प्रदेशस्तरीय ‘मिसेज लुम्बिनी प्रदेश–२०८१’ हुने
लुम्बिनी,१६ भदौ। रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा भैरहवामा प्रदेशस्तरीय “मिसेज लुम्बिनी प्रदेश–२०८१” कार्यक्रमको आयोजना हुने भएको छ । आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले यसबारे जानकारी दिएका छन् ।
क्लबको पब्लिक ईमेजअन्र्तगत पहिलो प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । क्लबका अध्यक्ष ओम जैसीका अनुसार महिला सशक्तिकरण गर्ने मुख्य उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । यससंगै छात्र शिक्षा र भैरहवामा आईसियु जडित एम्बुलेन्स खरिद गर्ने उद्देश्य कार्यक्रमले लिएको उनले बताए ।
कार्यक्रम संयोजक देवी गुरुङ्गले भाद्र १७ गतेबाट यसको लागि फारम खुल्ला गरिने बताइन । उनले भैरहवाको काशी सिनेप्लेक्समा रहेको सचिवालय वा खल्ती एपबाट फारम भर्न सकिने बताइन । यससंगै कार्तिक १ गतेदेखि १२ गतेसम्म अडिसन गर्ने र भैरहवा र दाङ्ग गरि दुई स्थानमा अडिसन गरिने उनले जानकारी दिइन । कार्तिक २३ गतेबाट क्लोज क्याम्प सुरु गरि मंसिरको १५ गते फाईनल गरिने उनले बताइन ।
प्रतियोगितामा प्रथम हुनेले आकर्षक क्राउनसहित नगद ५१ हजार, फर्स्ट रनर अफले क्राउन सहित नगद ३१ हजार र सेकेण्ड रनर अपले क्राउनसहित सहित नगद २१ हजार रुपैया प्राप्त गर्ने गुरुङ्गले जानकारी दिइन । २० वर्ष पुरा भएका लुम्बिनी प्रदेशका विवाहित जुनसुकै महिला पनि कार्यक्रममा भाग लिन पाउने छन् ।
सरीता रानाको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले शुभकामना मन्तब्य राखेकी थिईन ।