ब्रह्माकमार माधव तिमिल्सेना
युवा जागौ अव नसुतौ त्यसरी मुर्दा सरीको वनी । लागौ सत्पथमा त्यागेर ती कूलत मनोविकृति पनि ।।
कस्तो दुुर्गती हुन्छ † देख्यौ तिमीले बानी विगारी दियौ । ज्यानै लिन्छ विष बनेर मदिरा अमृत संझी पियौ ।
राजयोग्को वलले पवित्र मनले त्याग्नुछ दुव्र्यसन । अमूल्य यो जीवन् बचाउ अवता राखेर आफ्नो पन ।।
साधारण भाषामा बुझ्दा १६ बर्षदेखि ४० बर्षसम्मकालाई नेपाल सरकारले लामो समयको बहसपछि युवा घोषणा गरेको हो । संयुक्त राष्ट्रसंघले १५ बर्षदेखि २४ बर्ष उमेर समुहका ब्यक्तिलाई युवाको परिभाषा दिएको छ । उमेरको आधारमा हेर्ने हो भने भिन्न भिन्न देशले आ–आफ्नो परीभाषामा युवाको उमेर छुट्याएका छन् । विश्वमा नै युवा अधिकारको बारेमा चिन्तनको शुरुवात सन् १९३० को दशकमा देखा परेको विश्व आर्थिक मन्दिरबाट शुरु भएको पाइन्छ । विश्वलाई आर्थिक मन्दीबाट बचाउन युवाको जोश, जागर र प्रतिभाको भरपुर सदुपयोग गर्नुपर्ने आवश्यकता बोध हुन थालेपछि युवा अधिकार र अन्तरपुस्ता समन्वयको अवधारणाले मूर्त रुप लिएको हो ।संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९९ मा हरेक बर्ष अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउन गरेको निर्णयसँगै औपचारिक रूपमा सन् २००० देखि अगष्ट १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउन शुरु गरिएतापनी नेपालले २००४ देखि मात्र यो दिवस मनाउन शुरु गरेको हो ।
युवाकाल मानव जीवनको वसन्त हो । यो नैसर्गिक उपहार, उमेरको यस्तो अवस्था हरएकका आँखामा आफूतर्फ आकर्षित गर्ने क्षमता हुन्छ । वर्तमान समयमा युवा शक्तिको भूमिकामा विचार गर्दा संसार युवा मानव संशाधनबाट सम्पन्न छ । विशाल युवा शक्तिको धनी यो विश्वमा समस्याहरुको भार हट्नुको सट्टा बढेको स्थिति छ । आजका युवाको आन्तरिक अवस्था यस्तो भैसक्यो कि उ स्वप्न एवं कल्पनाहरुको मृगतृष्णामा अल्झिरहेको र वास्तविकताको विपरित परिणाम पाएर वेचैनी भएको साथैै समाज विरोधी नैतिकता विरोधी, विधि र कानून विरोधी कर्महरुको जन्म हुने श्रृखलामा आत्म हत्या र अन्य प्रकारका दुर्घटनाबाट अकाल मृत्यु हुनुमा सबैभन्दा अधिक संख्या युवाकोनै छ । युवावर्ग उचित मार्ग दर्शनको अभावमा स्वतन्त्र (स्वरुआत्मा, तन्त्ररुराज्यमाथि) राज्य गर्नुको वजाय उच्छृंखलताको नजिक गैरहेको छ । युवावस्थातर्फ बढ्दै गएको किशोरको मानसिक स्थिति आज कस्तो छ त ? स्वतन्त्रताको गलत अर्थ एवं मान्यजनहरुको विकृत कृयाकलापलाई नजिकबाट नियालिरहेको युवा एक निश्चित उमेर पश्चात घर परिवार समाज आदीको अंकुश एवं घेरावलाई तोड्न पुग्दछ । परन्तु आत्म–अनुशासनको अभावमा दुव्र्यसन, विषयबासना, कुदृष्टि, हिंसा, क्रोध, लोभ, इष्र्या, आलश्य, बदलाको भावना, हिनताबोध अहंकार जस्ता खराव आचरणले पहिला भन्दा अधिक परतन्त्र बनिरहेको हुन्छ । पुनःशान्ति