लकडाउनको प्रभाव : व्यस्त कार्यालयका फुर्सदिला ‘हाकिम’

इन्द्र डिसी

दाङ, १० बैशाख । बिनोद पौडेल जिल्ला मालपोत तथा भूमिसुधार कार्यालय दाङका प्रमुख हुन् । लकडाउनपूर्व उनलाई चिया–नास्ता खाने समय मिलाउन सकस थियो । तर कोरोनाको संक्रमणबाट जोगिन मुलुक लकडाउनमा गएसँगै उनको दिनचर्या फेरिएको छ । ‘लकडाउनसँगै घरमा बसेको छु, आवश्यक परेपछि मात्र कार्यालय जाने गरेको छु’, कार्यालय प्रमुख पौडेलले भने । शुरुका दिनमा कामको धपेडीबाट रेस्ट पाएको जस्तो लागे पनि समय लम्बिदै गर्दा उनलाई अब भने अल्छी लाग्न थालेको छ । ‘काम छैन, सामाजिक सञ्जाल प्रयोग गर्ने र घरायसी काममा सघाउने नै दैनिकी भएको छ’, प्रमुख पौडेलले भने । उनले यो अवधिमा कोराना र लकडाउले पारेको प्रभावको गीत फेसबुकमा पोष्ट समेत गर्न भ्याएका छन् । ‘मुड चलेपछि सिर्जना गर्छु, यो अवधिमा झण्डै ३ वटा गीत फेसबुकमा राखेको छु’, प्रमुख पौडेलले भने ।

उनले नेतृत्व गरेको मालपोत कार्यालय सरकारी कार्यालयमध्ये सेवाग्राहीको अधिक चाप हुने कार्यालयका रुपमा चिनिन्छ । विगतमा घर जग्गाको कारोवार जिल्ला सदरमुकाम रहेको यही कार्यालयबाट मात्र हुने गरेको थियो । तर केही वर्षयता तुलसीपुर र लमहीमा पनि मालपोतका कार्यालय स्थापना भएका छन् । लमही र तुलसीपुरमा कार्यालयबाट सेवा प्रवाह भए पनि सेवाग्राहीको चाप अझै कायम नै भएको प्रमुख पौडेलले बताए । ‘कार्यालय सञ्चालनको समयमा कामको धेरै चाप हुन्छ । चिया नास्ताको समय मिलाउन समस्या हुन्छ । त्यो परिस्थितिमा काम गरेको मान्छे, यसरी लामो समय खाली बस्दा छटपट्टी लाग्छ’, उनले भने– ‘कामै छैन, ज्यान बेकामे भएको छ ।’

त्यसैगरेर नापी कार्यालय दाङका प्रमुख केशवराज लेखक पनि आजभोलि फुर्सदिला छन् । लकडाउनपूर्व नै उनी विदामा थिए । ‘विदामा बसेको बेला सरकारले लकडाउन गरेकोले घरमै बसेको छु’, प्रमुख लेखकले भने– ‘लकडाउन पूर्णरुपमा पालना भएको छ ।’ घरमा बसेर अध्ययन, फिल्म र समाचार हेर्न गरेको प्रमुख लेखकले बताए । ‘कार्यालयमा बस्दा समय मिलाउनै समस्या थियो, तर आजभोलि घरमा बसेर दिक्क नै भैसक्यो’, उनले भने– ‘समयमा बाँधिएर काम गरेको मान्छे, दिनभरी खाली बस्दा के न के भुलेको जस्तो लाग्दो रहेछ ।’ कोरोना संक्रमणसँगै जोगाउन सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको हो । लकडाउनको समय चौथो पटक थप गरेर सरकारले बैशाख १५ सम्म पुराएको छ । यो समयमा अति आवश्यकबाहेक सबै कार्यालयले सेवा बन्दै नै गरेका छन् । जिल्ला प्रशासन, प्रहरी, स्थानीय तह, जनस्वास्थ्यबाहेक अधिकांश सरकारी कार्यालयको सेवा बन्दजस्तै छ । सेवा बन्द भएपछि कार्यालयमा प्रमुख र अन्य कर्मचारी फुर्सदिला नै छन् ।