उत्पादनमूलक क्षेत्र प्राथमिकता : मन्त्री न्यौपाने

जिल्लास्तरीय वार्षिक समीक्षा
अमरराज आचार्य
दाङ, ७ भदौ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिएर योजना बनाउनु पर्ने बताएका छन् । जिल्ला समन्वय समिति दाङले आयोजना गरेको आर्थिक वर्ष २०८०÷०८१ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् ।

स्थानीय तह तथा सरकारका अन्य कार्यालयले उत्पादनमूलक योजनालाई प्राथमिकता दिएर काम गर्न आग्रह गरेका छन् । उत्पादनमूलक काममा लगानी गरे रोजगारी सिर्जना हुने मन्त्री न्यौपानेले बताए । अहिले उत्पादनमूलक योजना नहुँदा बेरोजगारी बढेको उनको भनाइ थियो । यही बेरोजगारीका कारण अधिकांश युवा जमात बिदेसिने गरेको उनले बताए । ‘बेरोजगारीका कारण धेरै युवा बिदेसिने गरेका छन्’, उनले भने, ‘अब युवालाई स्वदेशमै रोक्न रोजगार सिर्जना हुने खालका योजना बनाएर कार्यान्वयन हुन जरुरी छ ।’ युवालाई स्वदेशमा रोक्नका सबैले आ–आप्mनो जिम्मेवारी निर्वाह गर्नु पर्ने मन्त्री न्यौपानेले बताए ।

उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न उद्योगी तथा वयवसायीलाई प्रोत्साहनमूलक योजना बनाउनु पर्ने उनको भनाइ थियो । ‘उद्योगीलाई प्रोत्साहन गर्न नसके कुनै पनि क्षेत्रमा लगानी हुँदैन, जहाँ लगानी हुँदैन त्यहाँ रोजगारको कल्पना गर्न सकिँदैन’, मन्त्री न्यौपानेले भने । यसैगरी मन्त्री न्यौपानेले नागरिकको चाहना अनुरूप सिप सिकाएर आत्मनिर्भर बनाउने कुरामा जोड दिए । ‘नागरिकको रुचि अनुसार राज्यको तर्फबाट तालिमको व्यवस्था गरेर नागरिक आत्मनिर्भरको योजना अगाडि सार्नु पर्छ’, उनले भने, ‘नागरिकको रुचिभन्दा फरक खालका तालिम सञ्चालन गरे कम सहभागिता अुने अवस्था हुन्छ ।’

सरकारका तीनवटै तहबाट विकास निर्माणका योजना बनाउँदा नागरिर्क लाभान्वित हुने खालको हुनु पर्ने बताए । तीनवटै सरकारबिच सहकार्य भए विकास निर्माणका काम गर्न सहज हुने उनको अभिव्यक्ति थियो । वार्षिक रूपमा गरिने योजना समीक्षा प्रभावकारी बनाउन उनले आग्रह गरे । ‘वार्षिक समीक्षालाई कर्मकाण्डी मात्र बनाउन हुँदैन’, उनले भने, ‘समीक्षाबाट पहिचान गरिएको कमीकमजोरीलाई सच्याएर अगाडि बढ्न सक्नु पर्छ ।’ वर्ष दिनमा मात्र नभइ आवश्यकता अनुसार समीक्षा गरेर अगाडि बढ्न उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले विकासमैत्री कानुन नहुँदा काम गर्न समस्या हुने गरेको बताउँदै त्यस्ता खालका कानुन संशोधन गर्न आवश्यक रहेको बताए । माथिल्लो तहले तल्लो तहलाई अधिकार प्रत्याजोन गर्न नसक्दा समस्या भोग्नु परेको नगर प्रमुख चौधरीले बताए । ‘तल्लो तहलाई अधिकार दिए जिल्ला स्तरका काम गर्न सहज हुने देखिन्छ’, उनले भने, ‘अहिलेको अवस्था त्यस्तो नभएकाले काम ढिलो हुनुका साथै र झमेला बढी हुन्छ ।’

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नागरिकको चाहना अनुसार विकास निर्माणको काम हुन नसकेको बताए । ठूल्ठुला भवन निर्माण गर्नु, सडक कालोपत्रे गर्नुले मात्र विकास निर्माण नहुने उनले बताए । नागरिकको आवश्यकता पहिचान गरेर, आवश्यकता र नागरिकको चाहना अनुसार विकास निर्माणको काम गर्नु पर्ने उनको धारणा थियो । ‘१० वटा गाडी नगुड्ने सडकलाई १० मिटर बनाउने काम भइरहेको छ’, उनले भने, ‘आवश्यकता के हो, त्यसको पहिचान गरेर काम गर्न सक्नु पर्छ ।’ विकास गर्दा दिगो र रोजगारमूलक हुनु पर्ने उनले बताए । वार्षिक समीक्षाले आउँदो आर्थिक वर्षकाका लागि बलियो रणनीति बनाउन सहयोग पुग्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले वार्षिक समीक्षा कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित राख्न नहुने भन्दै गम्भीर समीक्षा गरेर काम गर्नु पर्ने उनले बताए । अन्तर सरकारी समन्वय गर्न जिल्ला समन्वय समितिले भूमिका खेलिरहेको बताउँदै उनले जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताए । यसैगरी नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले भौतिक विकास मात्र नभइ मानवीय विकासमा ध्यान दिनु पर्ने बताए । यसका लागि सम्बन्धित निकायले सम्बन्धित क्षेत्रको आवश्यकता र रोजगारमूलक योजना बनाएर काम गर्न सुझाए । ‘भौतिक प्रगति, वित्तीय प्रगतिसँगै नागरिकको आर्थिक वृद्धि हासिल हुन सकेको छ कि छैन भनेर खोजी गर्न आवश्यक छ’, उनले भने ।

कार्यक्रममा राजपुर गाउपालिका उपाध्यक्ष धनपती यादव, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीलगायतले भनाइ राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको थियो । समन्वय समितिका उपप्रमुख चेतना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समन्वय समितिका नासु बिमला पाण्डेले गरेकी थिइन् । समीक्षा कार्यक्रममा जिल्लाका २२ वटा कार्यालयले आफूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।