केन्द्रीय आयुर्वेद विद्यापिठ,वार्ताका नाममा क्याम्पस प्रमुख र निमित्तलाई बन्धक

नारायण खड्का
दाङ, ७ भदौ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीमा वार्ताका नाममा विद्यार्थी नेताले क्याम्पस प्रमुख र निमित्त क्याम्पस प्रमुखलाई बन्धक बनाएको खुलेको छ । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुका नेताले सुरुमा निमित्त क्याम्पस प्रमुख डा देवराज क्षेत्रीलाई बन्धक बनाएका हुन् । क्षेत्रीलाई निमित्त दिएर क्याम्पस प्रमुख प्राडा रामचन्द्र अधिकारी काठमाडौं गएका थिए ।

यसबिचमा निमित्त क्याम्पस प्रमुख क्षेत्रीले क्याम्पस प्रमुख अधिकारीलाई दाङ आउन भनेपछि उनी आएका थिए । अनेरास्ववियुका नेताले क्याम्पस प्रमुख अधिकारी र निमित्त दिइएका क्षेत्रीलाई पनि बन्धक बनाएका थिए । दुवैलाई बन्धक बनाएको खबर प्रहरीले थाहा पाएपछि बुधवार राति उद्धार गरेको थियो ।

क्याम्पस प्रमुखसहितलाई बन्धक बनाएको खबर पाएपछि प्रहरीले बुधवार राति करिब १० बजे बल प्रयोग गरेको थियो । प्रहरीले लाठी चार्ज गर्दा केन्द्रीय आयुर्वेद विद्यापीठका स्ववियु सभापति हेमन्त बञ्जाडेसहित ६ जना घाइते भएका छन् । उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अनेरास्ववियुका जिल्ला सहसचिव नवराज जोशी, क्याम्पसका अनेरास्ववियु इकाइ अध्यक्ष रुपेश मिश्र, उपाध्यक्षद्वय खड्क चन्द र धनजित यादव र अनेरास्ववियु इकाइ सदस्य दामोदर भण्डारी घाइते छन् । उपाध्यक्ष यादवको दाहिने हात भाँचिएको छ । आफूहरूले राखेका मागबारे वार्ता चलिरहँदा घोराहीबाट आएको प्रहरी टोलीले लाठी चार्ज गरेको भन्दै भने, ‘हामी जम्मा ६ जना जति थियौँ तर प्रहरी २८ जना आएका थिए । उनीहरूले हामीमाथि एकाएक लाठी प्रहार गरे ।’

जिल्ला प्रहरी कार्यालय घोराहीबाट आएको प्रहरी निरीक्षक सुशील थापालगायतले आफूहरूमाथि लाठी चार्ज गरेको विद्यार्थी नेता यादवले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक रामबहादुर केसीले भने वार्ताका नाममा विद्यार्थी नेताले दुई दिनदेखि पदाधिकारीलाई बन्धक बनाएको खबर प्राप्त गरेपछि प्रहरीले उद्धार गरेको बताएका छन् । बाहिर निस्किन नदिएको भन्दै सहायता मागेपछि प्रहरीले राति पुगेर उद्धारका गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् ।

‘उद्धार गर्न सिडिओ सावलगायतलाई आग्रह गरिरहेको समयमा पुगेको प्रहरीलाई समेत प्रवेश गर्न दिइएन, मध्यराति ढोका थुनेर वार्ता नगर्नुस्, बिहान गर्नुहोला भनेर सम्झाउँदा नमानेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो’, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक केसीले भने, ‘त्यही क्रममा आपसमा ठेलमठेल हुँदा प्रहरीले लाठी चार्ज गर्नु परेको र त्यसबाट केही विद्यार्थी समान्य घाइते हुन पुगेका भन्ने सुनिएको छ ।’ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जिल्लाको आदेशपछि आफू राति १० बजेतिर क्याम्पस पुगेको बताए । उनी क्याम्पस पुग्दा ८÷१० जना विद्यार्थी ढोका बाहिर थिए भने कोठाभित्र वार्ता भइरहेको अवस्था थियो ।