र स्वतन्त्रतारुपी प्यास मृगमरिचिका जस्तो बन्दै जानुको परिणाम सही मार्गबाट अनभिज्ञ, परख शक्तिको अभावको कारण आजका युवा असामाजिक तत्वहरुको सहारा लिन पुग्दछन् । यद्यपि त्यस्तो कर्ममा रमाउने व्यक्ति कसैलाई सताएर तड्पाएर अन्याय एवं अपराध गरी कानुनी रुपमा बन्दी जीवनबाट बचे पनि अन्तर आत्माको लागि अपराधी तथा बन्दी बन्दै गएको हुन्छ । आत्मविश्वास समाप्त हुँदै गएपछि हरपल अन्तर मनले उसलाई धिक्कारी रहेको हुन्छ । अतः स्वतन्त्रताको सम्बन्ध उमेरसँग होइन दुव्यर्सन, विकार, कुसंस्कार, कुकर्म र कुदृष्टिको मुक्तिसँग रहेको छ ।
जीवनको सबैभन्दा सुन्दर समय युवाकाल मानिन्छ किनकी यो अवस्थामा उमंग उत्साह हुन्छ । युवाको शरीर र मनमा जोश, स्पूmर्ति, शक्ति हुनुको कारण नयाँ नयाँ कल्पनालाई साकार रुप दिन प्रयत्नशील रहन्छ । युवा नै विश्वको आधार स्तम्भ मानिन्छ । जसरी एउटा कोपीला बचपनको प्रतिक हो भने फक्रिएको फूल युवाकालको प्रतिक हो । युवा कालको आधारमा नै हरएक व्यक्तिको भविश्य र चरित्र निर्माण हुन्छ । समाजको प्रत्येक क्षेत्रमा युवा शक्तिको महत्वपूर्ण स्थान छ चाहे देशको रक्षाको चुनौती, चाहे नेता, चाहे अभिनेता, मजदुर किसान व्यापारीवर्ग, अध्यापकवर्ग आदीमा युवाको आफ्नै महत्व राख्दछ । जवसम्म आफ्नो मनको विचार शक्तिलाई रचनात्मक वा सकारात्मक बनाउँदैनौ तवसम्म हाम्रो विचारमा सबैको लागि कल्याणकारी भाव, आत्मीक भाव, स्नेहयुक्त भावमा रुपान्तरण हुन सक्दैन । जव युवा स्वयम्ले आफूलाई विश्वको आधार स्तम्भ सम्झिन्छन् त्यसपछि उनीहरुका हर कृति समाज जागृतीको निमित्त हुन्छ । दुषित विकारहरु, विकल्पहरु र विकृतिहरुबाट बच्नाले पुनः एक स्वच्छ एवं सुन्दर समाजको निर्माण संभव हुन्छ । स्वामी विवेकानन्द भन्छन् “बाहिरी जगत भलै मेरो नियन्त्रणमा छैन यद्यपि जो मेरो अधिकारमा छ, जो मेरो अधिक निकट छ, त्यो मेरो अधिकारमा छ । यदि मैले स्वयंमाथि सच्चा प्रभुत्व पाइसके भने कुनै पनि चोटले मलाई घायल पार्न सक्दैन” । हो बाहिरी व्यवस्था सुधार्नु भन्दा पहिला हामीले आफ्नै अन्तरजगतको व्यवस्था कति सुधार गर्यौ त? यो महत्वपूर्ण जीवनको यथार्थता हो । संसारमा फैलिँदै गएको अस्वच्छता, वेरोजगारी, गरिबी, जातिवाद, पक्षपातपूर्ण व्यवहारबाट खिन्न एवं अर्काको चरित्रहीनताप्रति रमाउने हे युवा एक पटक गहिरिएर सोच त आफैले आफैलाई सोधेर हेर मनलाई कति प्रतिशत विषय विकार, शारीरिक आकर्षण एवं कुदृष्टिबाट मुक्त गर्न सकेको छु ? वास्तवमा महान त्यही हो जो जीवनका अनेकौ चुनौतीहरुलाई स्वीकारेर कल्याणकारी अवसरमा परिवर्तन गर्न सक्दछ । विपरित वातावरणमा पनि आन्तरिक शक्तिलाई स्थिर राख्न सक्नु नै गौरव भन्नुपर्छ । चुनौतीलाई प्रगति पथमा स्वभाविक मानेर चल्ने आत्माले पक्ष विपक्ष हानी लाभमा समस्थिति धारण गर्न सक्दछ ।
