Goraksha

National Daily

फुटपाथ खाली गराउने अभियानमा तुलसीपुर

बालाराम खड्का
तुलसीपुर, २० भदौ । तुलसीपुर बजारको फुटपाथ खाली गराउने अभियान सुरु भएको छ । फुटपाथ खाली गराई बजारलाई व्यवस्थित गर्न नगर प्रमुख र उपप्रमुख नै सडकमा निस्किएका छन् । उपमहानगरको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटी र फुटपाथमै सामान राखेर व्यापार थालेपछि फुटपाथ खाली गर्ने अभियानमा नगर प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी दलबलसहित अनुगमनमा बुधवार बिहानै निस्किएका हुन् ।

बजार व्यवस्थापक र प्रहरी सहित गएको नगर प्रमुखको नेतृत्वको अनुगमन टोलीले सडक र फुटपाथमा सामान नराख्न अनुरोध गर्नुका साथै उपमहानगरको अभियानलाई अटेर गर्ने व्यापारीका सामान जफत गरिएको छ । बजार व्यवस्थित र सुन्दर बनाउन सडकपेटी र फुटपाथ खाली गराउने अभियान थालिएको नगर प्रमुख खड्काले बताए । ‘व्यापारीले सटकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भयो’, नगर प्रमुख खड्काले भने । पहिलो पटक व्यापारीका पसलमै पुगेर फुटपाथ खाली गर्न अनुरोध गरेको नगर प्रमुख खड्काले बताए ।

अबदेखि व्यवसायीलाई सटरभन्दा बाहिर सामान राख्न नदिने र फुटफाथमा सामान राखेर व्यापार गर्न समेत नदिइने बजार उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन् । पहिलो पटक फुटपाथ मिचेर व्यापार गर्नेलाई सचेत गराइएको तर पुनः अनुगममा सटरभन्दा बाहिर सामान राखेको पाइए जफत गरी जरिमाना समेत गरिने उनले बताइन् । सटकपेटीमा सामान राख्नाले यात्रु बिचसडकमा हिड्नु पर्ने र त्यसले दुर्घटना निम्त्याउने जोखिम न्यूनीकरण गर्न पनि यस्तो कदम चालिएको उपमहानगरपालिकाले जानाएको छ ।

बजार व्यवस्थित गर्न अनुगमनलाई निरन्तरता दिइने तुलसीपुर उमहानगरले जनाएको छ । तुलसीपुरको घोराहीरोडमा बिहान दुई घण्टासम्म किसानले तरकारी बिक्री गर्न पाउने भनिए पनि पनि त्यहाँ व्यावसायिक रूपमा सडक पेटीमै तरकारी पसल थापिएका छन् । बजारमा पनि व्यवसायीले सटर अगाडि फुटपाथ नै छेक्ने गरी सामान राख्न भने छोडेका छैनन् । बिहानभर नगर प्रमुख सहितको टोलीले फुटपाथका सामान हटाए पनि दिउँसोको समयमा भने फुटपाथमै सामान राखेर व्यापार गरिरहेको दृश्य देखिन छोडेको छैन । ‘बिहान नगर प्रमुख सहितको अनगुमन टोली थियो, अहिले सडक पेटी र फुटपाथमै व्यापार भइरहेको छ’, बजारमा भेटिएका एकजनाले भने ।’

यसैगरी फुटपाथमा व्यापार व्यवसाय गर्नेले भने आफूहरूलाई उपयुक्त स्थान दिनु पर्ने माग गरेका छन् । आफूहरूको रोजीरोटी फुटपाथको व्यापार भएको भन्दै फुटपाथ खाली गराउन आएका अधिकारी समक्ष व्यापारका लागि उपयुक्त स्थान दिनु पर्ने माग व्यवसायीले गरेका थिए । ‘हाम्रो घरखर्च चल्ने आधार नै यही हो, एकैचोटि विकल्प सोच्न पनि सकिन्न, व्यापार छोड्न सकिन्न, यसका लागि उपयुक्त ठाउँ उपमहानगरले दिनु पर्छ’, एक जना फुटपाथ व्यापारीले भने । तुलसीपुरमा बाइपास रोड नहुँदा ठुला तथा साना सवारी साधन मुख्य सडकमै सञ्चालन हुने गरेका छन् ।

साँघुरो सडकमाथि सवारीक साधनका चाप, पैदल यात्रु र फुटपाथको व्यापार तथा निर्माण सामग्री राखिनाले बजार कुरुप हुनुका साथै दुर्घटनाको उच्च जोखिम छ । त्यस्तै सटरमा व्यापार गर्ने व्यवसायीले पनि फुटपाथनै ढाक्ने गरी सामान राखिदिँदा पैदल यात्रुलाई हिड्न समस्या हुने गरेको छ । तुलसीपुरमा सवारी साधनको पार्किङ स्थल नहुँदा यत्रतत्र गाडी पार्किङ गरिनाले बजार व्यवस्थापनमा समस्या हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले विभिन्न समयमा बजार व्यवस्थापनमा कडाइ गरे पनि सफल भने हुन सकेको छैन । पुरानो बजार सीमित स्थानमा भएकाले पनि उपमहानगरपालिकालाई कठिनाइ हुने गरेको छ । पछिल्लो समयमा उपमहानगरले ठेला व्यापार व्यवस्थित गरेको थियो ।