लक्ष्मण शर्मा
सामान्यतया मान्छेको मस्तिष्कमा कुनै डिजीज छैन भने सबै मानिसको मस्तिष्क उत्तिकै तृष्ण र क्षमतावान हुने गर्दछ। मानिसले आफ्नो मस्तिष्कलाई कुन उद्देश्यका साथ कसरी प्रयोग गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत भएको हुँदा हरेक मानिसको पहिचान फरक फरक हुने गर्दछ। आफ्नो लक्ष्य, उद्देश्य र सफलता प्राप्त गर्न मानिसले आफ्नो मस्तिष्कलाई सकारात्मक तरिकाले प्रयोग गर्दछ।
विश्वमा भएको अनुसन्धानलाई हेर्दा मानिसले आफ्नो मस्तिष्कको क्षमतामध्ये एक प्रतिशत मात्र प्रयोगमा ल्याएको देखिन्छ। यद्यपि आइन्स्टाइनले भने आफ्नो मस्तिष्कको क्षमतालाई ३ प्रतिशतसम्म प्रयोग गर्न सफल भएका थिए। मस्तिष्क र मन फरक फरक कुरा हो। मनको आवाजलाई मस्तिष्कद्वारा प्रयोग गर्न सकेमा मानिसको चेतना मानवीय हित र कल्याणको लागि धेरै उपयोगी हुने थियो।
कामको सिलसिलामा म यतिबेला देश बाहिर छु। म जस्तै आफ्नो देश छोडेर आएका हामी ६ देशका नागरिक यतिबेला एउटा फर्ममा काम गरिरहेका छौं। हामीले हाम्रो काम सँगसँगै हाम्रो भाषा, संस्कृति र शासन व्यवस्थाको बारेमा बेलाबेलामा गफ गर्छौं। सबैले आफ्नो देशको विशेषता, विश्व मानचित्रमा आफ्नो देशको पहिचान, आफ्नो सभ्यता र संस्कृतिको बखान गर्छन्। सुनेर म दङ्ग पर्छु। गौरवले मेरो छाती फुल्छ जब म विश्वमा एउटा मात्र देश नेपाल हो जो कहिल्यै कसैको गुलाम बनेन भनेर आफ्नो स्वाभिमानको गाथा सुनाउँछु।
म मेरो सभ्यता, संस्कृति ,बुद्ध र सगरमाथाको बखान जसरी गर्छु उनीहरु सुनेर दङ्ग पर्छन् र भन्छन् हामी पनि एकदिन तिम्रो देशमा घुम्न आउनेछौं।। कुराको सिलसिलामा मेरो एकजना अफ्रिकन साथी एमबिले जब आफ्नो देशको शिक्षा, संस्कृति र भाषालाई अमेरिका, फ्रान्स र ब्रिटिसले कसरी ध्वस्त बनाए र आफ्नो भाषा ,संस्कृति र धर्म लाँदेर कसरी आजसम्म गुलाम बनाए भन्ने तथ्य दियो सुनेर म साह्रै चिन्तित भए।
देश कमजोर भयो र असल नेतृत्व भएन भने कसरी अफ्रिकीकरण सिक्किमीकरण र भुटानीकरण हुने रहेछ भन्ने बोध हुँदै गयो । साथै एउटा भनाइ पनि याद आएको छ(कुनै देशलाई बर्बाद गर्न परमाणु बम वा लामो दूरीको क्षेप्यास्त्र चाहिदैन। सबभन्दा पहिला त्यो देशको शैक्षिक व्यवस्था र संस्कृतिमाथि राजनीतिको बिउ रोपिदिए पुग्छ। अहिले नेपालमा हाम्रा केही जनप्रतिनिधि मार्फत यस्तै बिउ रोप्न खोजिँदैछ। बेलैमा सचेत भएर तिनीहरूको यस्ता किसिमका राजनीतिक एजेन्डाको विरोध गरौँ र निस्तेज पारौ।
कोरोनाको प्रकोपले विश्वभर पारेको असर पश्चात तीव्र गतिले बढेको आर्थिक मन्दीका कारण देश पुरै बिरामी छ यतिबेला। नयाँ व्यवसायहरू ठप्प हुन थालेका छन्। विद्यालयको शुल्क दिनप्रतिदिन बढेको छ। महङ्गी दिन प्रतिदिन बढ्दै गएको छ। किसानले उचित बजार पाएका छैनन्। बैंकको ब्याजदर चर्को दरले बढेको छ। राजनीतिक अस्थिरता यसरी बढेको छ कि दुई वर्षमा तीनचोटि सरकार परिवर्तन भएको छ। यी सबै गतिविधिबाट दिक्क भएर नेपालमा अहिले विदेशीले युवा युवतीको संख्या लाखौंमा बढ्न थालेको छ। तर विदेश अन्तिम विकल्प भने होइन।
विकासको सम्भावनाको हिसाबले हेर्दा नेपाल अनुकूल देश हो। एकैपटक जलस्रोत, कृषि ,पर्यटन, जडीबुटी, युवा जनशक्ति र अनुकूल प्राकृतिक वातावरण हामीसँग छ। उत्तर र दक्षिणतिरको बजारको आवश्यकतालाई पहिचान गरी सोही अनुसार उत्पादन गर्न सकेमा व्यवसायिक फड्को मार्न सकिन्छ। विकासशील देशमा प्रगति गर्न सजिलो हुन्छ। त्यहाँ सम्भावनाका थुप्रै अवसरहरु हुने गर्छन्। नेपालले कृषि र आइटीको क्षेत्रमा छिटो फड्को मार्न सक्छ। यसतर्फ व्यवसायीले ध्यान दिने र राजनीतिले वातावरण बनाइदिने हो भने जनताको जीवनस्तर अबको दशकमा माथि उठाउन सकिन्छ।
