विदेश पलायन युवाको नियति

भुवन पोख्रेल
रोजगारी भनेको आर्थिक गतिविधि हो । रोजगारी भन्नाले सिप र दक्षताको उपयोग गरी आफ्नो वा अरुको लागि वा बजार योग्य वस्थु वा सेवाको उत्पादन गर्ने तथा जीवनयापनका लागि आयआर्जनका गतिविधि वा क्रियाकलापलाई बुझाउँछ । देशमा बेरोजगारी आजको नेपालको प्रमुख समस्या हो । देशमा रोजगारीको अभावमा लाखौँ युवाहरु कि त बेरोजगार रहन बाध्य छन् भने कि त श्रमका लागि विदेशिन बाध्य छन् । देशमा बर्सेनि पाँच लाख अतिरिक्त जनशक्ति श्रमबजारमा प्रवेश गर्दछन् तर नेपालको आन्तरिक श्रमबजार ज्यादै साँघरो छ यसले पचास हजारभन्दा बढी अतिरिक्त जनशक्तिलाई रोजगनरी दिन सक्दैन ।
युवाहरुको उर्जा र सिर्जनशीलतालाई मुलुक कमै मात्रामा मात्र प्रयोग गरेकाले नेपालमा विकास समृद्धि आउन सकेको छैन । युवाहरु राष्ट्रको महत्वपूर्ण मानव स्रोत भएकाले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिकलगायतका जनजीवनका हरेक क्षेत्रका उनीहरुको क्षमता विकास गरी राष्ट्र निर्माणमा अग्रसर गराउन राष्ट्रिय युवा नीति आवश्यक छ र नीतिको कार्यान्वयन हुनु पनि आवश्यक छ जुन नीतिले युवालाई अवसर सिर्जना गर्न, सशक्तीकरण गर्न, क्षमता अभिवृद्धि, जीविकोपार्जनका विकल्प तयार गर्न मद्दत गरोस् । खाली पेट युवाले देश निर्माण र विकासमा हातेमालो गर्न सक्दैन । आफ्नै देशमा गुणस्तरीय शिक्षा, रोजगारीका अवसर सहितको उज्वल भविष्य निर्माण गर्न सरकार तथा अन्य सम्बन्धित पक्षहरुले आवश्यक वातावरण सिर्जना गर्न सके दैनिक रुपमा शिक्षा, रोजगारी जस्ता सपना र लक्ष्य लिएर नेपाली युवा विदेशिनु पर्दैन थियो कि ।
युवा भविष्यको कर्णधार हुन भने वर्तमानका साझेदार पनि हुन् । देशलाई विकास र समृद्धितर्फ उन्मुख गर्ने काममा युवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । खमा नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास गुम्न लागेको आजको अवस्थामा उनीहरुको निराशालाई आशा बदल्ने किसिमको नीति तथा कार्यक्रम राज्यले ल्याउन सक्नु पर्छ । युवा राज्यको शक्ति हो, हाम्रो यो शक्तिले विदेशी मुलुकमा पसिना बेच्दै छ । शैक्षिक योग्यता हासिल गरी उच्चस्तरको जनशक्तिको रुपमा दिक्षित भएका युवाले पनि युरो, अमेरिकामा स्थायी बसोबासको अनुभूतिको खोजीमा कागजपत्र मिलाउन व्यस्त छन् । युवा परिवर्तनका संवाहक हुन् मुलुकले यिनीहरुलाई सही ढंगले परिचालन गर्न नसक्दा सडक–सडक बेरोजगारको झुण्डको रुपमा भौतारिन विवस छन् ।
नेपाली जनताको आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य पूरा गर्न पहिलो प्राथमिकता रोजगारी हो । अब अनिवार्य र निःशुल्क सबैका लागि शिक्षा दिएर मात्र राज्य ढुक्क हुने होइन अबको शिक्षा गुणस्तरीय र कामको ग्यारेन्टी दिन सक्ने हुनुपर्छ । जीवन निर्वाहका लागि कम, इलम, पेसा वा व्यवसाय सिर्जना गर्न सक्ने शिक्षा अहिलेको आवश्यकता हो । नेपालको शिक्षाले शिक्षित बेरोजगार उत्पादन गरेको छ त्यसैले बेरोजगारी प्रमुख समस्या बन्न पुगेको हो । व्यक्तिमा काम गर्ने सिप, जाँगर, पूँजी र लगानीका लागि उपयुक्त वातावरण वा रोजगारीको अवसर पर्याप्त छैनन् भने व्यक्ति बेरोजगार बन्न पुग्दछ ।
