calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

संस्कृत विश्वविद्यालय ‘रस चुसिएको जेरी’

खेमराज रिजाल
बेलझुण्डी, १६ भदौ । नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राडा यादव लामिछानेले म्याद सकिनु केही दिन अघि जाने बेलामा भनेका थिए, ‘शक्तिका अगाडि न्याय मर्दो रहेछ, सायद अब विश्वविद्यालयको गरिमा जोगाउन कठिन हुने छ ।’ नेपाल संस्कृत विश्वविद्यालयलाई बाहिरकाले होइन त्यहीँकैले लुछ्नु लुछेका छन्, त्यो बिरुवाको हाँगाविगा मात्र होइन पात पनि रहने छैन ।

जतिबेला नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति नियुक्त भएर प्राध्यापक लामिछाने आएका थिए, रजिस्ट्रारमा नियुक्त भए माधव अधिकारी । सुरुआतीदेखि नै उपकुलपति र रजिस्ट्रारको अन्तरद्वन्द्व सुरु भयो । दुवै एमालेका शक्तिशाली पदाधिकारी थिए, एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने । रजिस्ट्रार तत्कालीन मुख्यमन्त्री तथा एमाले वर्तमान महासचिव शंकर पोख्रेलका भान्जा थिए भने उपकुलपति मुलुकभरका एमाले संबद्ध प्राध्यापक संगठनको नेतृत्व गरेका नेपाल प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष । त्यसो त प्राध्यापक लामिछाने हालका प्रधानमन्त्री केपी शर्मा वलीका नजिकका पात्र ।

यहीबिचमा कर्मचारी प्राध्यापक पनि यी दुई पदाधिकारी रजिस्ट्रार र उपकुलपतिको खेमामा भिन्न–भिन्न पक्षपोषणमा भए । कांग्रेसभित्रकै प्राध्यापक कर्मचारी पनि रजिस्ट्रार र उपकुलपतिका भिन्ना–भिन्नै खेमामा विभक्त थिए भने एमालेका प्राध्यापक, कर्मचारी र विद्यार्थी दुवैको फरक–फरक खेमामा थिए । यसले विश्वविद्यालयलाई पुनर्ताजगी बनाउनेभन्दा सिध्याउने खेलमा पदाधिकारीकै बढी संलग्नता देखियो । यसैले अहिले नेपाल संस्कृत विश्वविद्यालय रित्तिएको छ ।

नेपाल सस्कृत विश्वविद्यालय यस्तो संस्था हो जुन रस चुसिएको जेरी जस्तै छ । कति नमिठो हुन्छ, रस नभएको जेरी । हो जेरीको कुनै टुप्पो छैन, जेरीको फेद पनि छैन । ‘हरेक वर्ष विश्वविद्यालय अनुदान आयोगले यो जेरीमा करोडौँ रुपैयाँको आर्थिक रस भरिदिन्छ, त्यही रस चुस्न पदाधिकारी नामका भमरा लिप्त छन्’, दुधरासका समाजसेवी एवम् शिक्षासेवी व्यक्तित्व डिल्लीबहादुर डाँगीले गोरक्षलाई भने । उनकै भनाइमा दाङ जिल्ला संस्कृत शिक्षाका लागि पुण्यभूमि हो । यहाँ आउँदा कुइरेपानीबाटै संस्कृत र संस्कारका लागि शिर निहु¥याएर नमन गर्नु पर्दछ अनि अमिलियामाथिको भञ्ज्याङबाट दाङ झर्दा पनि त्यसरी नै निहुरिएर नमन गर्ने हुनु पर्छ तर डाँगीको यो आशा अहिले निराशामा परिणत भएको छ । उनको परिवार जस्तै सयौँ जग्गादाताका परिवार नेपाल संस्कृत विश्वविद्यालय यसरी लुछिएकोमा निराश छन् ।

नेपाल संस्कृत विश्वविद्यालयमा धेरै सङ्कायमा पढाइ हुन्थ्यो । आयुर्वेद चिकित्साको सुरुआतीमा कविराजको पढाइ हुन्थ्यो । त्यसपछि त्यही विधामा बिएएमएसको पढाइ अर्थात आयुर्वेद चिकित्साको स्नातक तहको पढाइ । अन्य संस्कृत विषयका विभिन्न सङ्कायहरू पनि तर पछिल्लो समयमा कविराजको पढाइ राज्यबाटै फेजआउट भइसकेको छ, विश्वविद्यालयमा । अन्य सङ्कायमा पनि विद्यार्थी रित्तिँदै गए । अहिले विद्यार्थी भएको भनिएकै केन्द्रीय आयुर्वेद विद्यपीठ हो । जहाँ आयुर्वेदको बिएएमएस पढाइ भइरहेको छ तर त्यो पढाइ पनि गुणस्तरहीन बन्न थालेको छ । किनकि बिएएमएस पढाइ सुरु भएको १० वर्षसम्म पनि नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थानको मातहतमा रहेको सो केन्द्रीय विद्यापीठमा विद्यार्थीको प्राक्टिसका लागि ओपिडी कक्षको व्यवस्थापन गरिएको छैन ।

