calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

लमहीमा ७ हजार बढी घरधुरीलाई निस्सा

प्रिया स्मृती गजमेर
लमही, ७ चैत । लमही नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन र निस्सा वितरण गरिएको छ । हालसम्म दुई सय २२ भूमिहीन दलित, एक हजार तीन सय ३२ भूमिहीन सुकुम्बासी र ६ हजार दुई सय १४ अव्यवस्थित बसोबासी गरी सात हजार सात सय ६८ घरधुरीलाई निस्सा वितरण गरिएको भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय सेवा केन्द्रका संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।

दुई सय १० भूमिहीन दलित, एक हजार दुई सय ४९ भूमिहीन सुकुम्बासी र तीन हजार सात सय तीन अव्यवस्थित बसोबासी गरी पाँच हजार सात सय तीनवटा निवेदन विभागको प्रणालीमा सुचीकृत भइसकेका छन् । नगरपालिकाको सबै वडामा नाप नक्साको लागि एक सय ९० वटा नियन्त्रण विन्दु राख्ने काम सम्पन्न भएको छ । वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ मा एक हजार ६९ विगाह चार कट्ठा १७ धुर (७२४.१६ हेक्टर) जग्गा नापजाँच गरिएको छ । त्यस्तै ३, ४, ५, ६, ७, ८ र ९ वडाको नक्सा बनाउने कार्य सम्पन्न भएको छ भने ६, ७, ८ र ९ वडामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको निवेदनमा सात दिने हकदाबीको सूचना प्रकाशनको काम समेत सम्पन्न भएको संयोजक भण्डारीको भनाइ छ ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले देशको राजनीतिक घटना क्रमका कारण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई समयमा लालपुर्जा दिन नसकिएको बताए । ‘छिटोछिटो सरकार फेरबदल हुँदा हामीलाई पनि काम गर्न सकस छ’, उनले भने, ‘यो पटक जनताले धेरै आशा गरेका थिए, जग्गाको लालपुर्जा पाउने तर फेरि सरकार परिवर्तन हुँदा जनतामा निराशा छाएको छ ।’

त्यस्तै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई के गर्दा छिटोछरितो रूपमा जग्गाको लालपुर्जा दिन सकिन्छ भन्नेबारे आफू गम्भीर रहेको बताइन् । उनीहरूलाई समयमै जग्गा दिन सकियो भने कृषि उत्पादनमा सघाउ पुग्ने गरी अन्य कार्यक्रम ल्याउन सकिने नगर उपप्रमुख योगीको भनाइ छ । ‘हामीले स्थानीय पालिकाबाट गर्नु पर्ने सबै काम क्रमश गर्दै गइरहेका छौँ तर केन्द्रीय राजनीतिले गर्दा समस्या उत्पन्न भएको छ’, नगर उपप्रमुख योगीले भनिन् ।