लकडाउन एक मात्र विकल्प हो

मनोज पौडेल

कोभिड–१९ को विश्वव्यापी महामारीले सम्पूर्ण विश्व नै त्रसित भइरहेको बेलामा म एक विज्ञ नभए पनि यस रोगबाट बच्न र बचाउन, शारीरिक तथा मानसिक स्वास्थ्यलाई बरकरार राख्न तथा यस विषम परिस्थितिमा पनि खुशी तथा सन्तुष्ट रही कसरी तनाव कम गर्न सकिन्छ भनेर मैले जानेका तथा पढेका कुराहरु पस्कनु पर्दछ भन्ने सामाजिक दायित्व महशुस गरी केही संक्षिप्त जानकारी पस्कने विचार गरेँ ।

कोरोना एक किसिमको भाइरसको समूह हो, जसले सामान्य रुघाखोकीदेखि severe acute respiratory infection सम्म गराउन सक्छ तथा मानिसको मृत्यु पनि हुन सक्छ । सन २०१९ मा पहिलो पटक देखिएको नोवेल (नयाँ) कोरोना भाइरस कोरोना भाइरसको एक प्रजाति हो । सन २०१९ मा देखिएको यही नयाँ कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग नै कोभिड-१९ (novel corona virus disease-2019)हो । कोरोना प्रजातिकै अन्य भाइरसबाट विगतमा सार्स र मर्स जस्ता महामारीहरु विश्व समुदायले खेपेको, सामना गरेको र निर्मुल पारेको हो, तर ती भाइरसभन्दा अहिले देखिएको भाइरसको संक्रमण दर निकै बढी छ, तर पनि यसले हुने मृत्यु दर सार्स र मर्सभन्दा निकै कम छ ।

उच्च ज्वरो (१००.४°F भन्दा माथि) आउनु, सुख्खा खोकी लाग्नु, श्वास फेर्न गाह्रो हुनु, कोभिड–१९ का मुख्य लक्षणहरु हुन् । तर पनि कतिपय मानिसमा यस भाइरसको संक्रमण भए तापनि कुनै लक्षण नदेखिने, प्रभाव पार्न नसक्ने तर त्यस्ता व्यक्तिबाट यो भाइरस अन्य व्यक्तिमा सरी संक्रमण फैलाउन सक्दछ । कोभिड–१९ संक्रमित व्यक्तिले खोक्दा, हाछ्यु गर्दा उसको नाक तथा मुखबाट निस्कने छिटाबाट सजिलै सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा, हात मिलाउँदा, संक्रमित वस्तु छोएर आँखा, नाक, मुख छुँदा यो रोगले सजिलै संक्रमित गर्न सक्दछ ।
यस रोगबाट कसरी सुरक्षित रहने ?
 पटक–पटक साबुन–पानीले कम्तिमा २० सेकेण्डसम्म मिचिमिची हात धुने
 जोखिमपूर्ण अवस्थामा साबुनपानीले मिचिमिचि हात धुने
 खोकीसकेपछि, हाछ्यु गरिसकेपछि
 बाहिरबाट घर फर्केपछि
 विरामी, बृद्ध र बच्चाको स्याहारसुसार गर्नु अघि र पछि
 बच्चा, बृद्ध, अशक्त तथा विरामीलाई खुवाउनु अघि र स्तनपान गराउनु अघि
 खाना खानु, तयार गर्नु र पस्कनु अघि
 चर्पीको प्रयोग गरेपछि र बच्चाको दिसा धोएपछि
 कुनै पनि किसिमको फोहर, पशुपंक्षी तथा संक्रमणको सम्भावना रहेका कुनैपनि चीजको सम्पर्कमा आएपछि
 खोक्दा वा हाछ्यु गर्दा टिस्यु पेपर, सफा कपडा वा कुहिनाले नाक मुख छोप्ने, टिस्यु पेपर तुरुन्तै ढकनी सहितको डस्टबिनमा फाल्नुका साथै सुरक्षित विसर्जन गर्ने र कपडा तुरुन्तै साबुन पानीले धोएर सुकाउने ।
 जथाभावी नाक, आँखा, मुख नछुने
 अन्य व्यक्तिसँग कम्तिमा तीन हात टाढा रहने, हात नमिलाउने
 भीडभाडमा नजाने तथा घर बाहिर अत्यावश्यक कामका लागि निस्कनु पर्ने भएमा अनिवार्य मास्कको प्रयोग गर्ने

विदेशबाट घर फर्किएकाले के गर्ने ?
बाहिरी देशबाट घर फर्किएका तर संक्रमण नदेखिएकाहरुले कोभिड–१९ को उच्च जोखिमलाई ध्यानमा राखी कम्तिमा १४ दिनसम्म पूर्णरुपमा घरमै छुट्टै कोठामा बस्ने, कम्तिमा १ मिटरको व्यक्तिगत दूरी कायम राख्ने गर्नु पर्दछ । यसो गर्दा संक्रमण देखिइहाले पनि परिवारका अन्य सदस्य संक्रमण हुनबाट बच्न सक्दछन् । पोषिलो तथा प्रोटिनयुक्त तथा रोग प्रतिरोधी क्षमता बढाउने खाना खाने, पटक–पटक साबुन–पानीले राम्ररी (हातको पछाडि, औँलाको काप, हत्केला, नङभित्र कम्तिमा २० सेकेण्ड) मिचिमिची हात धुने, आफूले प्रयोग गरेका सामग्री (खाना खाने भाँडाकुँडा, टावेल अरुलाई प्रयोग गर्न नदिने), चर्पीको प्रयोगपछि अनिवार्य सफा गर्ने, सम्भावित लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा उपचारको लागि जाने ।

मानसिक तनाव कसरी कम गर्ने ?

