सामुदायिक विद्यालयमा कोरियन भाषा पढाइ

लिलाधर वली
दाङ, २७ साउन । दाङको घोराही उपमहानगरपालिका–१० मा रहेको सिद्धरत्ननाथ माध्यामिक विद्यालय नारायणपुरमा कक्षा ११ मा अध्ययनरत दिवस केसी व्यवस्थापन सङ्कायसँगै कोरियन भाषा अध्ययन गर्न थालेका छन् । विद्यालयले व्यवस्थापन सङ्काय अन्तर्गत अध्ययनरत विद्यार्थीका लागि ऐच्छिक विषयका रुपमा कोरियन भाषा राखेपछि अन्य विद्यार्थीसँगै आफूले पनि पढ्न थालेको बताउँछन् ।

कक्षा ११ विद्यालयमै आफ्नो पढाइसँगै कोरियन भाषा पढ्न पाइने व्यवस्था भएपछि अर्थशास्त्र विषय छोडेर कोरियन भाषा पढ्न थालेको भन्दै केसीले भने,‘कक्षा ११ को पढाइसँगै कोरियन भाषा सिक्न सकिने र पछि रोजगारीका लागि जाम भने पनि पनि सजिलो हुने भएकाले पढ्न थालेको छु ।’ दिवससँगै आशा केसी पनि कोरियन भाषा अध्ययन गर्दै आएकी छिन् । आफ्नो नियमित पढाइसँगै विद्यालयमै कोरियन भाषा अध्ययन गर्न सकिने भएकाले कोरियन भाषा पढ्न थालेको बताउँछिन् ।

भाषा सिकेपछि बेरोजगारी समस्याका कारण विदेशिनु पर्ने अवस्था आएमा कोरिया जानका लागि सजिलो हुने अपेक्षा उनीमा रहेको छ । व्यवस्थापन सङ्काय अध्ययनका लागि विद्यालयमा भर्ना भएर कोरियन भाषा पनि सिक्दै आएकी केसीले भनिन्,‘१२ कक्षा पास गरेर रोजगराीका लागि कोरिया जानेहरूका लागि मात्रै नभई पढ्नका लागि पनि कोरिया जान पाउने भएकाले कोरियन भाषा पढ्दै छु ।’

पढेर आफ्नै देशमा केही गर्ने सोच भए पनि नेपालीको आकर्षक श्रम गन्तव्यका रुपमा रहेको देश कोरियाको भाषाशैली, संस्कृतिसँगै कामको बारेमा ज्ञान हासिल गर्नका लागि कोरियन भाषा सिक्न थालेको बताउँछिन् । उनीहरू मात्र होइन, व्यवस्थापन सङ्काय अन्तर्गत विद्यालयले कोरियन भाषाको व्यवस्था गरेपछि अहिले विद्यालयमा ५५ जना विद्यार्थीले नियमित कक्षासँगै कोरियन कक्षा लिइरहेको छन् ।

विद्यालयले कक्षा ११ मा व्यवस्थापनतर्फ अर्थशास्त्रको विषयको विकल्पको रुपमा कोरियन भाषा पठनपाठन गराउन थालेको छ । यो विषय माध्यामिक शिक्षा पाठ्यक्रम २०७८ मा समावेश गरिएको छ । पाठ्यक्रमको समूह ‘ग’ मा कक्षा ११ र १२ को लागि कोरियन भाषालगायत विदेशी भाषा विषयका लागि वार्षिक कार्य एक सय ५५ घण्टा तोकिएको छ ।

विद्यालयमा विद्यार्थीको आर्कषण बढाउनसँगै विद्यार्थीलाई बहुभाषाको ज्ञान गराउनका लागि यो वर्षदेखि कोरियन भाषाको पठनपाठन थालेको सिद्धरत्ननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक उत्तम खनाल बताउँछन् । उनका अनुसार कोरियन भाषाको ७५ पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्कभार रहने गरी पाठ्यक्रम तयार गरिएको छ ।

सिद्धरत्ननाथ माद्यामिक विद्यालय नारायणपुरले केही वर्ष अघिदेखि विद्यार्थीलाई आयआर्जनमा जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागु गरेको थियो । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीलाई कृषिमा जोडेको विद्यालयले यो वर्षदेखि विद्यार्थीमा बहुभाषाको ज्ञान दिने उद्देश्यले कोरियन भाषाको पढाइ सुरु गरेको छ । प्रधानाध्यापक खनालका अनुसार विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ५५ विद्यार्थी अहिले व्यवस्थापन सङ्काय अन्तर्गत कोरियन भाषाको कक्षा लिइरहेका छन् । प्रधानाध्यापक खनालका अनुसार विद्यालयले अर्को वर्षदेखि जापानीज भाषाको पढाइ पनि गर्ने तयारी गरेको छ ।

विद्यार्थीलाई विदेशी भाषाको ज्ञानसँगै पढेर विदेश जान इच्छुक विद्यार्थीलाई थप खर्चबाट जोगाउनका लागि विद्यालयले भाषा कक्षा सञ्चालन गरेको भन्दै प्रधानाध्यापक खनालले भने,‘हामीले चाहेर पनि विद्यार्थीलाई कोरिया जानबाट रोक्न सक्ने अवस्था छैन । त्यही कारण विद्यालयमै पढ्ने व्यवस्था गरेका छौँ ।’ व्यवस्थापन सङ्काय अन्तर्गत कोरियन, जापानीज लगायतका विभिन्न भाषा पढाउन पाउने व्यवस्था गरेअनुसार नै विद्यालयले यस वर्षदेखि पढाउन थालेको प्रध्यानाध्यापक खनालले बताए । विद्यालयले कक्षा ११ मा विज्ञान, शिक्षा र व्यवस्थापन सङ्कायमा पठनपाठन गराउने गर्दै आएको छ ।

साउन पहिलो सातादेखि कक्षा ११ का विद्यार्थीले कोरियन भाषाको कक्षा लिइरहेको विद्यालयका कोरियन भाषा शिक्षक श्यामलाल लहेर बताउँछन् । लामो समय वैदेशिक रोजगारीका क्रममा कोरिया बसेर आएका शिक्षक लहेरले विद्यालयले कोरियन भाषाको पढाइ गर्न थालेपछि आपूm विद्यालयसँग जोडिएको भन्दै अहिले कोरियन भाषाका शब्दका बारेमा सिकाउने काम गरिरहेको बताउँछन् । उनका अनुसार कोरियन भाषा पढाउनका लागि विद्यालयले लेवल अनुसार दुई शिक्षकको व्यवस्था गरेको छ ।