प्रधानमन्त्रीलाई चिठ्ठी

विजय जिएम

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार ।

देश लकडाउन भएको आज २९ दिन पुगेको छ । आजको दिनसम्म म आरामै छु । मलाई आशा छ तपाईं पनि बालुवाटारमा सञ्चै हुनुहुन्छ होला भन्ने विश्वास लिएको छु । कोरोना भाइरस महामारी विरुद्धको लडाईमा तपाईं अग्रभागमा हुनुहुन्छ । रात–दिन खटिरहनुभएको छ । मलाई अत्यन्त खुशी लागेको छ । एउटा नागरिकको हैसियतले मेरो मनमा लागेका गुनासो, जिज्ञासा, सल्लाह र सुझाव तपाई समक्ष पोख्दै छु । प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, म कसैको छौंडा पनि होइन । सरकार विरुद्ध कूप्रचार गरेको पनि होइन । म जस्तो निम्छरोको गुनासो र जिज्ञासालाई सकारात्मक रुपमा लिनुहुनेछ ।

एउटा सचेत नागरिकको हैसियतले तपाईले देश र जनताको नाममा सम्बोधन गरिरहँदा अत्यन्त चासोका साथ सुन्ने र हेर्ने गर्दछु । मेरो देशको प्रधानमन्त्री देश र जनताको निम्ति बोलिरहँदा कुन नागरिकलाई सुन्ने र हेर्ने कौतुहलता ह“ँदैन र ?

प्रधानमन्त्रीज्यू, तपाईंले भन्नुभएजस्तै जसरी होटलमा जाँदा सुमधुर धुन सुन्न पाइन्छ, त्यस्तै सुमधुर धुन तपाईंले गरेका जनमुखी कामहरुबाट सुन्न पाइयोस् । हामी सरकार र तपाईं विरुद्ध कुनै पनि जनताले वा विपक्षले कर्कस धुन बजाएको सुन्न चाहँदैनौँ । हामी कर्कस धुन होइन, सुमधुर धुन सुन्न चाहन्छौँ । तर विडम्बना बेलाबेलामा कर्कस धुन बजिरहेको हुन्छ । लौ ! ठीक छ, विपक्ष पार्टीहरुले त बजाउने नै भए । उनीहरुको कर्तव्य पनि हो, तर जनताले किन कर्कस धुन बजाइरहेका छन ? मलाई आशा छ जनताले बजाइरहेको कर्कस धुनलाई गम्भीर भएर सुन्ने प्रयास गर्नुहुनेछ । हजुरले गुगल पनि सर्च गर्नुहुँदोरहेछ । यो थाहा पाएर म अत्यन्त हर्षित भएको छु । हजुरले गुगल सर्च गर्दै गर्दा जनताका आवाज, विचार र प्रश्नहरु के–कस्ता छन् भनेर खोज्ने कष्ट गरिदिनुहोला । कर्कस धुन बजाउनेहरु सबै विपक्ष मात्र हुँदैनन् । तपाईंलाई विश्वास र भरोसा गर्ने जनताले पनि कर्कस धुन बजाइरहेका छन् ।

सबै कर्कस धुन बजाउनेहरु विपक्ष नै हुन भन्ने दोषीचश्माबाट मुक्त हुनुहोला । जनताले कर्कस धुन किन बजाइरहेका छन् ? कारण खोतल्ने प्रयास गर्नुहोला । प्रजातान्त्रिक पद्धतिमा जनता नै सर्र्वेसेवा हुन् । तसर्थ, जनभावनालाई सम्बोधन गर्ने कोशिस गर्नुहोला । जनता तपाईंकै साथमा छन् । जनभावनालाई विश्वास गर्नुहोला ।