एउटा मेडिकल कलेजले पढाइ सुरु गरेको १० वर्ष बित्न लाग्दा शिक्षण अस्पताल भवन बनाउन सकेको छैन । उपयुक्त प्रयोगशाला छैन । सायद आउँदो वर्ष नेपाल संस्कृत विश्वविद्यालयले शिक्षण अस्पताल नबनाएको भन्दै चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्नाको अनुमति दिन सक्ने छैन तर यो विषयमा कुनै पदाधिकारी गम्भीर छैनन् । हो, नेपाल संस्कृत विश्वविद्यालय यसरी नै लुछिएको छ, चुसिएको छ, तड्पाइ भोगिरहेको छ कि अब नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो गन्तव्य सबै भुल्दै छ । तालाबन्दी, तोडफोड, प्राचार्य बन्दी बनाउने तथा विद्यार्थीलाई प्रहरी बोलाएर कुटाउने थलो बनेको छ । नेपाल संस्कृत विश्वविद्यालय, अघिल्लो साता नेपाल संस्कृत विश्वविद्यालयमा यस्तै परिदृश्य देखियो, जुन दिनमा होइन करिब मध्यरातमा । वार्ताका नाममा विद्यार्थीबाट प्राचार्य र सहायक प्राचार्य कोठाभित्र बन्धक बनाइन्छन् अनि क्याम्पस प्रशासनले सुरक्षा निकाय गुहारेपछि जिल्ला प्रहरी कार्यालयबाट गएको सुरक्षा बलले विद्यार्थीमाथि निर्मम कुटपिट गरिदिन्छ ।

नेपाल संस्कृत विश्वविद्यालयको यो हविगतलाई सुल्झाउन जिल्ला प्रशासनमा सर्वदलीय÷सर्वपक्षीय छलफल पनि भयो तर अब आइन्दा सबैले विश्वविद्यालयलाई राम्रो बाटोमा लैजाने भन्दै छलफल टुङ्गिन्छ । वार्ता किन मध्यरातसम्म चलिरह्यो भन्ने प्रश्नको जवाफ कसैले दिँदैनन् अनि विद्यार्थी किन कुटाइए भन्ने प्रश्नको जवाफ पनि कसैसँग छैन ।

आहा … !, जेरी विश्वविद्यालय । एउटा बिएएमएस कक्षा चलाउन नसक्ने नेपाल संस्कृत विद्यालयका यिनै वहालवाला पदाधिकारीले कुनै बेला नेपाल संस्कृत विश्वविद्यालयमा वैदिक कृषिको पढाइ सुरु गर्ने प्रपञ्च रचे, पछिल्लो समयमा फेरि वास्तु इञ्जिनियरिङको पढाइ सुरु गर्ने भनेर डिन समेत नियुक्त गरियो । बिएएमएसका लागि एकीकृत अस्पताल निर्माण गर्ने भनेर सो अस्पतालको जगको पनि शिलान्यास गरियो तर ती सवै अहिले गुमनाम छन् । कहीँकतै कसैको पनि तयारीले निरन्तरता पाउन सकेको छैन ।

यस्तो हविगत भएको छ कि नेपाल संस्कृत विश्वविद्यालयमा, आफ्नो स्वामित्वमा रहेको करिब तेह्र सय बिगाह बढी जग्गा अतिक्रमणको चपेटोमा परेको छ । जग्गा प्राप्तिका प्रयास पदाधिकारीको काबुभन्दा बाहिर छ, किनकि जग्गा कब्जामा ठुला राजनीतिक दलका नेता संलग्न छन् । यही विषयलाई लिएर यहाँबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदले तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे । त्यसको केही दिनपछि प्रधानमन्त्री दाहालले जग्गा प्राप्ति उच्चस्तरीय समिति बनाइदिएको उद्घोष गरे तर त्यो समिति अझै बेलझुण्डी आइपुगेको छैन । खोई जग्गा प्राप्ति उच्चस्तरीय समिति ? आम जिल्लाबासीको यो प्रश्नको उत्तर विश्वविद्यालय पदाधिकारीसँग छैन ।

हरेक पटकका तालाबन्दीमा ताला लगाइएको ढोकामा उल्लेख गरिएका माग एकथरि हुन्छन् तर वार्ता अर्कै प्रसङ्गमा हुन्छन् । जस्तो कि अस्थायी जागिर, करार सेवाको जागिर तथा प्रमोसनका लागि बार्गेनिङ । यो गुप्त कुरा सधैँ दुवै पक्षबाट गुमनाम गराइन्छ । ‘मागपत्र त हात्तीका देखाउने दाँत मात्र हुन्, प्रसङ्ग फरक हुन्छ’, विश्वविद्यालयकै एक कर्मचारीले भने, ‘हामीलाई समेत त्यसबारे खासै जानकारी हुँदैन ।’

नेपाल संस्कृत विश्वविद्यालयलाई जोगाइराख्न जग्गादाताको रोदन चलिरहन्छ तर भागबण्डामा आउने पदाधिकारीले यसलाई चासोका रूपमा हेर्दैनन् । यसरी नै विश्वविद्यालयलाई चुसिँदै, लुटिँदै जाने हो भने कुनै दिन नेपाल संस्कृत विश्वविद्यालयको सम्पूर्ण दाताले दिएको जग्गाजमिन भूमिहीनका नाममा माफियाको कब्जामा रहने छ । बाँकी रहने छन त केवल रत्न उद्यान, वीपी बाटिका र पुष्प बाटिका नामका चौरका केही भाग अनि थोत्रा भवन मात्र । जग्गादाता निराश र खिन्न छन् । जनप्रतिनिधिले वास्तै नगर्ने, स्थानीय सरकारले ध्यानै नदिने, प्रहरी प्रशासनले वास्तै नगर्ने हो भने कुनै दिन यस्तो आउने छ, नेपाल संस्कृत विश्वविद्यालय पनि सक्राम ब्यारेक जस्तै हुने छ । त्यही बेला विश्वविद्यालय अनुदान आयोगले पनि पैसा लगानी गर्न सक्ने छैन, त्यो रस चुसिएको जेरीमा …।