बाहिर होइन आन्तरिक गठबन्धन गरौँ : सभापति पुन

टेकबहादुर पुन
देउखुरी, २१ चैत । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुलुकको व्यवस्थालाई खतरामा पर्न नदिन कांग्रेसलाई मजबुत बनाउनु पर्ने बताएका छन् । हालसम्मको मुलुकको परिवर्तन कांग्रेसकै कारण आएको भन्दै सभापति पुनले कांग्रेस कमजोर भए देश नै खतरामा पर्ने बताए । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ ले आयोजना गरेको दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनमा सभापति पुनले भने, ‘मुलुकको अहिलेको परिपर्तन कांग्रेसकै कारण आएको हो, यो व्यवस्था जोगाउनका लागि कांग्रेसलाई बलियो बनाउनु पर्छ, कांग्रेस कमजोर भए, यो व्यवस्थामाथि सङ्कट आइ पर्छ ।’

सभापति पुनले हालसम्म देशमा भएका परिवर्तन र विकास नेपाली कांग्रेसका कारणले भएको जिकिर गरे । सत्ताका लागि अन्य दलसँग गठबन्धन गरिरहनुभन्दा पनि बलियो कांग्रेस बनाउन कांग्रेसभित्रै आन्तरिक गठबन्धन गरिनु पर्ने अपरिहार्य रहेको उनले बताए । ‘सत्ताका लागि गठबन्धन गर्नु गलत हो, कांग्रेस त्यसै पनि ठुलो दल हो’, सभापति पुनले भने, ‘अन्य दल सँगभन्दा पनि कांग्रेस भित्रै गठबन्धन गर्न जरुरी छ, हामी मिलौँ अनि हेरौँ, कांग्रेस कसरी ठुलो दल हुँदैन ?’ कांग्रेसीबिचको ठुलो भन्ने भन्दा पनि अब के गर्ने भन्ने विषयको चिन्तन हुनु जरुरी रहेको भन्दै सभापति पुनले पार्टीलाई बलियो बनाउन टोल–टोलबाट विशेष छलफल गरी निष्कर्षमा जानु पर्ने बताए ।

अन्य दलजस्ता गलत प्रचारबाजी गर्ने कांग्रेसमा परिपाटी नभएको बताउँदै उनले युवालाई समेट्न सबै लागि पर्नु पर्नेमा जोड दिए । जनप्रतिनिधिले पार्टीलाई सल्लाह पनि दिने र सल्लाह लिन पनि इच्छुक हुनु पर्ने धारणा राख्दै उनले दाङ जिल्ला कांग्रेसको उर्वर भूमि भए पनि केही ठुला पालिकाको नेतृत्व गुमाउँदा पीडा थपिएको बताए । ‘कांग्रेसभित्रै आन्तरिक समस्या छन्, त्यसको निकाश खोजौँ, को बलियो भन्दा पनि पार्टी सबैको हो भन्ने धारणा सहित मेलमिलाप गरी अघि बढौँ’, सभापति पुनले भने । सत्ता समीकरण फेरबेदल भएकोमा निरास नभई संगठन विस्तार र पार्टीप्रति सधैँ बफादार बन्न उनले आग्रह गरे । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका विकले सम्मान आफैँ खोज्ने र पदलाई स्वीकार्न नसक्दा कांग्रेसमा विचलन आएको बताइन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का सभापति दिनेश गिरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङ जिल्ला सचिव अर्जुन योगी, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, महासमिति सदस्यहरू गिरिजादेवी न्यौपाने, कर्णबहादुर बुढाथोकी, लमही नगर सभापति सन्तोष बुढाथोकी, महासमिति सदस्य तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादव, नेपाली कांग्रेस लमही नगरपालिका–८ का वडा सभापति यादवनाथ योगी, घोराही–३ का सभापति शरद बुढाथोकीलगायतले नेताहरू बस्तीबस्तीमा उपस्थित भएर संगठन विस्तार गर्दै कांग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव लालवीर खड्का तथा आर्थिक प्रतिवेदन प्रदेश प्रतिनिधि बिना न्यौपानेले प्रस्तुत गरेकी थिइन । प्रदेश सभा समितिका सदस्य हल्लुप्रसाद चौधरीले धन्यवाद ज्ञापन गरेकाको कार्यक्रमको सहजीकरण सचिव लालवीर खड्काले गरेका थिए । कार्यक्रममा कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ का सदस्य कुमार घिमिरेले स्वागत गरेका थिए ।