कोरोना संक्रमण तेस्रो चरणमा
दाङ, १० बैशाख । लकडाउनको एक महिनामा नेपालमा संक्रमितको संख्या बढेर ४२ पुगेको छ । सँगसँगै ती संक्रमितहरु निको भएर घर फर्केका समाचार पनि रहेका छन् । ४२ जनामा परीक्षणबाट संक्रमण देखिएको छ भने तीमध्ये ४ जना उपचारपछि निको भएर भइसकेका छन् । संक्रमित भेटिएको समुदायका अन्यमा पनि यो संक्रमण सर्नुलाई बिज्ञहरुले महामारीको तेस्रो चरण भन्ने गर्दछन् । उदयपुरमा भेटिएका पछिल्ला ११ जना संक्रमितपछि नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुगेको उनीहरुको तर्क छ ।
बिदेशवाट आएकाहरुमा मात्र देखिनु पहिलो चरण हो भने, उनीहरुको परिवारका सदस्यमा देखिनु दोस्रो चरण । कैलालीमा बिदेशबाट आएका देवरबाट भाउजुमा यसको संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रबेश गरेको मानिएको थियो । त्यसपछि सरकारले लकडाउनको अवधि लम्ब्याएर थप कडाई गर्ने बताएको थियो । संक्रमण तेस्रो चरणमा पुग्नु भनेको लकडाउन पूर्णरुपमा कार्यान्वयन नहुनुको प्रष्ट संकेत हो । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘यसरी पैदल घर फर्कदै गरेका सर्वसाधारणलाई पैदल हिँड्न नदिन र खान नपाएको भए खाना खुवाएर त्यहीँ राख्न’ निर्देशन पनि दिए । तर त्यहीँ दिन सर्वोच्च अदालतले सरकारलाई ‘सुरक्षाको उपाय अबलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ याता
यातको व्यबस्था गरेर निःशुल्क रुपमा गन्तव्यमा पु¥याउन’ आदेश दियो ।
त्यसो त नागरिकस्तरबाट पनि लकडाउनलाई पालनामा लापरबाही गरेको देखियो । ‘बिहान–बेलुका निस्कने, गाउँघरतिर भोजभतेर समेत गर्ने गरेको सूचना पाइएको छ’, दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले भने– ‘अघिपछिको जस्तो बन्द हड्तालका रुपमा लकडाउनलाई बुझिदिँदा समस्या भयो ।’ त्यसैगरी राहत वितरण हस्तान्तरणका क्रममा पनि भीडभाड देखियो । उदारमनका साथ राहत वितरण गरेकाले सयौं परिवारसम्म राहत त पुग्यो, तर वितरणलाई प्रचारात्मक बनाउँदा भीडभाड रोक्न हम्मेहम्मे प¥यो ।
यो अबस्थाको अन्त्य गर्नका लागि आग्रह गर्दै दाङका प्रमुख जिल्ला अधिकारी रिजालले फेसवुकमा एउटा स्टाटस लेखे र भने– ‘यहाँहरु समाजमा कुनै न कुनै रुपले प्रतिष्ठित हुनुहुन्छ र यहाँहरुको पहिचान नै तारिफयोग्य भएकाले यस संकटको समयमा थप प्रचार गर्नु नपर्ने कुरा समेत निवेदन गर्न चाहन्छु । यसर्थ थोरै खाने कुरा, केही थान स्यानीटाइजर, साबुन र मास्क वितरण गरेको फोटो फेसबुकमा राखेर कथित समाजसेवी भएको नौटंकी नगर्नु भई सभ्य नागरिकको परिचय दिनुहुनेछ भन्ने विश्वासका साथ सहायताका नाममा कोरोना भाइरसको संवाहक नबनिदिनुहुन विनम्र अनुरोध छ ।’
प्रशासन कार्यालयले दुईपटक सूचना जारी ग¥यो । पहिलोमा, ‘आफूखुशी राहत संकलन र वितरण गरेको बुझिन आएको र त्यसो कार्य सरकारको नीतिविपरीत हुने भएकाले त्यस्तो कार्य नगर्न’ भनियो । दोस्रोमा, ‘राहत उपलब्ध गराउँदा तीनजना भन्दा बढीको संख्यामा उपस्थिति नगराउनुहुन’, भनियो । अत्यावश्यक सामान बिक्री गर्ने पसलहरुलाई पनि निश्चित समय र निश्चित बारमा खोल्न भनियो । भीडभाड नहोस् भनेर यसो गरिएको भए तापनि बिहान तरकारी किन्नेहरुको भीड दाङका सबै बजारहरुमा डरलाग्दो गरी भइरहेको अबस्था छ ।