Goraksha

National Daily

संस्कृति र संस्कार हाम्रो पहिचान

नारायणप्रसाद श्रेष्ठ

मानिस सामाजिक प्राणी हो । समाज उसको बाँच्ने आधार हो । बिहान उठेदेखि राति नसुतेसम्म र खान, बस्न, घुम्नको लागि पनि समाज मानव जातिको लागि आवश्यक पर्दछ । मानिस र समाजको सम्बन्ध नङ र मासु सरहको हुन्छ । समाजले स्थापित रहनसहन संस्कृति र संस्कारबाट नै मानिसले आफू र आफ्नो परिवेशलाई निश्चित गन्तव्यमा गतिशील बनाउन सक्ने हुँदा संस्कृति र संस्कार हाम्रो भविष्य निर्माणको गोरेटो हो भन्ने कुरामा दुई मत पाइँदैन । संस्कृति हाम्रो जिउने आधार पनि हो ।

संस्कृतिले निर्धारण गरेको अनुशासित जीवनशैलीबाट नै मानव चेतनाले आफूलाई सही र आचरणयुक्त कर्म र व्यवहारमा रुपान्तरण गर्ने सामर्थ जुटाएको हुन्छ । प्रेम र आपसी सद्भावको वातावरण सिर्जना गरेको हुन्छ । एक अर्काबिच प्रगाढ सम्बन्धको परिस्थिति बनाएको हुन्छ । आत्मियता बढाएको हुन्छ । सरसर्ती हेर्दा प्रत्येक वर्ष मनाइने चाडपर्व रितीथितिले सामान्य रुपमा मानिसलाई चेतनाको अभिवृद्धि गराएको मात्र देखिन्छ । तर गम्भीर भएर विचार गर्ने हो भने यस चाडपर्व मेलाजात्राले जुन संस्कृति बोकेको छ, जसरी समाजलाई संस्कारयुक्त बनाएको छ । त्यसले जीवनदर्शनको व्याख्या र विश्लेषण गर्दै आएको कुरा नकार्न सकिँदैन । आपसी भाइचाराको वृद्धि गर्दै सामाजिक मतभेत हटाउने कार्यमा संस्कृति र संस्कारले अहम भूमिका निर्वाह गरेको पाइन्छ । सँगै बाँच्ने, सँगे जिउने र सँगसँगै मर्ने यस्तो किसिमको वातावरण सिर्जना गर्नु पनि हामीलाई संस्कृतिले सिकाएको छ ।

संस्कृतिले निर्माण गरेको सामाजिक संस्कार र संस्कारले सिकाएको अनुशासित जीवनशैलीले मानिसलाई बाँच्न र मनोरञ्जन गर्ने वातावरण सिर्जना गरेको हुन्छ । कर्म र व्यवहारमा परिस्कृत गरी सामाजिक आदर्शको गन्तव्य निर्धारण गरेको हुन्छ । हलो हाईदेखि आत्मिय मित्रता बढाउँदै प्रेम र सद्भावको यात्रामा मानव चिन्तन मुखरित गर्न संस्कारले प्रोत्साहित गरेको हुन्छ । घर, परिवार, समाज राष्ट्रप्रतिको जिम्मोवारी महसुस गराउँदै दायित्व र कर्मप्रति मानवको जिम्मेवारी र अनुशासित जीवनशैली कायम गर्दै समाजलाई निश्चित गोरेटोमा लैजाने प्रतिवद्धता बढाउँदै गएको हुन्छ । समाजमा भए गरेको कुरिती र आडम्बरलाई क्रमशः पन्छ्याउँदै आडम्बर र अहमकारप्रतिको मानव चिन्तन हटाउन संस्कार कोसे ढुंगा भएर प्रस्तुत भएको पाइन्छ ।