युवा सुन्दर संसारका धरोहर हुन । देश शृंगार्ने मूल्यवान रत्नहरु हुन, समाज परिवर्तनका बाहकहरु हुन । यति मात्र होइन राजनैतिक चेतनाका संवाहकहरु एवं आर्थिक प्रगतीका उज्वल दीपकहरु हुन । जहाँ युवाको सबल उपस्थिति हुँदैन त्यस मुलुकले नयाँ नयाँ बैज्ञानिक आविष्कारहरुलाई आत्मसात गर्न सक्दैन । राष्ट्रिय अस्मिता हराउने मात्र नभई युवा विनाको देश अपांग हुन्छ । विडम्बना ! यस्तो शक्तिपुञ्ज आज कतातिर गइरहेको छ एकछिन चीसो दिमागले सोचौँ त ? यस्तो शक्तिले विपरित प्रवाह लिनुको पछाडी युवालाई दोषी बनाउनु बहादुरी होइन बरु सही मार्गदर्शन, शिक्षामा मूल्य एवं आध्यात्मिकताको अभाव, सामाजिक समुचित न्याय र प्रोत्साहनको कमी, आवश्यक प्रेम, वात्सल्यता, देशप्रतिको सम्मान, प्रेरणा प्रदान हुन नसक्नु मुख्य कारक तत्व हुन । युवा शक्ति दिशाविहीन भई आफ्नो जीवन क्षमता र शक्तिलाई कम महत्व दिदै साना तिना कार्यमा समय स्वास र शक्ति खर्चिरहेका छन् । अल्मलाउने, वहलाउने, अल्झाउने र पथभ्रष्ट गर्ने संयन्त्रहरु वर्तमान समाजमा व्याप्त छन् । पाश्चात्य जीवनशैलीले युवाको मानस पटलमा गहिरो छाप परिसकेको छ फलस्वरुप आजको समाजले युवाशक्तिबाट आशा, भरोषा सकारात्मक पथ अनुसरण गर्न नसकेको भन्दा अन्यथा नहोला । महात्मा बुद्धले भन्नु भयो– “जीवन अस्थायी हो, त्यसैले यो सधैँभरि रहँदैन । तर त्यो क्षण क्षणिक होइन, यो सँधै ईतिहासको पानामा लेखिनेछ ।” त्यसकारण युवाशक्तिले कसरी त्यस क्षणमा जीवन बिताउने, प्रत्येक क्षणलाई कसरी उत्तम भन्दा उत्तम बनाउने ? साथै सही दिशा दिने, प्रगतिको चरम सीमामा पुग्ने र यसलाई सदाको लागि स्थायी बनाउने भन्नेतर्फ अगाडि बढ्नुपर्ने देखिन्छ आज हामी सबैले हेरिरहेका छौं, सबैजनाको दिमाग एकदमै कमजोर भएको छ, जुन छिट्टै लत र फोहोरी कृयाकलापमा आकर्षित हुन्छ । तसर्थ, दिमागलाई उचित निर्देश गरेर बलियो पार्नुछ । दिमागको प्रवृत्ति अस्थिर छ यदि दिमागमा सहीकुरा सेट गरिएको छैन भने कुनै पनि बेला विचलनको शिकार भइन्छ जसले हाम्रो जीवनलाई धेरै प्रकारका समस्याहरुबाट उठ्नै नसक्ने गरी रसातलमा पु¥याइदिन्छ । युवा भनेको ’उर्जा’ हो । यदि ऊर्जा सही दिशामा वा सकारात्मक दिशामा प्रयोग गरिएमा यो निश्चित रूपमा प्रगतिको रूपमा परिणत हुनेछ तर यदि यसलाई नकारात्मक दिशामा प्रयोग गरियो भने यसले पक्कै पतनको कारण निम्त्याँउने छ । युवावस्था दिउँसो सूर्य जत्तिकै उज्यालो छ र ऊर्जाले भरिपूर्ण छ । त्यसैले युवाहरूले यस उर्जालाई गतिशीलता दिएर एक सुदृढ युवाको रूपमा स्थापित गर्नुपर्दछ र बलियो वातावरण सिर्जना गर्नु आवश्यक छ । सकारात्मक सोचाइको विशालता अध्यात्मबाट मात्र आउँदछ र एक बलियो राष्ट्रको निर्माणको लागि प्रत्येक युवाको जीवनमा कतै आध्यात्म समावेशीकरणको आवश्यकता छ ।