नेपालमा काम चाहे सानो होस् वा ठुलो श्रमको सम्मान गर्नुपर्छ भन्ने नेपालीहरुको सर्किण मानसिकताका कारण पनि बेरोजगारी बढेको छ । भौतिक पूर्वाधार विकासले गति लिन नसकेका कारण सरकारी क्षेत्र र निजी क्षेत्रले पर्याप्त रोजगारी दिन सकेका छैनन् । रोजगारीका क्षेत्रहरु उद्योग, व्यापार, पर्यटन, कृषि, निर्माण आदि फस्टाउन नसक्दा नेपालमा रोजगारी प्राप्त गर्न नसकिने स्थिति छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माग अनुरुपको व्यावसायिक सिप विकासका तालिमहरु प्रवद्र्धन गर्न जरुरी छ । दक्ष जनशक्तिको अभावमा वैदेशिक रोजगारबाट पनि पर्याप्त फाइदा लिन सकिएको छन् । तापनि विदेशिएका कामदारले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलायमान बनेको छ । पहिले पनि देश र समाज युवामा निर्भर थियो र अहिले पनि छ । विदेशी भूमिमा बगाएको रगत पसिनाले कमाएको रकम देशमा भित्र्याएर देश सञ्चालनमा टेवा पु¥याएका छन् । युवाले धानेको देशमा युवा जमातलाई नै अवसर, निर्णय प्रक्रिया, सहभागिता, नेतृत्व आदि क्षेत्रबाट टाढा राखिएको छ ।
अहिले रोजगार र अध्ययनका लागि भनेर विदेश जाने युवाको तथ्याङ्क डर लाग्दो छ । अर्कातिर उत्पादनका क्षेत्रहरुमा मानवीय श्रमको अभाव छ । उर्वरखेती योग्य भूमि बाझो पल्टिएको छ । निर्माण कार्यमा आवश्यक पर्ने श्रमशक्ति न्यून हुँदै गएको छ । यसरी उच्च शिक्षा अध्ययन गर्नका लागि युवा विदेश पलायन भएका आँकडा अध्ययन गर्ने हो भने के अब नेपालका कलेज र विश्वविद्यालयका कक्षा कोठा खाली हुने त होइन भन्ने भयावह तस्वीर हाम्रा अघि देखा पर्दछ । बेलैमा परिस्थितिको विश्लेषण र समाधानको लागि पहल हुनु आवश्यक छ । त्यो कलेज र विश्वविद्यालयमा अध्यापन गर्ने प्राध्यापक विद्यार्थीको अभावमा निकम्पा हुने र भौतिक संरचना अण्डहरुमा परिणत हुने त होइनन् । विदेश पलायनको जुन रप्ताार छ त्यो नरोकिने हो भने स्थिति विकराल निम्तिन सक्छ ।
नेपाल सरकार श्रम विभागको पछिल्ले तथ्याङ्क अनुसार २०७९–८० मा मात्रै रोजगारीका लागि ५ लाख ८० हजार ९ सय ६२ पुरुष र ४९ हजार १ सय २८ महिला श्रमशक्ति विदेशिएको छ । रोजगारीका निम्ति बाहिरिनेमा महिलाको संख्या पनि क्रमशः बढ्दो छ । यो त औपचारिक र कानुनी ढंगले गएकाको संख्या हो । अनौपचारिक र गैरकानुनी बाटोबाट विदेशीनेहरुको संख्या पनि ठूलै हुन सक्ने अनुमान गर्न सकिन्छ । उच्च शिक्षा अध्ययनका लागि नेपाल सरकारको शिक्षा मन्त्रालयबाट एनओसी लिएर जानेहरुको संख्या पनि ठुलो छ । २०७४ देखि अहिलेसम्मको आँकडा व्यापक देखिन्छ । प्रत्येक वर्ष विदेशीनेहरुको संख्या बढ्दो छ । जुन रप्तारमा विद्यार्थी बाहिरिँदै छन्, त्यो मुलुकका लागि गम्भीर चुनौती र चिन्ताको विषय हो ।