व्यवस्थालाई संस्थागत गरिसकेपछि पनि हामीले किन विकास गर्न सकेनौ रु किनभने समस्याको जड भ्रष्टाचार र कमिसन हो। त्यसकारण राजनीतिलाई सफा नगरी देश बनाउन सकिन्न। राजनीतिलाई सफा गर्ने क्रम सँगसँगै कर्मचारी तन्त्र र संयन्त्रमा पनि सफा गर्नुपर्छ। त्यसपछि मात्र विकास र समृद्धिको मार्गमा अगाडि बढ्न सकिन्छ। देशको शैक्षिक क्षेत्रमा र कर्मचारीतन्त्रमा सुधार गर्ने हो भने राजनीतिक दलका नेतामा उच्चकोटीको चेत र संस्कार आवश्यक पर्छ।
यस विषयमा निर्भय भएर बोल्ने व्यक्तिको खाँचो छ यतिबेला । कर्मचारी तन्त्र देशको स्थायी सरकार हो। यसलाई राज्यको नीतिले चलाउने हो। राजनीतिक दलले होइन। राजनीतिक दलको कारणले गर्दा केही दशक यता नेपालको निजामती सेवामा चरम व्यतिथी मौलाएको छ। राजनीतिक दलका कार्यकर्ताले कर्मचारीलाई राष्ट्रसेवक नभई दलको सेवक बनाएका छन्। हामीले कर्मचारीलाई पक्का कर्मचारी नै बनाउन चाहेनौ। स्वाभिमानी र विवेकी बनाउने प्रयास नै गरेनौ। राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलमा संलग्नताको आधारमा खटनपटन गर्छौं, सरुवा बढुवा गर्छौं र यसको विपक्षमा रहनेलाई दण्डित गर्छौं। यस्तो अवस्थामा सुशासनको कुरा गर्नु अर्थहिन हुन्छ ।
यतिबेला देशको प्रशासनिक संयन्त्र भ्रष्टाचार, व्यतिथी,अराजकता, ढिला सुस्ती र पक्षपातले थिलोथिलो भएको छ। राजनीतिक आस्थाका आधारमा खोलिएका ट्रेड युनियनहरूले तिनका राजनीतिक दलको पक्षपोषण गरेका छन्। कर्मचारी संयन्त्र निकम्मा बनाउन सहयोग गरेका छन्। नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाका निम्ति सामुहिक सौदाबाजी गर्न पेशागत रुपमा एउटा साझा ट्रेड युनियनको व्यवस्था गरेको हो। तर यहाँका ट्रेड युनियनहरू त्यसको मर्मबाट धेरै टाढा छन्। ट्रेड युनियन को प्रभाव देखाएर राजनीतिक दलको कार्यकर्ता जस्तो भएर काम गर्ने प्रवृत्ति हाबी छ। यसरी नेपालको प्रशासनिक क्षेत्र भयङ्कर छेतविक्षेत भएको छ।
अनुशासन, हार्दिकता ,प्रेम र प्रशंसा सिकाउनुपर्ने विद्यालय र विश्वविद्यालयमा हामीले राजनीतिक दलको उद्देश्य पूरा गर्न विद्यार्थी संगठनको नाममा जिन्दाबाद र मुर्दाबाद सिकायौं। एकले अर्कोलाई गाली, घृणा र अविश्वास गर्न अनि ढुङ्गा हान्न सिकायौ। पक्षपात गर्न सिकायौं। विद्यार्थीलाई खास विद्यार्थी हुन दिएनौँ। विद्यालय र विश्वविद्यालयमा हामीले भ्रष्टाचार, अविश्वास र घृणा विजारोपण गरेका छौं। अहिलेको यथार्थ यही हो। हामीले कहिल्यै ध्यान दिएनौ।
छलफल र बहस गरेनौ। सबै कुरा यहीबाट बिग्रिदै गयो। बादशाह नाङ्गै छन् भनेर सबैलाई थाहा छ। तर बोल्ने हिम्मत कसैले गर्दैन। सत्ता र शक्तिसँग जोडिएर कानुन मिचेकाहरुले नरम भाषा बुझ्दैनन्। तिनीहरूलाई बुझाउन तिनीहरूलाई ध्वम्स गर्नुपर्छ। ध्वम्स नगरी निर्माण हुँदैन। भावनामा बगेर काम गर्ने हो भने यो देश कहिल्यै बन्दैन। नेपालीहरूको सहन सक्ने शक्ति को फाइदा उठाउँदै केही दलले राज्यका संयन्त्रलाई निकम्मा बनाउन खोज्दैछन्। र केही हुँदैन भन्ने भाष्य सिर्जना गराउँदैछन्। त्यसैले समयमा सजग भई यस्ता दल र व्यक्तिलाई प्रास्त गरौं डियर पाठक।