पद्मोदय क्याम्पसमा स्ववियुद्वारा पाँचदिने अल्टिमेटम

गोरक्ष समाचारदाता
दाङ, १७ चैत । पद्मोदय क्याम्पस घोराहीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले ज्ञापनपत्र बुुझाएको छ । स्ववियु सभापति विष्णु गोराथोकी र सहसचिव सङगीता चौधरीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा पाँच दिनभित्र लिखित सुनुवाइ नभए स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) क्याम्पसमा हुने कुनै पनि कार्यक्रम तथा क्रियाकलाप नहुने चेतावनी दिइएको छ ।

स्ववियुले सामुदायिक क्याम्पसको हकमा विद्यार्थी भर्ना शुल्क बढी भएको भन्ने गुनासोलाई ध्यानमा राखी शुल्क कम गर्नुपर्ने, क्याम्पस स्थापनाकालदेखि अहिलेको मितिसम्म स्थापना दिवस (वार्षिकोत्सव) नमनाएकोमा यसै वर्ष मिति सार्वजनिक गरी कार्यक्रम आयोजना गर्न सुरु गर्नुपर्ने, विद्यार्थी परिचय पत्र न्यूनतम शुल्क निर्धारण गरी २०८१ देखि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

यसैगरेर यातायात भाडा महँगो भएको र सेवा नलिए पनि अनिवार्य मासिक शुल्क तिर्नु पर्ने नियम परिमार्जन गरी भाडा घटाउनु पर्ने र सेवा सुरु गरेको दिनबाट मात्र शुल्क लिनुपर्ने, क्याम्पस खेल मैदानको पर्याप्तता हेरी पहिले नै माग भए अनुसार सम्पूर्ण खेलकुद सामग्री उपलब्ध गराउनु पर्ने, आवश्यक पुस्तक पुस्ताकालयबाटै उपलब्ध गराउनु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । पाँच दिनभित्र लिखित सुनुवाइ नभए स्ववियू क्याम्पसमा हुने कुनै पनि कार्यक्रम तथा क्रियाकलाप नहुने ज्ञापन पत्रमा भनिएको छ ।