Goraksha

National Daily

चारगुणा बढी मतले चुनाव जित्दा…

मिजासिलो व्यवहार । सामाजिक सेवा भावले हुरुक्कै बन्थे उनी । फलतः सामाजिक सेवा भावमा तल्लीन हुने हुटहुटीले असल सामाजिक अभियन्ता बन्न प्रेरित गरिरहन्थ्यो लमही नगरपालिका वडा नम्बर २ बरुवागाउँका नेपालु चौधरीलाई । फलतः यही सामाजिक सेवा गर्ने उधुम चाहनाले उनलाई राजनीतिक मार्गमा डो¥यायो ।

सामान्य कृषि पेसाबाट आश्रित थियो उनको परिवार । राजनीतिक परिवेशको पारिवारमा जन्मिएका चौधरीले सानैदेखि राजनीतिमा सक्रिय रहने मौका पाए । राजनीतिकै आडबाट उनले आफू समाजको सेवामा सक्रिय रहेको बताए । उनको स्वभाव र सहयोगी मनले वडाबासीमा प्रभाव पार्दै गए । उनलाई खोज्नेको सङ्ख्या बढ्दै गयो । जबकी पञ्चायतकालमा कसलाई हराउने र जिताउने भन्ने निर्णय चौधरीले मात्र गर्न सक्थे । उनी भन्छन् ‘म जुन प्यानलमा उभिन्थे, त्यही प्यानल विजयी भएर प्रधान हुन्थे ।’

निर्वाचनमा आफ्नो निर्णायक भूमिका बनेको त्यो क्षणलाई नेपालु आफ्नो खुसीको क्षणका रूपमा सम्झन्छन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका चौधरीले पञ्चायतकालमा पनि कांग्रेसका उम्मेदवारलाई जिताउन भरपुर भूमिका खेल्थे र कांग्रेसकै उम्मेदवारले बाजी पनि मार्थे । राजनीतिसँगै व्यवसायिक क्षेत्रमा समेत हात हाल्ने निधो गरेका नेपालुले फर्निचर व्यवसायलाई अँगाल्न पुगे । व्यवसाय सञ्चालन गरे पनि समाजको सेवामा कमी भने हुन दिएनन् उनले । विभिन्न संघसंस्थाको नेतृत्वमा रही उनी निरन्तर सामाजिक सेवामा रही रहे । सामुदायिक वनको अध्यक्ष हुँदै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत भएर उनले अनुभव बटुलेका छन् ।

सधै हक्कि स्वभावका उनलाई २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाबासीले वडाध्यक्ष लड्न भनी सुझाए । वडाको अत्यधिक मत आफ्नो पोल्टामा पारेर उनलाई चुनाव जित्छु भन्ने भरपुर विश्वास थियो । नेपाली कांग्रेसबाट टिकट पाए अनि निर्वाचनमा भिडे । जनताको मनमा सजिलै स्थान बनाउन सक्ने उनी दोब्बर मतले विजयी बने । नागरिकको प्रतिनिधि बनेर आम नागरिकको सेवामा खट्ने थलोमा पुग्ने यो अवसर उनका लागि झनै ठुलो खुसीको पल बन्यो ।

उनी भन्छन् ‘मेरो ९ सय २७ मत आउँदा विपक्षीको झन्डै ४ सय मत थियो ।’ साँच्चिकै हरेक बेला जनताको सेवामा लागिरहँदा र चुनावमा जाँदा वडाबासीले गरेको विश्वासप्रति उनले प्रफुल्लित भएको सुनाए । पहिलो जनप्रतिनिधि बनेका उनीमा काम गर्ने चुनौती र अवसर पनि थिए । ‘तर म नअत्तालिएर सेवामा लागिरहेँ’ उनी भन्छन् ‘सधै यही काम गरेको त होनी, झन् नेतृत्व तहमा अधिकार सहित जनताको सेवामा लाग्दा बडो आनन्द आउथ्यो ।’ जब उनी वडाध्यक्ष भएर काम गर्न थाले उनले समग्र वडाको मुहार फेरिदिए । उनको वडामा काम हुनका लागि कार्यपालिकाले योजना छुट्याउनै पर्दैनथ्यो । ‘मेरो वडामा पहिले काम भइसक्थ्यो अनि पछि जहिले बैठक बस्यो त्यसबेला योजनाको शीर्षक दिएर बजेट छुट्याउँथे’ उनले सुनाए ‘काम गर्नको लागि रातो किताब (योजना किताब) नै किन कुर्न प¥यो, पहिले त काम हुनु प¥यो ।’

साँच्चिकै विकास निर्माणले अत्यन्तै गति लिएको थियो त्यस वडामा । वडाका बाटा घाटा, नाला निर्माण, खानेपानी, शिक्षा विद्युतलगायतका क्षेत्रमा थुप्रै काम गरेको उनी बताउँछन् । लमही नगरपालिका भरिमा सबैभन्दा अघि वडा नम्बर २ ले आफ्नै वडा भवन निर्माण गरि सेवा दिएको उनी सुनाउँछन् । वडामा रहेर काम गर्दा सधै वडाबासीसँगको सल्लाह र सहकार्यमा उनले कार्यकाल बिताए ।

लगत्तै २०७९ सालको निर्वाचनमा पनि जनताले उनैलाई वडाध्यक्ष लड्न अनुरोध गरेको उनी भन्छन् । ‘जनताको कुरालाई काट्न सकिन, तपाईँ नै चाहियो भनेपछि वडाध्यक्ष फेरि लड्ने निधो गरेँ’ उनले भने । उनी फेरि दोस्रो कार्यकालका लागि वडाध्यक्ष पदमा चुनावमा होमिए । ‘यो पटक त झन सोच्नै नसक्ने मत पो आयो’ उनी खुसी हुँदै भने ‘विपक्षीलाई त चौवल बढी मतले पो जितेँ’ ।

चौधरीको पोल्टामा दुई हजार मत आउँदा विपक्षीको पक्षमा यसको एकचौथाइ कम मत आएको थियो । जनताले भोटमार्फत् दिएको यो माया सानैदेखि समाजको सेवामा रहेको प्रतिफलका रूपमा उनी सुनाउँछन् । जनताले फेरि काम गर भनी सुम्पिएको यो पद र यो जिम्मेवारी सधै जनताकै पक्षमा लगाइरहने उनी बताउँछन् । ‘जनताले चौवल मत दिएर जिताउँदा र जनताका सुखदुःखमा रहेर काम गर्न पाउनु यो अवसरलाई म अविस्मरणीय क्षणको रूपमा लिएको छु’ उनले भने । ५८ वर्षीय उनी हाल सोही वडाको वडाध्यक्ष पदमा रही निरन्तर सेवामा तल्लिन छन् ।
प्रस्तुती ः टेकबहादुर पुन