मेट्रो कलेजको जर्नल विमोचन
गोरक्ष समाचारदाता
तुलसीपुर, २१ भदौ । तुलसीपुर मेट्रो कलेजले प्रकाशन गरेको मेट्रो जर्नलको विमोचन गरिएको छ । अनुसन्धानमूलक जर्नलको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले विमोचन गरेका हुन् ।
जर्नलको विमोचन गर्दै उपकुलपति बज्राचार्यले अनुसन्धानमूलक कार्य कलेजको पहिचान भएको भन्दै प्राज्ञिक कार्यको सुरुवात भएकोमा खुसी व्यक्त गरेका थिए । विश्वविद्यालयले विश्वभर नै बुद्धको सन्देश प्रवाह गर्ने उद्देश्य लिएको बताउँदै उपकुलपति बज्राचार्यले विभिन्न आधुनिक विषयहरू पनि बुद्ध दर्शनलाई समावेश गरेर सञ्चालन गरिएकोमा जोड दिए । ‘हामीले बुद्ध दर्शनलाई जोडेर नयाँ–नयाँ कार्यक्रम पनि सञ्चालन गरिरेहका छौँ’, उनले भने । तुलसीपुर मेट्रो कलेज विश्वविद्यालयको साझेदारी कलेज भएको भन्दै उनले आङ्गीक कलेजका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिस्ट्रार डा तिलक आचार्यले मेट्रो कलेजलाई केन्द्रमा राखेर विश्वविद्यालयले नयाँ–नयाँ कार्यक्रम सञ्चालन गर्ने बताए । ‘हामीले अहिलेको जनशक्तिलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने छौँ’, उनले भने । मानव जीवनमा अनुसन्धानको अहम् भूमिका हुने बताउँदै प्राज्ञिक खोजका लागि गरिएको अनुसन्धानले व्यक्ति र संस्थालाई नयाँ उचाइ दिने उनको भनाइ थियो । तुलसीपुर उपमहानगरपालिका पूर्व नगर प्रमुख घनश्याम पाण्डेले शैक्षिक संस्थाले वर्तमान समस्याको समाधानका लागि पनि अध्ययन गर्नु पर्ने कुरामा जोड दिए । कलेजका संस्थापक सञ्चालक समिति अध्यक्ष समेत रहेका पाण्डेले कलेजलाई उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा राप्ती बबई बहुमुखी क्याम्पसका प्रमुख गणेश पार्धे, वडा नम्बर १२ का अध्यक्ष खुसीराम चौधरी, कलेजका सल्लाहकार श्याम डाँगी, जर्नलका सम्पादक महेन्द्र भण्डारी र श्रीराम चौधरीलगायतले मन्तव्य राखेका थिए । कलेज सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कलेज प्रमुख बसन्त आचार्यले गरेका थिए ।
