट जुटेको सहयोग समेत गरी बैंक खातामा तीन लाख रुपैयाँ जम्मा भयो। विदेशबाट पैसा आउन थाल्यो । शान्तिनगरबाट विभिन्न देशमा रहेका व्यक्तिहरूले पैसा पठाए। अभियान सुरु गरेको एक महिनामा नौ लाख रुपैयाँ जुट्यो । विद्यालाई सात लाख रुपैयाँ चाहिएकाले त्यसपछि आर्थिक संकलन बन्द गरियो। डिल्लीबहादुर तनावमुक्त भए। उनले पहिले जुटेको आर्थिक सहयोगबाट पनि केही पैसा पाएका थिए । शान्तिनगर गाउँपालिका–५ का वडाध्यक्ष ओपेन्द्रबहादुर रावतले हरि र अन्य केही युवाले सामाजिक सञ्जाल सदुपयोग गरेर विद्यालयका लागि ठूलो सहयोग जुटाएको बताउँछन् । सामाजिक सञ्जालको माध्यमबाट युवाहरूले विद्यालयको लागि गरेको कार्यबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वली पनि खुसी छन् ।
जग्गाधनीले सात वर्षअघि नै पैसा पाएपनि जग्गाको स्वामित्व विद्यालयलाई हस्तान्तरण भएको छैन। जग्गाधनीहरू विद्यालयका नाममा गरिदिन तयार छन् तर ६ जनाको नामबाट पास गर्नुपर्ने भएकाले जुट्ने अवसर मिलेको छैन। जग्गा पास गरिदिनुपर्ने कतिपय व्यक्ति जिल्लाबाहिर छन्। ‘उति बेलै फटाफट काम भएको भए सबै जग्गा विद्यालयको नाममा आइसक्थ्यो’, डिल्लीबहादुरले भने, ‘यो बीचमा कोही छुट्टीभिन्न भए, कोही बिते । परिवारभित्रै पनि स्वामित्व हस्तान्तरण गर्नुपर्ने भएको छ अनि मात्र विद्यालयको नाममा गराउन सकिन्छ ।’ गाउँमा रहेका तीन जनाले आफ्नो धनीपूर्जा उपलब्ध गराइसकेका छन् । अन्यबाट पनि धनीपूर्जा संकलन गरेर एकै दिन विद्यालयको नाममा हक हस्तारण गराउने प्रयास भने जारी छ ।
यसरी स्थापना भएको थियो विद्यालय
प्रधानाध्यापक डाँगीका अनुसार आदर्श माध्यमिक विद्यालय २०५० सालमा स्थानीय नेता रामबहादुर देवकोटाको पहलमा स्थापना भएको थियो । उनैले साढे तीन कट्ठा सार्वजनिक जग्गामा विद्यालय भवन बनाउन अग्रसरता लिएका थिए। प्राथमिक तहबाट सुरु भएको विद्यालय क्रमशः माध्यमिक तहमा पुगेको थियो ।
स्थापनाकै वर्ष विद्यालयले प्राथमिक तह र २०६६ सालमा आधारभूत तह स्वीकृति पायो । गाउँपालिकाले २०७६ सालमा माध्यमिक तह सञ्चालनको स्वीकृति दिएको थियो । हाल विद्यालयले माध्यमित तहमा तीन वटा सरकारी शिक्षकको दरबन्दी पाएको छ । हाल विद्यालयमा कम्तीमा दुई सय विद्यार्थी छन् ।