टेकबहादुर पुन
दाङ, १३ भदौ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले विभिन्न योजना सहित ‘सद्भाव राप्ती’को सङ्कल्प लिएको छ । लुम्बिनी प्रदेशको मध्यराप्ती जलाधार एवम् तराई भूपरिधि क्षेत्रमा पारिस्थितिक प्रणालीको सुधार एवम् पुनःउत्थान गर्ने गरी योजना बनेको छ । खास गरी जैविक विविधता संरक्षण गर्दै मानव वन्यजन्तुबिच द्वन्द्व न्यूनीकरण गर्ने र उद्यमको विकास गरी वैकल्पिक आयस्रोत बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका कार्यकारी निर्देशक प्रदीप मजगैयाँले बताए ।
‘सद्भाव राप्ती’ अन्तर्गत लमहीमा पहिलो चरणको कार्यक्रम गरी मानव कल्याणले परियोजनाको जानकारी तथा सचेतना कार्यक्रम गरेको छ । मानव कल्याणले परियोजना अन्तर्गत स्थानीय तहको नीति निर्माणमा सहयोग, जलचर तथा मिचाह प्रजातिको संरक्षण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी सचेतना, माछा सङ्कलन केन्द्र स्थापना र उद्यमको अवसरको सिर्जना, होमस्टे व्यवस्थापन तालिम, टोकरी बुनाइ तालिम, बहुसरोकारवाला तालिमलगायतका थुप्रै क्षेत्रमा काम गर्ने गरी सङ्कल्प लिएको छ । दाङका गढवा, राप्ती, लमही र राजपुरमा उक्त परियोजनाको कार्यान्वयन हुने छ ।
युएसएआइडीको ४६ हजार आठ सय ५५ अमेरेकी डलरमा उक्त परियोजना सम्पन्न गरिने छ । जसका कारण समग्रमा मानिसलाई उद्यममा जोडिनुका साथै जीवजन्तुको संरक्षणमा ठुलो टेवा पुग्ने छ । मानव कल्याण दाङले लमहीमा एक कार्यक्रमको आयोजना गरी परियोजनाबारे जानकारी गराएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य सांसद लोका विकले आयआर्जनका लागि सिकाइलाई स्थान दिएकोप्रति खुसी व्यक्त गरिन् । मानिस अवसरको खोजीमा रहेका बेला यस्तो परियोजनाले सजिलै अवसर प्रदान गर्ने भएकाले यो कार्यक्रमलाई सफल बनाउन सबै लाग्नु पर्ने बताइन् । प्रत्यक्ष जनता र जीवजन्तुसँग जोडिएका यस्ता महत्वपूर्ण कार्यक्रमलाई सरकारले विशेष चासोका रूपमा हेरिनु पर्ने बताइन् ।
कार्यक्रममा मानव कल्याण दाङका टिम संयोजक भाष्कर भट्टराई, संस्थाका सल्लाहकार कमल गौतम, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसाल, डिभिजन वन कार्यालय देउखुरीका बरिष्ठ वन अधिकृत छोटेलाल चौधरी, वन तथा वातावरण मन्त्रालय लुम्बिनीका सचिव धनेश्वर नेपाली, राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीलगायतले बोलेका थिए । कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी, वनसँग सम्बन्धित संस्थाका पदाधिकारी, माछा संरक्षण समूहलगायतेको सहभागिता रहेको थियो । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो । संस्थाका कोषाध्यक्ष माय पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सरस्वती सुवेदीले गरेकी थिइन् ।