पाठकगण, संघर्षमय समाजमा आध्यात्मिकतारुपी उचाईको आवश्यकता हुन्छ । सानो झिल्कोले जसरी जंगलमा डढेलोको रुप लिन्छ, सानो एउटा पत्थरले शान्त जलाशयमा लहर फैलाउन सक्छ भने धर्मनिष्ठ व्यक्तिले के गर्न सक्दैन? आध्यात्मिक आत्माको वरपर सुख शान्ति र उमंग उत्साह परिक्रमा लगाउंदै गर्नेछन् । धर्मको सर्बोच्चता धारणा सुख स्वरुप बन्ने आत्मालाई नै मिल्दछ । विचारमा स्वर्णीम भविश्य र बाहुमा यति वल भरौ कि जसले समयको प्रवाहलाई चुनौती दिन सकियोस् । जसको हौशला सशक्त रहन्छ त्यो सधै नौ जवान रहन्छ । ओइलाउनु नै बुढ्यौली हो । मौरीको पखेटा झरेतापनि उड्न छोड्दैन कारण उसभित्र उमंग उत्साहरुपी पखेटा सशक्त छ । हामी पनि त्यही उमंग उत्साहले संसारमा स्वर्ग उतार्न सक्दछौ । आध्यात्मिक जागृती विना भौतिक उपलव्धीहरु रसहीन लाग्दछन् । ज्ञानलाई सही दिशामा सदुपयोग नहुनाको कारण प्राप्त डिग्रीहरु कागजको खोस्टो प्रतित हुन थाल्दछ । व्यक्तिगत, सामाजिक र राष्ट्रिय अन्तराष्ट्रिय जीवनसँग जोडिएका भूतकालका प्रेरणादायी कुराहरु अपनाउंदै विपरित कुराबाट शिक्षा लिएर त्यसलाई पुनः नदोहो¥याउने दृढता धारण गरेमा वर्तमान जीवनको सही उपयोग संभंव हुन्छ । यस संसारमा प्रतिभाको कमी छैन तर गतिशील दिशा निर्देशको अभाव मात्र हो । त्यसैले हे युवा हो ! एक पटक चिन्तनशील भएर सोचौ तिमी नै यो संसारका धरोहर हौँ । समाज रुपान्तरणका संवाहक हौ । आफ्नो वास्तविकतालाई स्मृतीमा लिएर अगाडी बढौ सुन्दर जीवन संभव छ । तसर्थ जाग अव ढिलो नगर मनोविकारको आगोले संसार जलाउँदै छ । ज्ञानको अमृत वर्षाले, योगको आनन्दले, दिव्यगुणको शितलताले विकृति र मनोविषलाई समाप्त गदै सहयोगी वनाउ । छोड ती कुुकृत्यहरु जसले तिमीलाई जन्म जन्म धोखा दिए । आध्यात्मिक समाज सेवा र स्व उन्नतीमा आफूलाई समाहित गर युवा यसैमा तिमो र समग्र विश्वको कल्याण लुुकेको छ । लोभ लालचको मानसिक कालिमाको कारण बढ्दै गएको दाइजो प्रथा, नारी हिंसा, घुसमिलावट, अत्याचारको पराकाष्टालाई चिर्ने पथमा तिम्रो चिन्तन चल्नुपर्छ । आफ्नो व्यक्तित्वमा निखारता ल्याउन, लोक लाज राख्न, सुन्दर देखाउन र आकर्षण महसुसताको लागि आजका युवा यूवतीमा वनावटी शृंगार गर्ने आदत एक फेशन बनेको वर्तमान परिप्रेक्षमा प्राकृतिक सुन्दरता हराउंदैछ । बरु अन्तरआत्मालाई जगाउंदै स्वच्छ र सादगी स्वास्थ्यको आधार हो यसतर्फ सचेत हुन आवश्यक छ । स्वस्थ र सद्गुण नै मनुस्यको सर्बश्रेष्ठ श्रृंगार हो । अनुहारमा मुस्कानरुपी पाउडर, आँखामा दिव्यताको गांजल, मुखमा नम्रता नै जीवनमा सच्चा शृंगार हुन । हे यूुवती/नारी तिमी सादगीको चैतन्य मूर्ति बन, पवित्रताकी सजिव प्रतिमा होऊ, तिम्रो यही रुप जनजनको मनमा देवीको दर्शन तूल्य बन्न सकोस् ।
