श्रवणकुमार यादव
देउखुरी, ७ भदौ । हरेक दिन बिहान देउखुरी स्थित लमही बजारमा तरकारी बिक्री गर्ने र किन्नेको चहलपहल देखिन्छ । लमही बजार आसपासका गाउँबाट तरकारी बिक्री गर्न आउने किसान र तरकारी खरिद गर्न जानेहरूका कारण लमही बजारका चोक–चोकमा चहपहल हुने गरेको छ ।
लमही नगरपालिका अन्तर्गत रहेका सोनपुर, केरुनिया, मजगाउँ, घुम्ना, सेमरहवा, बुटकहवा, कोलहीलगायतका गाउँबाट महिलाहरू तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्छन् । देउखुरी क्षेत्रका अधिकांश थारू समुदायका मानिसको आयआर्जनको स्रोत कृषि नै हो । कृषि पेसामा संलग्न परिवारका प्रायः थारू महिला तरकारी बेचेर परिवार धानिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुःखराजी चौधरी तरकारी बिक्रीका लागि लमही बजार आउने गरेकी छिन् । सिजनमा तरकारीको भारी बोकेर लमही बजार नपुगेको कुनै दिन छैन ।
बारीमा फलेका तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ५ बजे नै गाउँबाट निस्किन्छिन् । वर्षामा पानी र हिउँदमा चिसोसँग छिचोल्दै पाँच किलोमिटरको बाटो पार गरेर लमही बजार पुग्दासम्म खाना पकाउने बेला भइसकेको हुन्छ । त्यही मौका छोपेर बजारका टोल–टोल घुमेर तरकारी बिक्री गर्छिन् । तरकारी बिक्रीबाट भएको आम्दानीले बजारबाट घरका लागि आवश्यक सामग्री खरिद गर्छिन् र घर फर्कन्छिन् । यसरी नै दुखराजीको दैनिकी चलेको छ । दिनहु लमही बजारका घरघरको दैलो टेकेर तरकारी बेच्दा दुःख भए पनि घरव्यवहार चलाउन बाध्यता रहेको भन्दै उनी भन्छिन्, ‘घरको दैनिकी चलाउने बाटो नै यही तरकारी हो, त्यसैले तरकारी बिक्रीका लागि लमही जान्छौँ ।’
उनी जस्तै लमही नगरपालिका–३ मजगाउँ निवासी ५३ वर्षीया कैलाशपती चौधरी पनि तरकारी बेच्न लमहीसम्म पुग्छिन् । तरकारी बिक्रीका लागि दिनहु लमही आउने उनलाई घाम, पानी र चिसोको प्रवाह हुँदैन । तरकारी बिक्री गरेर जीविकोपार्जन गर्दै आएकी उनी भन्छिन्, ‘तरकारी बिक्री गरेर घरखर्च जुटाउनु पर्छ, टाढा भए पनि तरकारी बेच्न सधैँ लमही आउँछु ।’ दुःखराजी र कैलाशपती प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै लमही बजार आसपासका गाउँबाट दिनहु धेरै महिला तरकारी बिक्रीका लागि लमहीसम्म पैदल आउँछन् । सिजन अनुसार उत्पादन भएका तरकारी लिएर दुई÷चार पैसाको आशमा ती महिला लमहीसम्म आउने गरेका छन् । ती महिलाले दैनिक दुई सयदेखि दुई हजार रुपैयाँसम्मको तरकारी बिक्री गर्ने गरेको बताउँछन् ।
तरकारी बिक्रीका लागि बजारसम्म आउने किसानका लागि लमहीमा व्यवस्थित ठाउँ भने छैन । जसका कारण कतिपयले सडकको छेउमै बसेर त कसैले घरघर डुलाएर तरकारी बिक्री गर्ने गरेको कैलाशपती बताउँछिन् । ‘तरकारी बिक्री गर्ने निश्चित र व्यवस्थित ठाउँ भए हामी त्यही ठाउँमा बसेर तरकारी बिक्री गर्ने थियौँ’, कैलाशपती भन्छिन्, ‘घरघर डुलाएर तरकारी बेच्ने दुःख पनि उने थिएन ।’
बजारमा डुलाएर तरकारी बेच्दा राम्रो मूल्य पाइने भए पनि तरकारी मण्डीमै लगेर एकमुष्ठ बेच्दा दुःख पनि कम र आम्दानी पनि हुने गरेको मजगाउँ निवासी शारदाकुमारी चौधरी बताउँछिन् । मण्डीमा तरकारीको मूल्य नमिलेको खण्डमा भने घरघर डुलाएर बेच्ने गरेको उनी बताउँछिन् । तरकारी बिक्री गरेरै धेरै जसोको घरव्यवहार चल्ने गरेको उनले बताइन् । तरकारी बिक्रीबाटै परिवारको दैनिक घरखर्च, छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी केरुनिया निवासी पारसमानी चौधरीले लमहीमा तरकारी बिक्री गर्ने निश्चित र व्यवस्थित ठाउँ बनाइदिए आफूहरूलाई सहज हुने बताइन् ।
‘घरबाट बजारसम्म आउँदा कहिले पानी परिरहेको हुन्छ, जाडो मौसममा जाडो हुन्छ’, पारसमानीले भनिन्, ‘तरकारी बेच्ने राम्रो ठाउँ भए त एकै ठाउँमा बसेर बेच्न पाइन्थ्यो, तरकारी बोकेको शरीरलाई आराम पनि हुन्थ्यो ।’ घरमा ६ कठ्ठा खेतबारीमा तरकारी खेती गरेको भन्दै उनले उत्पादन भएको तरकारी आफैँ बजारसम्म लगेर बिक्री गर्दै आएको बताउँछिन् । यसरी तरकारी बिक्री गर्दा राम्रो आम्दानी भए पनि तरकारी बिक्री गर्ने स्थायी ठाउँ नहुँदा भने समस्या हुने गरेको उनी बताउँछिन् ।