प्रधानमन्त्रीज्यू, देश र जनतालाई टेलिभिजनमार्फत् सम्बोधन गरिरहँदा म तपाईको अनुहार र प्रस्तुती रिडिङ गरिरहेको हुन्छु । मेरो प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ? भनेर मैले तपाईंको अनुहार र प्रस्तुती रिडिङ गरिरहेको हुन्छु । मेरो प्रधानमन्त्रीको कन्फिडेन्स र दमदार प्रस्तुती हेर्दा मलाई गर्व लाग्छ । तर तपाईंका वरिपरिका मान्छेका काण्डहरुको बारेमा कुरा सुन्दा र बुझ्दा भने मलाई पीडा हुन्छ । मेरा प्रधानमन्त्रीले कस्ता मान्छे राख्नुभएछ भनेर सोच्न वाध्य हुन्छु । तपाईका वरिपरिका मान्छे जो काण्डमा मुछिएका छन् तिनीहरुको बारेमा सुक्ष्म अध्ययन गर्नुहुनेछ भन्ने मैलै विश्वास लिएको छु । तिनीहरुलाई संरक्षण गर्नुहुने छैन । सत्य–तथ्य लुकाउन राज्यका संयन्त्र प्रयोग गरिने छैन । दोषी सावित भएको खण्डमा कडाभन्दा कडा कार्वाही गर्नुहुनेछ भन्ने आशा लिएको छु । तपाईका वरिपरिका मान्छेहरुका गलत स्वार्थका कारण तपाईंलाई गलत सरसल्लाह दिन सक्छन् । तपाईका वरिपरिका मान्छेहरु छेपारो प्रवृत्तिका हुन पनि सक्छन् । सचेत रहनुहोला । मलाई थाहा छ, देशमा भएको सीमित पूर्वाधार, जनशक्ति र स्वास्थ्य सामग्रीका वावजुद पनि कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि राज्यका सम्पूर्ण शक्तिले काम गरिरहेका छन् । तर काम गरेर पनि काम नगरेको जस्तो छ । मलाई तपाईं नेतृत्वको सरकारले जति तीव्र गतिमा काम गर्नुपर्ने हो, काम गर्न नसकिरहेको अवस्था छ । निजी कम्पनीले विदेशबाट स्वास्थ्य सामग्री खरिद गरिरहेका छन् तर सरकारले अहिलेसम्म पनि किन खरिद गर्नसकेको छैन ।

प्रधानमन्त्रीज्यू, मैले भन्नैपर्छ, तपाईंका वरिपरिका मान्छेहरु ठीक छैनन् । उनीहरुको बोलीवचन, व्यवहार, शैली र प्रस्तुती छुच्चो, पाखण्डी र आडम्बरयुक्त छ । जनतालाई अपच हुने किसिमका छन् । तुरुन्त सच्याउन निर्देशन दिनुहोला । तपाईंले सल्लाहकार टिम फेर्ने कुरा बाहिर आएको थियो । यो कुरा सुनेर म धेरै खुशी भएको थिए । तर खोई किन हो केही सल्लाहकार पुरानै राखेर केही नया“ सल्लाहकार नियुक्त गर्नुभएछ । तर मलाई ती नयाँ नियुक्त सल्लाहकारहरु त झन पहिलेकाभन्दा पनि असामाजिक, अव्यावहारिक र घमण्डी लागेको छ । तपाईंका सल्लाहाकारले त झन श्रमिकहरुको नेतृत्व गर्नुभएको हो, तर श्रमिकहरुबीच बाटोमै अलपत्र परेर कारुणिक रोदन गर्दासम्म पनि किन तपाईंलाई सल्लाह सुझाव दिनुभएको छैन ? किन व्यवस्थापन गर्न ढिलो भइरहेको छ ? कुनै विषयको बारेमा बोल्नुप¥यो भने विज्ञको सल्लाह सुझाव लिएर मात्र आफ्ना भनाई राख्नुहोला ।