क) युवा वास्तविक अर्थमा समाज परिवर्तनका संवाहक शक्ति हुन । देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत देशको समग्र विकासमा युवाको प्रमुख भूमिका रहने भएको र हुनु पर्ने भएकोले युवा राष्ट्र निर्माणका पूर्वाधार हुन् । देशको जानसांख्यिक तथा श्रम शक्तिको दृष्टिले सबै भन्दा बढी र सबल क्षेत्रको रुपमा रहेको युवा शक्तिको सही रुपमा पहिचान र उपयोग हुन सकेको छैन । देशमा शिक्षा, रोजगारी तथा अन्य अवसरहरुको अभावमा देशको प्रमुख उर्जाको रुपमा रहेका युवाहरु विभिन्न कारणले पलायन हुने अवस्था ज्यादै विचारणीय पक्ष रहेको छ ।
ख) युवाले विदेशमा गएर कमाएर पठाएको विप्रेषणको रकम तत्काललाई नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भए तापनि यस्तो श्रम शक्तिलाई स्वदेशमा नै परिचालन गर्ने प्रयास हुन नसकेमा भविष्यमा यसबाट देशले ठूलो नोक्सानी व्यहोर्नु पर्ने निश्चित छ । सहभागिता र अवसरका दृष्टिले नेपालका युवाहरुको अवस्था सन्तोषप्रद छैन । त्यसमा पनि महिलाहरुको अवस्था अझ नाजुक रहेको छ । युवाका विभिन्न अधिकारहरुलाई सही रुपमा सम्वोधन गरी उनीहरुको ज्ञान, सीप र अनुभव, र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूलप्रवाहीकरण गर्नेतर्फ राष्ट्रका नीति तथा कार्यक्रमहरु निर्देशित हुनु जरुरी छ ।
ग) युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि संविधानले युवाका चासोहरुलाई समुचित ढङ्गले सम्बोधन गर्न आवश्यक देखिन्छ । यसका लागि राष्ट्रिय स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन, देशको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागीता, युवाहरु बीच अवसर र रोजगारीका समान अवसर, विदेशमा रहने युवाहरुको संरक्षण र सम्बद्र्धनको व्यवस्था, राष्ट्रिय विकासमा युवाका ज्ञान, सीप र क्षमताको उपयोग जस्ता विषयहरु प्रमुख रुपमा सम्बोधन गर्नु उपयुक्त हुने देखिन्छ ।
घ) तसर्थ संसारका उच्च धरोहर ए युवा जातीय दंगा, तोडफोड, हड्ताल, क्रोधको परिणाम हो, त्यसैले आफ्नो मित्र र दुुश्मन पहिचान गर । निश्चय नै काम क्रोधलगायतका ५ विकारहरु हाम्रो दुश्मन हुन भने पवित्रता, शान्ति प्रेमको सागर परमात्मा हामी सबैका मित्र हुन । विकाररुपी पहाड जसले संसारको प्रगती र उन्नतिमा रुकावट ल्याउँछ । तसर्थ, हे युवा ! हिम्मत छ भने यी विकारी संस्काररुपी पत्थरहरुलाई तोडफोड गरेर हेर । बरु प्रयोग गरेर हेर राजयोगको निरन्तर अभ्यासले आत्मिक दीर्घकालीन आनन्द प्राप्त हुन्छ । ईश्वरानुभूतिद्वारा नारायणी नशा चढ्छ फलस्वरुप अन्य नशा मुक्ति र तनाव व्यवस्थापन हुन्छ साथै एक सभ्य र सुुंस्कृत समाज निर्माणमा टेवा पुग्दछ ।