प्रहरी नायव उपरीक्षक पोख्रेलले धेरै पटक ढोका खोल्न आग्रह गर्दा पनि कसैले ढोका खोल्न नमानेपछि प्रहरीले ढोकाको चुकुल तोडेर क्याम्पस प्रमुख अधिकारी र क्षेत्रीलाई उद्धार गरिएको हो थियो । उनले भने, ‘मैले केही विषयमा असहमति भए भोलि बिहान वार्ता गर्नु, अहिले ढोका खोल्नुस् भन्दा पनि कसैले ढोका खोलेनन् । त्यसपछि प्रहरीले ढोकाको चुकुल तोडेर क्याम्पस प्रमुख अधिकारी र क्षेत्रीलाई उद्धार गरेको हो ।’

क्याम्पस प्रमुख अधिकारीका अनुसार हालै आयुर्वेद स्नातक अन्तर्गतको बिएएमएसको परीक्षाफल प्रकाशित भएको थियो । साथै गत फागुन २९ देखि क्याम्पस प्रमुख अधिकारीको कार्यकक्षमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गर्दै आएको छ । उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन् भने साँचो पनि आफैसँग राखेका छन् ।

कार्यकक्षको साँचो स्ववियु सचिव गणेश पौडेलसँग रहेको विद्यार्थीको भनाइ छ । पौडेल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हुन् । उनीमाथि नेपाल विद्यार्थी संघ विद्यापीठका बरिष्ठ उपसभापति शिवम् मिश्रमाथि निर्घात कुटपिटको आरोप छ । कुटपिटपछि पौडेल फरार रहेका छन् । पौडेलविरूद्ध प्रहरीमा मिश्रले किटानी जाहेरी दिएका छन् । यही विषयमा सातबुँदे माग राखेर स्ववियुले वार्ता गर्ने भनेपछि मङ्गलवार दिउँसो तीन बजेदेखि क्याम्पसमा निमित्त प्रमुख क्षेत्री र विद्यार्थी नेताबिच वार्ता सुरु भएको थियो तर विद्यार्थी नेताले निमित्त प्रमुखलाई रातभर त्यहीँ राखेका थिए ।

क्याम्पस प्रमुख अधिकारीका अनुसार निमित्त क्याम्पस प्रमुख क्षेत्रीले तारमतार विद्यार्थीले आफूलाई रातभर क्याम्पसमै बन्धक बनाइराखेको सूचना दिएका थिए । उनी त्यतिबेला क्षेत्रीलाई निमित्त दिएर काठमाडौं गएका थिए । क्षेत्रीले काठमाडौंबाट छिटो फर्किन ताकेता गरेका थिए । ‘निमित्त क्याम्पस प्रमुखको त्यही सूचनाका आधारमा बुधवार बिहानै म जहाजमा आएको थिएँ’, क्याम्पस प्रमुख अधिकारीले भने, ‘म अपराह्न तीन बजेतिर क्याम्पस पुग्दा पनि निमित्त क्याम्पस प्रमुख विद्यार्थी नेताहरूकै घेरामा हुनुहुन्थ्यो ।’

त्योभन्दा अघिल्लो दिन सोमवार विद्यार्थीले तोडफोड गरेका थिए । त्यस्तै संभावित तोडफोड हुन सक्ने ठानेर उनले यसबारे जिल्लाका सुरक्षा प्रमुखलाई जानकारी गराएका थिए । बुधवार दिउँसो क्याम्पस प्रमुख अधिकारी आइसकेपछि स्ववियु पदाधिकारीलगायत विद्यार्थी नेतासँग वार्ता अगाडि बढ्यो ।

क्याम्पस प्रमुख अधिकारीका अनुसार पटक–पटक भएको वार्ता सकारात्मक भएको थियो तर जब विद्यार्थी नेता केहीबेर बाहिर निस्किएर फर्किन्थे अनि फेरि कुरा मिलेन भन्ने गर्थे । ‘स्ववियुले राखेका सात वटा मागमध्ये सरस्वतीको मूर्ति बनाउनेलगायत पाँच वटा मागमा सहमति भइसकेको हुन्थ्यो’, क्याम्पस प्रमुख अधिकारीले भने, ‘तर विद्यार्थी नेता बाहिर गएर फर्किएपछि कुरा फेर्ने गर्दथे ।’ घटनापछि विद्यार्थी नेताले किन प्रहरी बोलाइस् भनेर धम्क्याउने गरेको क्याम्पस प्रमुख अधिकारीले बताएका छन् ।