यस विषम परिस्थितिमा केही तनाव लिनु स्वाभाविक हो । तर यो तनाव बढ्दै गए मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्दछ । त्यसैले यसलाई कसरी कम गर्न सकिन्छ भनेर थोरै चर्चा गर्नु उचित लाग्यो, मलाई । यो समयलाई समस्याभन्दा पनि अवसरको रुपमा लिनुभयो भने तनाव निकै कम हुन्छ ।
 सोच्नुहोस् समयले हामीलाई घरमै बसेर राष्ट्र सेवा गर्ने, सामाजिक दायित्व निर्वाह गर्ने र दीन–दुःखीको सेवा गर्ने राम्रो अवसर दिएको छ । जुन हामीले कहिल्यै पाउने छैनौँ ।
 आफूलाई गर्न मनपर्ने तर समय अभावले गर्न नसकेका कुराहरु शौखहरु पूरा गर्नुहोस् । जस्तै चित्र कोर्ने, खाना पकाउने, छोराछोरीसँग खेल्ने, रमाउने, नाँचगान गर्ने, कथा, कविता लेख्ने, खेतबारीमा काम गर्ने आदि
 समाचार धेरै नसुन्नुहोस् (दिनमा दुई पटक विहान–साँझ सुन्नुभए हुन्छ), आफूलाई मनपर्ने वा हेर्न मन लागेको फिल्म हेर्नुहोस्, मनपर्ने तथा रमाइला (कमिक्स, उपन्यास, आदि) किताब पढ्नुहोस, गीत सुन्नहोस्, गेम खेल्नुहोस्, साथीभाइ, इष्टमित्रलाई फोन गरेर रमाउनुहोस् । साथै सामाजिक सम्बन्ध विस्तार गर्नुहोस् ।
 दैनिक योगा, ध्यान तथा exercise गर्नुहोस् । जसले तपाईंको तनाव कम गर्नुका साथै स्वस्थ रहन सहयोग गर्छ ।
 आफ्नो कन्ट्रोलमा नभएको कुरामा चासो नलिनुस्–नदेखाउनुहोस् । जसले तपाईंलाई थप पीडा दिन्छ ।
 आधिकारिक न्युज च्यानल तथा अनलाइन न्युज पोर्टल मात्र हर्नुहोस् । आधिकारिक निकायबाट आएको सूचना मात्र लिनुहोस्, अफवाहको भरमा नपर्नुहोस् ।

लकडाउन किन ?
कुनै पनि संक्रामक रोगले महामारीको रुप लिएमा सो महामारीको चेन–ब्रेक गर्नु अपरिहार्य रहन्छ । भाइरस आफै फैलँदैन । यो फैलनको लागि माध्यम चाहिन्छ । जसलाई हामी mode of transmission भन्छौं । अहिलेको हकमा मानिस नै रोग फैलाउनसक्ने प्रमुख माध्यम भएको सन्दर्भमा लकडाउन नै यस महामारीबाट बच्ने, बचाउने तथा निरन्तर फैलिइरहेको यस भाइरसको चेन ब्रेक गर्न सकिने एक मात्र विकल्प हो । लकडाउन कहिले खोल्न सकिन्छ ? तल उल्लेखित कुराहरुको सुनिश्चितता भएमा मात्र लकडाउन खोल्न सकिन्छ ।
 संक्रमणको अवस्था निर्मुल भएमा
 संक्रमित सबै पत्ता लागि उपचारको क्रममा रहेको र अन्य संक्रमित थपिन सक्ने सम्भावना नरहेमा
 रोगको आधिकारिक खोप तथा औषधि बनेको तथा सजिलै सर्वशुलभ रुपमा उपलब्ध हुने वातावरण सिर्जना भएमा
 राष्ट्रले जस्तोसुकै विषम परिस्थितिमा पनि संक्रमित हुने तथा सम्भाव्य सबैलाई औषधोपचारको लागि ग्यारेण्टी गर्नसक्ने जन साधन तथा सुविधाको सुनिश्चितता भएमा
त्यसैले आजको अवस्थामा कृपया घरमै बसौँ, सुरक्षित रहौं, सरकारको आदेशको पालना गरौँ, आफू बाँचौँ र अरुलाई पनि बचाऔँ ।

(लेखक पौडेल करिव दुइ दशक देखि, सामाजिक, स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा काम गर्दै आइरहनु भएको छ ।)