द्वन्द्वपीडितलाई न्याय दिने बाटो खुलेको छ : पूर्व मन्त्री शर्मा
गोरक्ष समाचारदाता
दाङ, १६ भदौ । पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै सशस्त्र द्वन्द्वका क्रममा पीडित बनेका परिवारलाई न्याय दिने बाटो खुलेको बताएकी छन् ।
प्रेस सेन्टर दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्थायी कमिटी सदस्य शर्माले लामो समयपछि राजनीतिक दलबिच भएको सहमति अनुसार विधेयक पास भएसँगै १२ बुँदे सहमतिले टुङ्गो पाउने र देश समृद्धिको यात्रमा अघि बढ्ने बताइन् । विधेयक पारितसँगै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्ने बाटो खुलेको भन्दै यसले द्वन्द्वका क्रममा पीडित बनेका परिवारलाई न्याय दिने बताइन् ।
पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री समेत रहेकी शर्माले भनिन्, ‘राजनीतिक दलबिच कुरा नमिल्दा लामो समयसम्म सङ्क्रमणकालीन न्यायको कामले टुङ्गो पाउन सकेको थिएन तर अब विधेयक पास भएसँगै बाँकी काम टुङ्गो लाग्ने छ ।’ मन्त्री शर्माले आफ्नो पार्टीको नेतृत्वको सरकारले सुशासन र समृद्धिका लागि महत्वपूर्ण काम गरेको भन्दै यसलाई जनताले मूल्याङ्कन गरेको बताइन् । देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि भ्रष्टाचार, अनियमितताका ठुला फाइल खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको बताइन् ।
माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालयले अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेको भन्दै उनले भनिन्, ‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर १० वर्षमा १० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहमा देशलाई पु¥याएका छौँ । भुटानी शरणार्थी, ललिता निवास, सुन काण्डलगायतका ठुला फाइल खोल्दै दोषीलाई पक्राउ गरेर जनतालाई सुशासनको प्रत्याभूति दिलाउने कामको सुरुवात गरेका छौँ ।’ यसैगरी घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधिको दशक भनेर घोषणासम्मको अवस्थामा पु¥याउने काम आफ्नो नेतृत्वमा भएको भन्दै मन्त्री शर्माले जनताले बुझ्ने बताइन् ।
दाङ निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले दाङको विकासका लागि घोराही–तुलसीपुर चारलेन सडक, तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार, अन्तर जिल्ला जोड्ने घोराही–मुर्कुटी–प्युठान सडक, घोराही–होलेरी सडक र राप्ती राजमार्गसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कक्षा सञ्चालनका लागि बजेट विनियोजनसँगै आवश्यक तयारीको काम अघि बढाएको बताइन् ।
जिल्लाको विकासका लागि महत्वपूर्ण मानिएका यी काम हुन सके भने जिल्लाको विकासले फड्को मार्ने भन्दै उनले त्यसका लागि दलबिच एकता आवश्यक रहेको बताएकी थिइन् । जनताबाट निर्वाचित हुँदा आफूले सकेजति राम्रो गर्ने छु र नराम्रो गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारमा रहँदा वा बाहिर रहँदा जिल्लाको विकासका लागि पहल गरिरहने उनको भनाइ थियो ।
विकासका लागि राजनीतिक दलबिच साझा एजेण्डा आवश्यक रहेको भन्दै उनले भनिन्, ‘निर्वाचनका क्रममा प्रतिस्पर्धा गरे पनि अहिले विकासका काम अघि बढाउन दलबिच साझ एजेण्डा बनाउन आवश्यक छ । त्यही अनुसार हामी जनप्रतिनिधिसँगै जिल्लाको नेतृत्व गर्ने नेताबिच समय–समयमा छलफल समेत गर्ने गरेका छौँ ।’ प्रेस सेन्टर दाङका कार्यवाहक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव जनक नेपालीले गरेका थिए । कार्यक्रममा सहभागीलाई कार्यालय सचिव गिरिराज नेपालीले स्वागत गरेका थिए ।