प्रधानमन्त्रीज्यू, देश र जनताको नाममा सम्बोधन गर्ने क्रममा भन्नुभयो मिडिया र सामजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावलाई निहित सवार्थ पूरा गर्न चलाइएका प्रचारवाजी बेमौसमी बाजाको संज्ञा दिनुभयो । यो भनाइप्रति मेरो चित्त दुखेको छ । मिडिया र सामाजिक सञ्जालमा आएका आलोचना, टिप्पणी र सुझावहरु सबै वेमौसमी बाजा होइनन् प्रधानमन्त्रीज्यू । केही त मौसमी बाजा नै हुन् । सबै वेमौसमी बाजा हुन् भन्ने भ्रमबाट मुक्त हुनुहोस् । स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भयो भन्ने जनआवाजलाई पनि निराधार कूप्रचार हो भनेर स्वास्थ्य सामग्री खरिद प्रकरणमा संलग्नहरुको संरक्षण गर्न खोज्नुभएको हो भन्ने मेरो बुझाई रहेको छ । भ्रष्टाचार नगर्ने र हुन नदिने सरकारको प्रतिबद्धतामाथि नै शंका लागेको छ । प्रधानमन्त्रीज्यू, हजुरले म भ्रष्टाचार पनि गर्दिन र भ्रष्टाचार पनि हुन दिँदैन भन्ने प्रतिबद्धता मेरो कानमा गुञ्जिरहेको छ । मलाई थाहा छ तपाईंको सबै सम्पत्ति ट्रष्टलाई दान दिने घोषणा गर्नुभएको छ । तपाईंको यो घोषणप्रति म नतमस्तक छु । तपाईंप्रति मेरो शंका र गुनासो होइन । तपाईंको भ्रष्टाचार विरोधी छविप्रति म र जनताले विश्वास गरेका छन् । तर प्रधानमन्त्रीज्यू, तपाईको टिम तपाईजस्तै निःस्वार्थ र जनताप्रति उत्तरदायित्व भएको हेर्न चाहन्छु ।

तपाईंको भ्रष्टाचार विरुद्धको प्रतिवद्धतालाई तपाईंकै टिमका मान्छेहरुले उपहास त गरिरहेका छैनन् ? भन्ने प्रश्न चिह्न खडा भएको छ । देशभित्र र देश बाहिर अलपत्र अवस्थामा रहेका नागरिकको उद्धार र व्यवस्थापन गरेर राष्ट्रिय एकताको परिचय दिने हो कि प्रधानमन्त्रीज्यू ? सीमानालगायत देशका विभिन्न भागमा अलपत्र परेका नागरिक कुनै राष्ट्रिय बहकाउमा लागेर देशलाई संकटमा धकेल्न खोजेका होइनन् । बरु सरकारबाट एउटा जिम्मेवार अभिभावक खोजिरहेका मात्र हुन् । प्रधानमन्त्रीज्यूले भन्नुभएझै व्यक्तिको स्मृति छोटो र कमजोर हुनसक्छ, तर इतिहास भने निर्मम हुन्छ । अहिलेको नागरिकका रोदन र दुःखद् भोगाई आगामी चुनावसम्म इतिहास भइसक्नेछ । तर इतिहासले कति निर्मम प्रहार गर्दछ हेर्न बाँकी छ ।

प्रधानमन्त्रीज्यू, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् ढिलै भए पनि सक्रिय बनाउनुभएको छ । यो राम्रो गर्नुभएको छ । तर अहिलेसम्म यो परिषद् गठन किन नगरेको हो ? कतै प्रचण्डले प्रस्ताव गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रण गठनलाई काउण्टर दिन सक्रिय बनाउनुभएको त होइन ? प्रश्न गर्न मन लागेको छ । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले प्रधानमन्त्री नेतृत्वमा अन्य राजनीतिक दलहरुको सहभागितामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् गठनको प्रावधान गरेको छ । आखिर यो राजनीतिक संयन्त्र जस्तै संरचना छ । तपाईको नेतृत्वमा भएका निर्णय कार्यान्वयनको लागि गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति रहने व्यवस्था छ । तर तपाईले नेपालको कानुनले चिनेको वैधानिक संरचना परिषद्लाई पञ्छाएर तपाईंका विश्वास पात्र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाउनुभएको छ । यो आवश्यक नै थिएन ।

