देउखुरी उवासंघको साधारणसभा,खस्किदो व्यवसायप्रति चिन्ता

टेकबहादुर पुन
देउखुरी, २७ साउन । लमही नगर प्रमुख जोगराज चौधरीले पछिल्लो समय खस्किदैे गएको व्यापार व्यवसायप्रति चिन्ता व्यक्त गरेका छन् । देउखुरी उद्योग वाणिज्य संघको २१औँ वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै व्यापार व्यवसायलाई चलायमान बनाउँदै व्यवसायिक हकहितका लागि स्थानीय सरकारले सहयोग गर्ने बताए ।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंगसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमलार्ई सम्बोधन गर्दै चौधरीले खस्किदो व्यवसायप्रति चिन्ता व्यक्त गर्दै समय सधै एउटै नहुने बताए । विश्वको अर्थतन्त्र ओरालो लागेको बेला नेपालको व्यवसायमा पनि असर परेको बताउँदै प्रमुख चौधरीले व्यवसायीको हकहितमा आफू सधै लाग्ने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताले व्यवसायिक हकहितका लागि व्यवसायीहरूका बिचमा एकता आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी, लमही नगरका उपप्रमुख लक्ष्मी योगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष धुर्वकुमार गहतराज, देउखुरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लिलाराम खनाल, निवर्तमान अध्यक्ष खगेश्वर खनाल, नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापा, नेपाली कांग्रेस लमही नगर सचिव प्रेम कालाथोकी, राष्ट्रिय जनमोर्चाका लेखराज आचार्यलगायतले भनाइ राखेका थिए ।

सभामा कोषाध्यक्ष हरिबहादुर थापाले २३ लाख ६५ हजार चार सय ७९ रुपैयाँ २४ पैसाको आय व्यय प्रस्तुत गरेका थिए । संस्थाले विधान संशोधन गर्दै सभा पास गरेको छ । महासचिव ईश्वरप्रकाश श्रेष्ठको संयोजकत्वमा हरिबहादुर थापा र बसन्तकुमार सदस्य रहेको विधान संशोधन समितिले सभामा ६८ बुँदे संशोधित बुँदा प्रस्तुत गरेको थियो । विधानमा भएका संशोधन, खारेजी तथा थप गरिएका बुँदा सभाले पास गरेको अध्यक्ष कमलजंग सिंहले बताए । संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोखरेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव ईश्वरप्रकाश पोखरेलले गरेका थिए ।