मानव चेतनाले स्वीकार गरेको संस्कृतिबाटै समाज परिस्कृत हुने कुरामा दुईमत नहोला । तसर्थ समाज हाम्रो हो यसमा भए गरेका कुरिती हटाउने जिम्मेवारी मानव आचरण र व्यवहार नै हो । हाम्रो संस्कृतिले सिकाएको हाम्रो आचरण हाम्रो भविष्यको उज्यालो हो भन्ने ठानी आफू र आफ्नो परिवेशलाई विस्तारै आदर्श विचार प्रतिपादन गर्ने थलोको रुपमा रहेको हाम्रो संस्कृतिलाई विकास गर्नु परेको छ । हाम्रो विचार र चिन्तनलाई परिस्कृत गर्दै संस्कृतिले सिकाएको परम्परागत आदर्शलाई बिर्सन हुँदैन । अर्को कुरा मानव जीवनले प्रतिपादन गरेको र संस्कृतिले सिकाएको शिक्षाबाट नै विश्वासको धरातल बलियो बन्ने हुँदा यसतर्फ पनि सबै गम्भीर बन्नु पर्दछ । त्यसैले आस्था र विश्वासको धरातल बलियो बनाई सर्वहिताय सर्वसुखायको हाम्रो मान्यतालाई स्थापित गर्न सबै जागरुक हुनु परेको छ ।

सामाजिक संस्कारमा देखिएका विविध गतिविधिले मानिसलाई आगामी जीवनको उज्यालो भविष्यको निर्धारण सिकाइरहेको हुन्छ । यस कुरालाई मनन गर्ने हो भने हाम्रो पुर्खाले हिजो जे जस्तो किसिमले आफूलाई प्रदर्शन गरी सामाजिक आदर्श कायम गरे, वर्तमान समयसम्म हामीले जुन संस्कृति र संस्कारलाई स्वीकार गरी अघि बढिरहेका छौँ । यसतर्फ थोरै चिन्तन बढायौँ भने हामीले हाम्रो दायित्व के रहेछ त्यो बुझ्न सक्ने अवस्था हुन्छ । विश्वास र आस्थाको आधारमा निर्माण हुँदै आएको हाम्रो सामाजिक संस्कार जसले हाम्रो अस्तित्वलाई पहिचान गराउँदै आएको छ । खुसी र सद्भाव बाड्दै अघि बढेको छ, निरन्तर गतिशील भइरहने जीवनको उद्देश्यलाई सर्वेभवन्तु सुखिन, सर्वेसन्तु निरामया भन्दै अघि बढ्ने सङ्कल्प जागृत गरेको छ, वास्तवमा यी सबै हाम्रो आचरण र व्यवहारले प्रतिस्थापित परम्परा संस्कारले नै गराएको मान्न सकिन्छ ।

जीवन के हो यो किन र के लागि भनी आफूभित्र सचेत आत्मज्ञानलाई व्यवहारिक जीवनशैलीमा रुपान्तरण गर्दै अघि बढ्ने जुन संस्कृति हाम्रो सामाजिक परम्परा भएको छ त्यो हाम्रो लागि सुन्दर गोरेटो भएर देखा परेको छ । मानव आचरणभित्र देखा पर्ने विविध आचरण, गुण र स्वभावमा हुने फरक अनुभूतिलाई विश्लेषण गर्ने हो भने यहाँ अनेकतामा एकता भएको पाइन्छ । बगैँचामा फुलेका सबै फूलहरु फरक–फरक किसिमले फरक–फरक तरिकाले जसरी मानवीय जीवनमा प्रदर्शन भएको पाइन्छ त्यसैगरी समाजमा पनि विविधता हुँदै एकता भएको पाइन्छ । मानिसको व्यवहार र आचरणले देखाउँदै गरेको दृष्टिकोणलाई पृथक–पृथक ढंगले परिस्कृत गर्दै सामाजिक संस्कार र संस्कृति स्थापित भएको मान्न सकिन्छ । फरक अनुभूति र फरक क्रिया प्रतिक्रियाबाट विचारको व्याख्या र विश्लेषण हुँदै सामाजिक रितिरिवाज कायम भएको हुन्छ ।

