घोराही,१६ भदौ । तिजको मौलिकता संरक्षण गर्दै पर्व मनाउनु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला पतञ्जली योग समिति दाङले शनिवार घोराहीमा आयोजना गरेको तिजमिलन कार्यक्रमका सहभागीले तिज पर्वका नाममा विकृतिलाई प्रश्रय दिने खालका कार्यक्रम गर्न नहुने बताए ।
महिला पतञ्जली योग समिति दाङका अध्यक्ष सहाना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवम् सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताले तिज पर्वको शुभकामना दिदै योगले सबै मानिसलाई निरोगी बनाउने भएकाले योगमा ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख हुमा डिसीले तिजलाई दिदीबहिनीको भेटघाटसँगै मौलिकता संरक्षणमा ध्यान दिनु पर्ने बताएकी थिइन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाले सभ्य र भव्य रूपमा मनाउन आग्रह गर्दै तिज पर्व पहिलेको भन्दा अहिलेको अवस्था फरक भएकाले समय अनुसार बदलिए पनि आफ्ना मौलिकपनमा ध्यान दिन आग्रह गरेकी थिइन् । पतञ्जली योग समिति लुम्बिनी प्रदेशकी सहप्रभारी शारदा पोख्रेलले मौलिक गीत प्रस्तुत गर्दै शुभकामना व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै पतञ्जली योग समिति दाङका जिल्ला प्रभारी उदय डाँगीले योग साधनाको माध्यमबाट स्वास्थ्यसँगै सभ्य समाजका लागि जुट्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा आचार्यकुलम दाङका दीपक बस्याल, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, पतञ्जली योग नगर समितिका नगर प्रभारी तोयानाथ योगी, युवा प्रभारी केतनारायण आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । महिला पतञ्जली योग समिति दाङकी सहप्रभारी विष्णा भुसालले स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण यमा गौतमले गरेकी थिइन । कार्यक्रममा नृत्य प्रतियोगिता गरिएको थियो ।