मानवसेवा गर्दै गर्दा अर्को विपत नआओस्

लकडाउनका कारण पैदल यात्रा गर्दै घर फर्कंदै गरेका अधिकांश मजदुर र अन्य सर्वसाधारणहरुलाई दाङमा राम्रोसँग व्यवहार गरिएको छ । मानवीय नाताले गरिएका यी व्यवहारहरु प्रशंसायोग्य छन् । उनीहरुलाई खाना, खाजा खुवाउन तथा उनीहरुको गन्तव्यसम्म पुग्नका लागि सक्दो सहयोग पनि भइरहेको समाचारहरु आइरहेका छन् । यी समाचारहरुले दाङको पहिचान र दाङलाई हेर्ने दृष्टिकोणमा नै थप सकारात्मकता बृद्धि भएको छ । दाङको भालुवाङदेखि अमिलिया वा तुलसीपुर सबैतिर सामूहिक रुपमा उनीहरुलाई सत्कारका साथ सहयोग पु¥याइँदै आएको अवस्था छ । यति हुँदाहुँदै पनि सतर्क भने हुनुपर्दछ कि, यही क्रममा दाङमा कोरोनाको संक्रमण कतै प्रवेश गर्दछ कि भनेर ।

सहयोग गर्ने सबैका लागि धन्यवाद शब्दको जतिपटक प्रयोग गरेमा पनि कम हुन्छ । यो उद्धार हृदयको सम्मान समयले सधैँ गर्ने छ । तर यो क्रममा कसरी सुरक्षित हुने भन्ने बारेमा थप सचेतता अपनाउन जरुरी छ । नेपालमा संक्रमितको संख्या ४५ पुगिसकेको छ । सीमा खुला भएको देश भारतमा झनै भयावह अवस्था छ । लुकिछिपी सीमाना काटेर मानिसहरु आइरहेको खबरहरु आइरहेका छन् । यस्तो बेला दाङमा संक्रमण प्रवेश ग¥यो भने, त्यसले दाङमात्रै होइन उत्तरतर्फका पहाडी जिल्लाहरुसमेतलाई नराम्रोसँग गिजोल्ने छ । सेवाभाव प्रकट गरिरहँदा अलि प्रचार खोज्ने, भीडभाडमा देखिनेजस्ता प्रवृत्तिहरु पनि बढ्दो रुपमा देखिएका छन् । यसतर्फ सबै गम्भीर बन्नु पर्दछ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति नै निकालेर राहत हस्तान्तरणको क्रममा ३ जनाभन्दा बढी सहभागी नहुन सूचित गरिसकेको छ । तर, व्यवहारमा यसको सही ढङ्गले कार्यान्वयन हुन सकिरहेको छैन । यो कुरा महामारीको संक्रमणबाट जोगिन र जोगाउनका लागि हो भन्ने कुराको बुझाई हुन नसक्दा अझै पनि भीडभाड खोज्ने प्रवृत्ति निरुत्साहित हुन सकिरहेको छैन । विज्ञहरुले यस्तै प्रसङ्गहरुबाट कोरोना भाइरसले प्रवेशद्वार पाउनेतर्फ ध्यानाकर्षण गराई नै रहेका छन् । यसतर्फ कसैले पनि नजरअन्दाज गर्नु हुँदैन ।

हामीले गर्दै आएको मानवसेवा समग्र मानव जातिको कल्याणका लागि सहयोगी र प्रेरणादायी हुनु पर्दछ । यो क्रममा हामीले खेलिरहेको भूमिकामा हामी चुक्यौँ र भाइरस प्रवेशका लागि मार्ग बनाउन सहयोग बनिदियौँ भने अहिलेसम्म गरेको मानव सेवाको कुनै अर्थ रहने छैन र एउटा नराम्रो बित्यास निम्त्याउने पात्रका रुपमा हामी परिचित हुने छौँ । हाम्रा सबै क्रियाकलापको मूल्याङ्कन हुने छैन र भाइरस भिœयाउने पात्रका रुपमा सूचिकृत हुने छौँ । त्यसको प्रभाव जति धेरै पर्दै जान्छ हामी त्यति आलोचनाका शिकार बन्दै जाने छौँ । तसर्थ, हामी आफै पनि सतर्क हुन जरुरी छ र यो विषयमा स्थानीय सरकार तथा स्थानीय प्रशासनले सुरक्षित रुपमा अलपत्र परेका सर्वसाधारणहरुलाई सहयोग गर्नसक्ने परिस्थिति बनाइदिन सघाउनु पर्दछ । सबै मिलेर संक्रमण विरुद्ध लडौँ, मिलेरै जोगिने उपाय पनि खोजौँ ।