अहिले उच्चस्तरीय समन्वय समितिको निर्णय कार्यन्वयनका लागि स्थानीय तहसम्म क्राइसिस म्यानेजमेन्ट सेण्टर बनाइएको छ । क्राइसिस म्यानेजमेन्ट सेण्टरको सञ्चालन सैन्य कार्यलयबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले गरिरेहको छ, जुन राम्रो होइन । कोभिड रोकथाम तथा नियन्त्रण गृहमन्त्रालयको कार्यक्षेत्रभित्र नै पर्दछ । तर गृहमन्त्रालयको जस्तो अर्को समानान्तर संरचनाको निर्माणले हो कि गृहमन्त्री पनि चुप लागेर बसेका छन् । जति गर्जिनुपर्ने हो गर्जिनसकेका छैनन् । प्रधानमन्त्रीज्यू, तपाईंकै कार्यकालमै विगतमा भएका भ्रष्टाचारका काण्डहरु छताछुल्ल भएका हुन् । सुन तस्कर काण्ड, वाइडबडी काण्ड, निर्मला काण्ड, बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रेस काण्ड, महरा काण्डलगायत अनेकौँ भ्रष्टाचारका काण्डहरु तपाईंकै कार्यकालमा बाहिर आएका हुन् । मलाई लागेको थियो अब भ्रष्टाचारीहरुलाई कार्वाही हुनेभयो, देश भ्रष्टाचार मुक्त हुनेभयो भनेर धेरै खुशी भएको थिएँ । तर प्रधानमन्त्रीज्यू, काण्डमा संलग्न व्यक्तिहरुलाई के–के कार्वाही गर्नुभयो ? अनुसन्धान प्रक्रिया कहाँसम्म पुग्यो ? जनता तपाईंकै मुखबाट सुन्न चाहन्छन् । जनता अलपत्र परेको कुरा तपाईंको प्रहरी र सिडिओलाई थाहा छैन, तर पत्रकारलाई थाहा छ । प्रधानमन्त्रीज्यू, कतै राज्य संयन्त्रले प्रभावकारी तरिकाले काम गर्न नसकेका हुन कि ? बुझ्नु जरुरी छ ।

घरभित्रका भाँडाहरु समय समयमा बजिरहेको हुन्छ । अनिकालको समयमा घरभित्रका खाली भाँडाहरु बज्नु स्वभाविक भए पनि घरभित्रका भाँडाहरु किन बजिरहेका छन् ? जनताले पार्टीको घोषणा–पत्र हेरेरै जनताले भोट दिएका हुन । जनअभिमतलाई अपहेलना नगर्नुहोस् । कुनै निर्णय गर्नुभन्दा पहिला पार्टीमा छलफल गरेर राय सुझाव मागेर निर्णय गर्नुहोस् । तपाईं बहुमत प्राप्त सरकारको प्रधानमन्त्री भएर पनि एक्लै यात्रा गरिरहनुभएको छ । पार्टीमा छलफल नै नगरेर निर्णय गर्ने बानी आजैदेखि त्याग्नुस् । पार्टीभन्दा ठूलो तपाईं होइन । पार्टी नै नरहे तपाईं पनि कहाँ रहनुहोला र ? तपाईंका हनुमानहरुका कुरा मात्र नसुन्नुहोस् । जुन दिन तपाईंका वरिपरिका मान्छे र कोटरीबाट बाहिर निस्कनुहुन्छ त्यो बेला तपाईंसँग न पार्टी न जनता साथमा रहनेछन् । यो कुरा प्रधानमन्त्रीज्यूले बेलैमा बुझिदिनुहुन अनुरोध छ । यो संकटको समयमा जुट्नेबेला पार्टी फुटाउने अध्यादेश किन आवश्यकता प¥यो ? के यो उपयुक्त समय हो ? पार्टी फुटाउने तयारी त होइन ? पार्टी फुटको पीडा त थाहा नै छ । प्रधानमन्त्रीज्यू, यो बेमौसमको बाजा हो ।
अन्त्यमा प्रधानमन्त्रीज्यू, सबैलाई विरोधी देख्ने दोषी आँखाको तुरुन्त उपचार गर्नुहोला । तपाईंका वरिपरिका मान्छेहरुको मात्र कुरा नसुन्नुस् । सबैका कुरा सुन्नुहोस् र निर्णय आफै गर्नुहोला । प्रजातान्त्रिक विधि र प्रक्रियालाई पालना गर्नुहोला । यो निम्छरोले के बेमौसमको बाजा बजाइरहेको भनेर नभन्नुहोला । तपाईंको सुस्वास्थ्यको कामना सहित बिदा हुन चाहन्छु । धन्यवाद ।