प्लस टु को अध्ययन पूरा गरेपछि उच्च शिक्षा अध्ययनका लागि किशोरकिशोरीहरु लाखौँको संख्यामा विदेशिँदै छन् । आमाबुबा पनि सन्तानलाई रोक्न सक्ने हालतमा छैनन् । उल्टो नेपालमा बसेर बेरोजगार भई भौतारिनुभन्दा लाखौँ रुपैयाँ खर्च गरेर विदेश पठाउन सकियो भने गुणस्तरीय शिक्षा र सुनिश्चित भविष्य सन्तानको हुने अपेक्षा अभिभावकले ठान्दछन् । बुढेसकालको साहरा भनेर स्वदेशमा राख्ने हो भने सन्तानले जिन्दगीभरी आफूलाई सराप्ने हुन् कि भन्ने डरले मुटुमाथि ढुंगा राखेर विदेश पठाउन बाध्य छन् । युवा विदेश पलायन हुनुका मुख्य दुईवटा उद्देश्य ः रोजगारी र अध्ययन । रोजगारीका लागि जाने शिक्षित र शारीरिक श्रम गर्ने दुवै छन् ।
हामीले न ब्रेनड्रेनलाई रोक्न सकेका छौ न त लेबर दुवै विदेश पलायन भइरहेका छन् । रोजगारी, आकर्षक तलब सुविधा र गुणस्तरीय जीवनका लागि डाक्टर, इन्जिनियर पनि विदेश पलायन भइरहेका छन् । चिकित्सा शिक्षा, इन्जिनियरिङ जस्त विषय अध्ययनका लागि युवा लाखौँ रुपियाँ विदेशमा खर्चिएका छन् । स्वदेशी छन् विदेशका कलेजहरुमा लगानी भइरहेको छ ।
नेपालले गरिबी र आर्थिक असमानता घटाउन बेरोजगारी घटाउने अथक प्रयास गर्नैपर्छ यही नै आत्मनिर्थरता र पौरखको आधार हो । राजनीतिक तथा सामाजिक सुधारको मार्ग पनि हो । बेरोजगारी समस्या एक्दै आउँदैन । यसले विभिन्न आर्थिक, सामाजिक र राजनीतिक, दूस परिणामहरु पनि सँगै लिएर आएको हुन्छ । बेरोजगारीले गरिबी, चोरी, डकैती, अपहरण, हत्या, चेलीबेटी बेचबिखन, लागु औषध ओसारपसारलगायत अन्य विभिन्न सामाजिक अपराध बढाउँछ । उत्पादनको एउटा मुख्य साधन जनशक्ति बेरोजगार हुँदा उत्पादनमा कमी हुने हुनाले आर्थिक वृद्धि पनि अपेक्षित रुपमा हुँदैन । नेपाल प्राकृतिक स्रोत र सम्पदाले भरिएको विकासोन्मुख राष्ट्र भएको हुनाले यहाँका धेरै क्षेत्रमा विकास गर्ने सम्भावना बाँकी छ । उत्पादनका साधनको पूर्ण क्षमतामा उपयोग, हुन सकेको छैन ।
बेरोजगारीले युवाका सपना र आकांक्षा मात्र कुण्ठित पार्दैन, राष्ट्रको विकास प्रयासलाई समेत कमजोर पार्छ । आजका युवामा गुमेको अवसर, खेर गएको सम्भावना र निराशाको भावना व्याप्त छ । विदेश जाने भिसा लागे पछि जीवनको स्वर्णिम ढोका खुलेको ठानेर खुसीले बुरुक्क उफ्रिने युवालाई स्वदेशमै सम्भावना देखाएर रोक्न नसकुन्जेल हाम्रो देशका अनमोल प्रतिभा पलायन रोकिँदैन । युवालाई स्वदेशमै रोक्ने चुनौती देखिएको छ । युवाको यस किसिमको विदेश पलायनले हाम्रा गाउँघरहरु वृद्धवृद्धा, महिला र बालबच्चा मात्र भएको देशमा रुपान्तरित हुँदै छ ।
यति मात्र होइन छोराही विदेशमा र बुहारीहरु छोराछोरी भनेर सहर झर्दा गाउँहरु तिनै असहाय वृद्धवृद्धाहरुमा मात्रै सम्वेदनशील बस्ती बन्दै छन् । युवा जनशक्ति नभएकाले बिरामी पर्दा अस्पताल पु¥याउने र मर्दा लास उठाउने मानिसको अभाव हुँदै गएको कुरा गाउँघरतिर सुन्न थालिएको छ तर यो अवस्थाको व्याख्या र विश्लेषणको मात्रै धेरै महत्व छैन ।
