व्यवसाय सहजकर्ता पुरस्कृत
पार्वती बस्नेत
दाङ, २१ चैत । दाङ जिल्लाका तीन जना सामुदायिक व्यावसाय सहजकर्तालाई प्रोत्साहन पुरस्कारले सम्मान गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा आइडिइ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा जिल्लाका ५ वटा पालिकामा सञ्चालन भइरहेको रिप्लान्ट परियोजना अन्तर्गत काम गर्दै आएका २४ जनामध्ये ३ जना सामुदायिक व्यवसाय सहजकर्तालाई उत्कृष्ट काम गरेवापत सम्मान गरिएको हो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता तथा आइडिइ नेपालका क्षेत्रीय फिल्ड संयोजक कल्पना धितालको प्रमुख आतिथ्यता र आइडिइ नेपालका दाङ जिल्ला प्रमुख जङ्ग गुरुङको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको सामुदायिक व्यवसाय सहजकर्ताका लागि अन्तिम समीक्षात्मक बैठक तथा सम्मान स्वरुप पुरस्कार वितरण कार्यक्रममा तीन जनालाई सम्मान गरिएको हो ।
कार्यक्रम संयोजक हितबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि गुरुङले परियोजनाबाट प्रदान गरिएको पिक्स ब्यागसम्बन्धी सचेतनामूलक कार्यक्रमले कृषकले उत्पादन गरेको अन्न बालीमा हुने क्षति न्यूनीकरणमा अहम् भूमिका खेलेको बताए । साथै सानो सहयोगले पनि आर्थिक रूपमा ठुलो प्रभाव पारेको भन्दै जिल्लामा करिब २७ लाख रुपैयाँको पिक्स ब्यागकोे कारोबार भएको र यसको प्रयोगले करिब ६ सय ६० जनालाई पुग्ने खाद्यान्न आयात समेत रोकिएको भन्दै आर्थिक रूपमा प्रभाव पारेको बताएका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कल्पना धितालले यस परियोजनालाई सफल बनाउन सामुदायिक व्यवसाय सहजकर्ता मेरुदण्ड भएर काम गरेको उनले बताइन् । स्थानीय उत्पादन, स्थानीय प्रवर्धनलाई आर्थिक रूपमा सक्षम बनाउन पनि परियोजनामा उनीहरूको महत्वपूर्ण भूमिका रहेको बताइन् । यसैगरी कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले यस परियोजनाले समुदायमा सचेतना जगाएको र यसलाई प्रवर्धन गर्ने काम गरेको बताइन् ।
जुनसुकै काम गर्दा पनि लगनशील, मिहिनेत र इमानदार भएर काम गरे सफलता हासिल गर्न सकिने उनको भनाइ थियो । कार्यक्रममा बोल्दै सामुदायिक व्यवसाय सहजकर्ता लमही निवासी प्रतिमा चौधरीले यसै परियोजनाले आफूलाई बोल्ने कला, व्यापार गर्न सक्ने हैसियतको बनाएकोमा धन्यवाद व्यक्त गरिन् । परियोजनाबाटै आफूले अहिले प्लान्ट डाक्टरको रूपमा समेत परिचय स्थापित गर्न सक्षम भएकाले संस्थालाई धन्यवाद समेत दिइन् ।
कार्यक्रममा सामुदायिक व्यवसाय सहजकर्ताहरू मनिषा थारू, गायत्री थापा, अल्बर्ट चौधरी, रेमन्ता पुनलगायतले आ–आफ्नो भनाइ राखेका थिए भने कार्यक्रमको सहजीकरण कर्जा सुपरभाइजर कमला शर्माले गरेकी थिइन् ।