कसैलाई कुनै किसिमले प्रभाव पारेको हुन्छ भने कसैलाई कुनैले । यसरी विविध किसिमले सामाजिक परिवेश गतिउन्मुख भएको हुन्छ । गतिशील हुने क्रममा जुन संस्कृति र व्यवहारले मानिसलाई एक शुत्रमा बाड्ने स्थिति बन्छ त्यही गएर त्यसले परम्परा र रितिरिवाजमा असर पु¥याउँदै जीवनलाई प्रभावित गरिरहेको हुन्छ । यही प्रभावको आधार स्थापित परम्परा हाम्रो संस्कृति बन्छ र यही संस्कृति हाम्रो जीवनको गति बन्छ । व्यवहार र कर्ममा संस्कारको रुप धारण गरी जीवनलाई चलायमान गराउँछ । त्यसैले सृष्टिको रचनादेखि वर्तमानसम्म जे जति संस्कार निखारिँदै यो अवस्थासम्म आएको छ ।

सामाजिक परम्परा भएर विकसित भएर आएको छ यसले भोलिको नयाँ भविष्य पनि निर्माण गर्ने आधार तयार गर्दै गरेको हुन्छ । एउटा सत्य के भने जति पनि संस्कृति र परिमार्जित संस्कार बनेर हाम्रो जीवनको गोरेटो बनेको छ, त्यो पूर्वबाट उदाएको सूर्य झै हाम्रो भविष्यको आधार पनि बनिरहेको सत्य कहिल्यै भुल्नु हुँदैन । व्यवहार परिवर्तन हुन सक्छ तर समाजमा स्थापित संस्कारलाई बदल्छु भनी पराया संस्कृतिलाई प्राथमिकता दिन्छु भनी हेर्दै जाने हो भने आफ्नो जन्म र कर्मको मान्यतामा पनि आँच पुग्ने अवस्था हुन्छ । यदि यस्तो अवस्था आयो भने व्यक्ति समाजको लागि अपाक्छे भइ पतित हुने अवस्था हुन्छ यो कदापी बिर्सनु हुँदैन ।

हुन त विविध विचार श्रृंखलाभित्र हुर्केको मानव सोचमा विविध विचार र देखासिकी प्रचलन बढी देखिन्छ । आफ्नो विचार र कर्मभन्दा अरु देखाएको विचार र कर्मप्रति डाहा गर्ने प्रवृति देखिन्छ, आफूभित्रको प्रतिभा गुण र क्षमता एवम् आफ्नो मौलिकपनभन्दा दृष्टि भ्रमले अरुको कुरालाई सबै ठान्ने प्रवृति पनि यहाँ नभएको होइन । संस्कृति र संस्कारप्रति कुभावनाको प्रवृति पनि नभएको होइन तर एउटा सत्य के हो भने हामी हिजो जुन संस्कारमा हुर्कि वर्तमानको यो अवस्थासम्म आएका छौँ यो सबै यी हाम्रै संस्कृति र संस्कारले ल्याएको सत्य हो । हाम्रो चेतनाको स्तर जसरी वृद्धि भएको छ यो हाम्रै संस्कृति र संस्कारको उपलब्धी मान्नु पर्दछ ।

हाम्रो भौगोलिक वनोवट, आचरण र व्यवहारलाई हेर्ने हो भने हाम्रो मौलिक संस्कृति, रहनसहन जे जति वर्तमानमा देखा परेको छ यो अन्य मुलुककोभन्दा बेग्लै किसिमले परिचित भएको छ । यहाँ धर्म र संस्कृतिले जुन कुरा विश्व सामु देखाएको छ । त्यो सबै हाम्रै आचरण र व्यवहारको परिणत पनि हो । हामी नेपाली भएर जसरी विश्व रंगमञ्चमा पहिचान बढाएका छौँ । त्यो हाम्रै मौलिक संस्कृति र संस्कारको कारणले हो । विविधतामा एकता बोकेर संस्कृति हाम्रो पहिचान बनेर आएको छ । हामीले स्वीकार गर्दै आएको हाम्रो संस्कृतिभित्रको जात्रापर्व र त्यस पर्वप्रतिको हाम्रो अभिरुची त्यसले दिन खोजेको संस्कारयुक्त जीवनशैली यो विश्वकै नमुना भएर वर्तमान देखा परेको छ । तसर्थ हाम्रो संस्कृति हाम्रो पहिचान भनी संस्कृति र संस्कारलाई अक्षुण गतिशील बनाउने हाम्रो जिम्मेवारी भनी आफूलाई प्रस्तुत गर्नु परेको छ । वर्तमान यही खोजिरहेको छ ।