calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

‘नदीजन्य पदार्थ नपाउँदा विकासमा बाधा’

अमरराज आचार्य
दाङ, ४ जेठ ।

चालु आर्थिक वर्ष सकिन थोरै समय बाँकी छ । यतिबेला विकास निर्माणका काम तीव्र रूपमा सञ्चालन हुनु पर्ने हो तर निर्माण व्यवसायीले विकास निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ पाउन नसक्दा काम गर्न समस्या भएको बताउँछन् । जिल्लामा नदीजन्य पदार्थ उत्खनन्को काम ढिलो हुँदा निर्माणका काम कतै रोकिएको कतै टाढाबाट ल्याएर काम गर्नु पर्ने बाध्यता रहेको निर्माण व्यवसायी बताउँछन् ।

नदीजन्य पदार्थ पाउन नसक्दा विकास निर्माणका काम गर्न समस्या भएको दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रवीण भण्डारीले जानकारी दिए । अहिले तुलसीपुर क्षेत्रमा यो समस्या देखिएको उनको भनाइ छ । ‘तुलसीपुर उमहानगरपालिकामा सहज रूपमा नदीजन्य पदार्थ पाउन नसक्दा समस्या भएको छ’, भण्डारीले भने, ‘भौतिक पूर्वाधार निर्माणको काममा बाधा उत्पन्न भएको छ ।’
त्यस क्षेत्रमा काम गर्ने निर्माण व्यावसायीले समस्या भएको भनेर संघलाई जानकारी गराएको उनी बताउँछन् । तुलसीपुर क्षेत्रमा काम गर्ने निर्माण व्यवसायीले सहज रूपमा नदीजन्य वस्तु उपलब्ध गराइदिन भनेर उपमहानगरपालिकामा निवेदन दिए पनि त्यसको सुनुवाइ नभएको व्यवसायी बताउँछन् । ‘नदीजन्य पदार्थको सहज व्यवस्थापन गर्न भन्दै व्यवसायीले निवेदन दिएको करिब एक महिना हुन थाल्यो तर हाम्रो माग पूरा हुन सकेको छैन’, एक निर्माण व्यवसायीले भने ।

उपमहानगरपालिकाले अनेक बहानामा आफूहरूलाई पन्छाउने काम मात्रै गरेको उनको भनाइ छ । काम गर्ने समयमा सामग्री पाउन नसक्दा धेरै समस्या भोग्नु परेको उनले बताए । ‘अहिले तीव्र रूपमा काम गर्ने समय हो तर पनि नदीजन्य पदार्थ पाउन नसक्दा समस्या भएको छ’, उनले भने । बाटो पिचको लागि प्राम्भिक चरणको कामका लागि नदीजन्य पदार्थ नपाउँदा काम समेत सुरु गर्न नसकिएको उनको भनाइ छ । कतिपय व्यवसायीले दंगीशरण गाउँपालिकाबाट ल्याएर समेत काम गरिरहेको उनी बताउँछन् । ‘टाढाबाट ल्याउँदा मूल्य पनि बढी पर्ने र ल्याउँदा समेत धेरै समस्या भोग्नु परेको छ’, उनले भने ।

नदीजन्य वस्तु पाउन नसक्दा अहिले साना–ठुला आयोजनाको काम प्रभावित बनेको छ । कतिपयले त काम रोकेर बस्नु पर्ने आफूहरूको बाध्यता रहेको बताउँछन् । निर्माणका लागि आवश्यक पर्ने सामग्री प्रमुख स्रोत नै नपाएपछि काम रोक्नु पर्ने बाध्यता भएको निर्माण व्यवसायी बताउँछन् । वर्षाको समयमा काम गर्न समस्या हुने र त्यसपछि चाडपर्व हुने भएकाले काम नहुने गरेको उनको भनाइ छ । असोजमै नदीजन्य पदार्थको ठेक्का आह्वान गरेर यो समयमा सहज रूपमा काम गर्न सामग्री पाउने व्यवस्था मिलाउनु पर्ने व्यवसायी बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाले भने नदीजन्य पदार्थका कारणले निर्माण कार्य रोकिने अवस्था नभएको बताउँछ । हालसम्म नदीजन्य पर्दाथका कारण काम रोकिएको भन्ने जानकारी नआएको उपमहानगरपालिका स्रोतले जनाएको छ । समस्या भए जानकारी गराएमा समस्याको समाधान हुने उपमहानगरपालिकाले जनाएको छ । उत्खनन् गर्न वातावरणीय प्रभाव मूल्याङ्कन गरेर तयारी अवस्था रहेकाले आवश्यक परेमा प्रदान गर्न सकिने बताइएको छ ।

यो उपमहानगरले अहिले नदीजन्य पदार्थ आफैँ उत्खनन् गर्ने र उत्खनन् गरेर राखिएको नदीजन्य पदार्थ ठेक्कामा बिक्री गर्ने गरी उत्खनन्को प्रक्रिया थालेको छ । उपमहानगरले ठेकेदार आफूले उत्खनन् गर्न नपाएको झोकमा विकास निर्माणका काम रोकिएको भनेर बोल्ने गरेको बताउँछ । ‘उपमहानगरले अहिले खोलामा ठेकेदारलाई पस्नै नदिने नीति अनुरूप काम गरिरहेको छ’, उपमहानगर स्रोतले भन्यो, ‘अहिले खोलाबाट उत्खनन् गर्न नपाएकोप्रति ठेकेदार असन्तुष्ट छन् अनि विकास निर्माणको काम रोकियो भनेर उपमहानगरमाथि दोष थोपर्ने काम गरिएको हो ।’ विकास निर्माणका आयोजनाका लागि निर्माण व्यवसायीले माग गरेको खण्डमा आवशयकताका आधारमा उपमहाानगरले नै नदीजन्य पदार्थको व्यवस्थापन गरिरहेको स्रोत बताउँछ ।

फलतः विकास निर्माणका काममा कुनै पनि बाधा नरहेको उक्त स्रोतको दाबी छ । ‘विकास निर्माणको कामका लागि आवश्यक कागजातका आधारमा उपमहानगरले नदीजन्य पदार्थको व्यवस्थापन गरिरहेको छ’, स्रोतले भन्यो, ‘यसर्थ विकास निर्माणका काममा बाधा भयो भन्नु गलत हो ।’