Goraksha

National Daily

डेङ्गु सङ्क्रमण बढेपछि तुलसीपुरमा लार्भा नष्ट गर्ने अभियान

बालाराम खड्का
तुलसीपुर, २१ भदौ । तुलसीपुर क्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले डेङ्गुबाट बच्न नगरबासीलाई सचेत बनाउन सुरुसँगै लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । नगर प्रमुख टीकाराम खड्का सहितको स्वास्थ्य शाखाको टोलीले नगरबासीको घर–घरमा पुगेर यस्तो अभियान सुरु गरेको हो ।

वर्षातको समयमा डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि नगरबासीलाई बच्ने उपायबारे जागरूक बनाउन यो अभियान थालिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । प्रत्येक साताको शुक्रवार सचेतना अभियान र विद्यालय शिक्षा कार्यक्रमसँगै लार्भा नष्ट अभियानलाई निरन्तरता दिने योजना अघि सारिएको छ । यो अभियान उपमहानगरको जनस्वास्थ्य प्रवर्धन शाखाको आयोजनामा विहीवारदेखि सुरु भएको हो ।

अभियानको पहिलो दिनमा नगर प्रमुख खड्का, शाखा प्रमुख, स्वास्थ्यकर्मी, तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारलगायतको टोलीले विभिन्न क्षेत्रमा सचेतना कार्ड वितरण गर्दै लार्भा नष्ट गरेका छन् । यस क्रममा तुलसीपुरको वीपी चोक, पिपलबोट, न्यूरोड, नयाँ बसपार्क क्षेत्रका घर तथा पसलका वरपर पानी जम्न नदिने र सरसफाइ गर्ने अपिल गरिएको छ । अभियानको क्रममा सबैभन्दा धेरै कबाड सङ्कलन केन्द्र, होटल र केही घरमा राखिएका गमला, टायर, ड्रममा सरसफाइको अभाव देखिएको र त्यहाँ भेटिएका लार्भा नष्ट गरिएको थियो ।

यो अभियान बढी जोखिम देखिएका क्षेत्रमा हरेक साता अनुगमन तीव्र बनाइनुका साथै डेङ्गु सङ्क्रमणबाट बच्ने उपायबारे जानकारी गराइने जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनका अनुसार डेङ्गु सङ्क्रमणबाट बच्न सरसफाइमा ध्यान दिनु पर्ने बताउँदै यसका लागि ठोस उपचार नभएको तर लक्षण अनुसार उपचार गरिने जानकारी दिए ।

तुलसीपुरमा गत वर्ष एक सय ९१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो भने चालु आर्थिक वर्षको साउन महिनामा दुई सय २० जनाको जाँच गर्दा ८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए । उनका अनुसार पुष्टि भएकामध्ये २० जना अस्पतालमा भर्ना भएका थिए भने अन्य सबै सामान्य उपचारपछि निको भएका छन् । डेङ्गु सङ्क्रमण भए एक्कासी उच्च ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिन्छन् । यस्तो लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानु पर्ने महाशाखा प्रमुख न्यौपानेले बताए ।

अभियानका क्रममा बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवतीलाई विशेष ध्यान दिन सबैमा अनुरोध गरिएको थियो । नगर प्रमुख खड्काले नगरबासीलाई डेङ्गुबाट जोगिन सतर्कता अपनाउन अपिल गर्दै वातावरणीय सरसफाइमा स्थानीय सरकारको मात्र जिम्मेवारी नभई नागरिकको पनि अहम भूमिका रहनु पर्ने बताएका थिए । उनले सबैले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरे समुदायले स्वस्थ वातावरण पाउने बताए । वातावरण सफा भए डेङ्गुको सङ्क्रमणमा कमी आउने उनको भनाइ थियो । ‘आफ्नो घर वरपर सरसफाइ गर्नुहोस्, यसबाट बच्न र ध्यान दिन सबैलाई आग्रह गदै आएका छौँ’, नगर प्रमुख खड्काले भने । केही दिन यता तुलसीपुरका विभिन्न स्थानमा डेङ्गु सङ्क्रमणका बिरामी बढिरहेका छन् ।

देशभर ६ हजार सङ्क्रमित

यसैबिच देशभरि डेङ्गु सङ्क्रमितको सङ्ख्या छ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार छ हजार तीन सय ४७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक साता अघि डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३६ जना रहेको थियो । एक सातामै एक हजार बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । यो वर्ष डेङ्गुका कारण पाँच जनाको मृत्यु भएको छ । जसमा चितवनमा मात्रै दुई जना रहेका छन् । महाशाखाका अनुसार डेङ्गु सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेक सबै जिल्लामा फैलिएको छ ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल अझै दुई महिना डेङ्गु सङ्क्रमणको उच्च जोखिम रहेकाले सबैले आवश्यक सतर्कता अपनाउनु पर्ने बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण बढेपछि हरेक सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्न भनेको छ । यसैगरी ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह समेत गरेको छ । सरकारी अस्पतालमा डेङ्गु सङ्क्रमितको उपचार निःशुल्क गर्ने सरकारले निर्णय गरिसकेको छ ।

डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीणभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, रँगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको बताइन्छ ।

डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो भाइरस डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रँगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेङ्गु रोग क्लासिक डेङ्गु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन् । क्लासिक डेङ्गु सामान्य प्रकारको डेङ्गु हो ।

यो आफंँ निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ तर कुनै व्यक्तिलाई डेङ्गु हेमोरेजिक ज्वरो वा डेङ्गु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसार उपचार गरिन्छ । ज्वरो घटाउन सिटामोल तथा प्रशस्त झोल पदार्थ खानु पर्छ । ज्वरो घटाउने भनेर एस्पिरिन तथा आइबुप्रोफेन भने खान हुँदैन । डेङ्ग ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।