तुलसीपुर नगर जेसीजको अन्तरक्रिया

गोरक्ष समाचारदाता
तुलसीपुर, १३ भदौ । तुलसीपुर नगर जेसीजको आयोजनामा ‘सामाजिक सञ्जालको प्रयोगले युवामा पारेको प्रभाव’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । तुलसीपुर नगर जेसीजका अध्यक्ष पूर्णबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले सामाजिक सञ्जालको दुरुपयोग भए सामाजिक अपराध बढ्न सक्ने बताउँदै अहिलेको पुस्तामा सामाजिक अपराधतिर उन्मुख हुने खालका गतिविधि बढेको बताए । ‘सामाजिक विकृतिले मानव जीवनलाई स्वस्थ, योग्य र दक्ष मानव बनाउँदैन, हामीले ठिक समयमा ठिक कुरा बुझ्न सकेनौँ वा समाजमा विकसित रूपमा अगाडि बढेको आपराधिक क्रियाकलापलाई हामीले रोकेनौँ भने हाम्रो पुस्ता खतरामा पर्छ’, खड्काले भने । सामाजिक सञ्जालमा अरूको फोटो वा नकारात्मक कुरालाई प्रयोग गर्ने, फेक अकाउन्टबाट अनेक खालका उच्छृङ्खल क्रियाकलापले सामाजिक अपराध जन्माइराखेको उनको भनाइ थियो । बालबालिकाको हातमा मोबाइल दिन नहुने र माथिल्लो पुस्ताले पनि अध्ययन, अनुसन्धान, शैक्षिक सामग्रीको रूपमा मोबाइललाई सदुपयोग गर्नु पर्ने खड्काको भनाइ थियो ।

प्रविधिको दुरुपयोगबाट युवापुस्ता जोगिन सकेन भने यो पुस्तालाई बर्बादीबाट कसैले पनि रोक्न नसक्ने र अभिभावक, शिक्षक, विद्यार्थीले सामाजिक सञ्जालमा गर्नु पर्ने के हो भन्ने दायित्वबाट अगाडि बढेपछि मात्र आजको पुस्तालाई सामाजिक सञ्जालको प्रभावबाट हुने नकारात्मक प्रभावबाट जोगाउन सकिने सहभागीले बताएका थिए । कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेल, बरिष्ठ अधिवक्ता डिल्लीराज धिताललगायतले प्रविधिलाई ज्ञान आर्जन गर्ने, अध्ययन, खोज अनुसन्धान गर्ने र आवश्यक काममा सदुपयोग गर्न सकियो भने आपराधिक क्रियाालपबाट बच्न सकिने बताएका थिए ।

तुलसीपुर नगर जेसीजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मधुसूदन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रममा निवर्तमान अध्यक्ष शालिकराम वली, जेसीज पूर्व अध्यक्ष मेघराज घिमिरेलगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थीहरूको जिज्ञासाको जवाफ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुर प्रसाद पोख्रेलले दिएका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसीजका महासचिव कमलप्रसाद शर्माले गरेका थिए ।