संस्कृति संरक्षण र अधिकारको पर्व तीज

गोरक्ष समाचारदाता
दाङ, १६ भदौ । तिज पर्वलाई संस्कृति संरक्षण र अधिकारको पर्वका रूपमा मनाउनु पर्ने ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र शाखा कार्यालय घोराहीले आयोजना गरेको कार्यक्रमका सहभागीले बताएका छन् । सहभागीले देखासिकीका नाममा विकृतिजन्य क्रियाकलालाई प्रोत्साहन गर्न नहुने भन्दै हरेक सचेत नागरिकले तिजका सकारात्मक पक्षलाई आत्मसात गरेर पर्व मनाउनु पर्नेमा जोड दिएका हुन् ।

तिजका नाममा चर्चा र पैसा कमाउने नाममा विकृतिजन्य गीत आएको भन्दै त्यस्ता गीतलाई निरुत्साहित गर्नका लागि मौलिक गीतसङ्गीतलाई प्राथमिकता दिनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् । सबै सचेत महिलाले तिजका सकारात्मक पक्षलाई अँगाल्ने र पर्व मनाउन सके खराब विकृति विस्तारै कम हुँदै जाने बताएकी थिइन् ।

तिज पर्वका नाममा हुने खराब पक्षलाई सुधार गर्न हरेक सचेत नागरिकले आफैँबाट सुरुवात गर्नु पर्ने भन्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी पुनले भनिन्, ‘तपाईँ हामी सचेत भए मात्र धेरै विकृतजन्य क्रियाकलाप रोकिन्छन्, कार्यक्रममा तिज पर्वको आध्यामिक रहस्यमाथि बह्माकुमारी शाखा कार्यालय पाखापानीकी सञ्चालिका ब्रह्मकुमारी यमुना दिदीले प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान जिल्ला शाखा दाङकी उपाध्यक्ष बिमला खड्काले तीज गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण ब्रह्माकुमारी शाखा कार्यालय गढवाकी ब्रह्मकुमारीज गढवा सेवा केन्द्र सञ्चालिका ब्रह्मकुमारी यशोदा बहिनीले गरेकी थिइन् ।

दंगीशरण १मा तिज मिलन

यसैबिच दंगीशरण गाउँपलिका वडा नम्बर १ ले हिन्दु महिला नारीहरूको चाड तिज पर्व र थारू जातिको पर्व अट्वारीको अवसर पारी तिजमिलन कार्यक्रम सम्पन्न गरेको छ । दंगीशरण गाउँपलिका वडा न १ को आयोजना, दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग, पतञ्जली योग समिति दंगीशरण र समृद्ध समाज दंगीशरणको सहजीकरणमा तिजमिलन कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं. १ का वडाध्यक्ष रमेश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा तिजमिलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले संस्कार र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । आफू निर्वाचित भएर आएपछि निरन्तर माघि महोत्सव, तिजमिलन जस्ता कार्यक्रम गर्दै आएको उनले बताए ।

हरेक जातजातिलाई सम्मान गर्दै भौतिक पूर्वाधार र मानवीय विकासलाई सँगसँगै अगाडि बढाएको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तिजको नाममा हुने विकृति, बिसङ्गतिको अन्त्य गर्नु पर्ने बताइन् । अब राज्यको हरेको क्षेत्रमा महिलालाई प्राथमिकता हुनु पर्ने उनको भनाइ थियो । थारू जातिको अट्वारी पर्वा र महिलाहरूको चाड हरितालिका तिजको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा मौलिक मादल, बाँसुरीमा पुराना तिजका भाकामा नृत्य प्रस्तुत गरिएको थियो ।