युवा नै देशको भविष्य हुनुको नाताले आफ्नो शक्ति देश निर्माणको कार्यमा लाग्न जरुरी छ । हरेक देशको आशा र भरोषाको केन्द्र युवा आज व्यसन र फेसनको अधिनमा हुनुको कारण उर्जाशीलता नष्ट भइरहेको छ । तसर्थ, आन्तरिक शक्तिको जागृतीसँगै स्वयंलाई श्रेष्ठ चरित्र तथा उच्च व्यक्तित्व निर्माणमा सकारात्मक परिवर्तनको आधारमा हरेक असंभवलाई संभव गर्ने क्षमता बृद्धि गर्नु छ युवा शक्तिले । भौतिक शिक्षाको साथ साथ आजको युवामा मूल्य शिक्षा एवं आध्यात्मिकताको नितान्त आवश्यकता छ । यो सुनौलो खवर सञ्चार गर्दे गर्दा आफैलाई हर्ष महशुस भइरहेको छ कि जाती, धर्म, वर्ग, लिङ्ग र रङ्गभेद भन्दामाथि उठेर हरेक इच्छुक तथा जिज्ञासु मानवमात्रका लागि नियमित मूल्य शिक्षा एवं आध्यात्मिकता र मेडिटेशनका निःशुल्क कक्षा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा प्रदान गरिन्छ । साथै मानव मूल्यको जागृतीद्वारा मूल्यनिष्ठ समाज निर्माण गर्न सकिने लक्ष्यका साथ विद्यालय, कलेज तथा विश्व विद्यालयका विद्यार्थीहरुका लागि विद्यार्थी सशक्तिकरण, चेतनाको स्पर्ष (Touch The Light) शिक्षक प्राध्यापकहरुका लागि (Living Values, Mindfulness & Meditation) जस्ता शैक्षिक कार्यक्रमहरु सञ्चालित छन् । अन्तर्राष्ट्रिय स्तरमा २ दर्जन भन्दा विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरुमा नियमित सञ्चालित र यसै वर्ष त्रिभुवन विश्वविद्यालय समेतबाट स्वीकृत मूल्य शिक्षा र आध्यात्मिकता अन्तर्गत डिप्लोमा, पि.जी.डिप्लोमा,Master in Spiritual Science(M.Sc.), M.Sc. In Counseling & Spiritual Health, M.Sc. In Yoga, M.B.A in Self Management & Crisis Management का कक्षाहरु नियमित तथा दूर शिक्षा प्रणाली मार्फत अनुशासित, नैतिकवान र चरित्रवान जनशक्ति उत्पादन गर्ने अभिप्रायका साथ यस संस्थाले आफ्ना शैक्षिक कार्यक्रम समेत अगाडी सारीरहेको छ । विश्वका १४० देशहरुमा करिब १०, ००० भन्दा बढी शाखा, उपशाखाहरु स्थापना गरी मानव मात्रमा अध्यात्मिक एवं मानवीय मूल्यको न केबल जगेर्ना मात्र हैन पुनस्र्थापना गर्ने भागीरथ कार्यमा क्रियाशील एक शैक्षणिक संस्थानको नेपालमा पनि वि.सं. २०२३ मा शुरुवात भएको हाल ४०० शाखा एवं उपशाखा र १००० भन्दा बढी ईकाई केन्द्रहरुले निःशुल्क सेवा प्रदान गर्दे आइरहेको विश्वकै एक मात्र नारी प्रधान संस्थामार्फत् सशक्त युवा बनाउने महायज्ञको कार्य तिव्रतररुपमा चलिरहेको छ । हामी विश्वास गर्दछौं कि बाँच्ने नयाँ तरिका अन्तत मानव उत्थान र परिवर्तनमा निर्भर छ । हामी प्रत्येक धर्म, जाति र संस्कृतिका हाम्रा युवा शक्तिहरूलाई गहिरो रूपमा सामेल हुन र उनीहरूको भित्री र बाहिरी परिवेशको पुनर्निर्माणको चुनौती स्वीकार्न प्रोत्साहित गर्न चाहन्छौं। आफ्नो भविष्यको लागि एक मार्ग सिर्जना गर्नुहुनेछ जसमा तपाईं खुशी र सफलताको चरम सीमामा पुग्नुहुनेछ । सबैमा सकारात्मक सोच, आध्यात्मिक पथ, उर्जाशील विचार एवं कल्याणको मंगलकारी भावनाका पुष्पहरु प्रफूल्लित हुन सकुँन यही शुभकामना । जय होस सबैको कल्याण होस् सबैको । ओम् शान्ति !
लेखक ब्रमाकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङ्गका प्रवक्ता हुन् ।