मुलुकको राजनीतिले युवामा देशभित्रै र विश्वास जगाउन सक्नुपर्छ । युवामा देशभित्रै केही गर्नुपर्छ भन्ने विश्वास जगाउनु पर्दछ । साधन स्रोतको हिसाबले नेपाल गरिब छैन । उपलब्ध साधन र स्रोतको समूचित प्रयोग गर्न नसकेर हामी अविकसित र गरिब भएका छौ । मुलुक भित्रका स्रोत साधनको समूचित प्रयोग नै देश विकासको आधार हो । मुलुकको राजनीति पनि तद्नुरुप स्थिर, दृष्टिकाणयुक्त, योजनावद्ध, लक्ष्यकेन्द्रित र संकल्पवद्ध हुन जरुरी छ, जुन हुन सकेको छैन । यही कारण युवा पंक्तिमा व्यापक निराशार असन्तुष्टि उन्पन्न भइरहेको छ, परिमाण स्वरुप युवावर्ग भविष्य खोज्न् विदेशतिरै कुदिरहेको छ ।
जलस्रोतमा अपार धनी नेपाल भर्खरै थोरै मात्र विद्युत बिक्री गर्ने लक्ष्यमा पुगेको छ । हाम्रा नदीनालाहरुमा हजारौँ मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ । हाम्रा भान्सा र यातायातका साधनमा मात्रै विद्युतको प्रयोग हुन सके पनि पेट्रोल, डिजेल र खाना पकाउने ग्याँस आयातमा गइरहेको अर्बोँ रुपैयाँ जोगिन सक्छ । त्यो रकम अन्य उद्योगमा लगाउन सकिन्छ । यसले रोजगारीका अवसरहरु उपलब्ध गराउन सक्छ ।
धार्मिक पर्यटन नेपालको विकासको अर्को असाध्य सम्भावना बोकेको क्षेत्र हो । पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम, स्वर्गद्धारीलगायतका थुप्रै धार्मिक पर्यटकीय क्षेत्रहरु नेपालमा छन् । जसले आन्तरिक र बाह्य पर्यटनलाई आर्कषण गर्दछन् । सगरमाथा र मुगुको रारा ताल मनोरम प्राकृतिक दृश्य पनि पर्यटनका केन्द्र हुन् । यिनको उपयोग र विकासका निम्ति पर्याप्त पूर्वाधारको आवश्यकता छ । यो नेपालीलाई स्वरोजगार बनाउन सक्ने क्षेत्र पनि हो ।
यिनको समूचित प्रयोगले देशभित्रै लाखौँलाई रोजगारी दिन सकिन्छ ।
सबैभन्दा ठुलो संख्यामा रोजगारीका अवसरहरु सिर्जनाका लागि औद्यौगिकरण मै जानुपर्छ । यसका लागि उद्योगमैत्री वातावरण बनाउनु पर्दछ । उद्योग स्थापनाका लागि सहज कानुनी प्रबन्ध, सरल र सहयोगी प्रशासनिक संरचना, आवश्यक पूर्वाधार र विकास, सुविधा र मुनाफाको सुनिश्चितता भए मात्रै स्वदेशी तथा विदेशी लगानीकताई आकर्षित हुन सक्छ तर सरकारको ध्यान त्यतातिर जान सकेको छैन । औद्यौगिकरण युवाको विदेश पलायनलाई रोक्ने महत्वपूर्ण आधार हो ।
अहिलेको विश्वव्यापीकरणका कारण युवा विश्व बजारमा जता सम्भावना र अवसर देख्दछन् त्यता आकर्षित बन्न पुग्दछन् । मुलुकको गिर्दो आर्थिक अवस्था अस्पष्ट राजनीतिक अवस्था, आँकलन गरिएको विश्वव्यापी आर्थिक मन्दी, जनताको गिर्दो आशा र अपेक्षाबिच धेरै अवरोध पन्छाएर अगाडि बढ्नु पर्ने देखिन्छ । अहिले युवा बेरोजगार हुनुका कारण बजारको माग अनुसारको शिक्षा प्रणाली नहुनु हो । विद्यालय र विश्वविद्यालयका प्रमाणपत्र हातमा लिएको युवा जीवनपयोगी र व्यवहारिक सिपको अभावमा श्रम बजारमा भौतारिरहेको हुन्छ । यो उद्यमशीलताको अभावका कारण भएको हो ।
युवा बेरोजगारीको परिणाम गरिबी र असमानता बढिरहेको छ । आफ्नो योग्यता र चाहना अनुरुपको रोजगारी मुलुकभित्र नपाएपछि युवा पलायनको दर बढेर जान्छ । उद्यमशीलतालाई प्रोत्साहन गरी युवा स्वरोजगारीमा वृद्धि गर्नु पनि बेरोजगारी अन्त्य गर्ने पहिलो प्रयास वा खुट्किलो हुन सक्छ । कृषिमा आधुनिकीकरण र ग्रामीण क्षेत्रको पूर्वाधारको विकास गर्नाले केही हदसम्म मुलुकमा सम्भावनाका ढोका खुल्न सक्दछन् ।