आमा, अक्षरमा बिछ्याएँ तिमिलाई

सुलोचना गौतम

आमा, मेरी आमा !
हेर्नुस त म कस्ती ?
हेर्नुस त ठ्याक्कै हजुर जस्ती ।

हो आमा, है आमा, भन्नुस त आमा भन्दै
कुरा नगरेको पनि भयो कत्ती कत्ती
भनु पनि कसरी ? कठै म बालकै थिए
हजुर पर जाँदा, धेरै टाढा क्षितिज पारी पुग्दा
जानुभएछ जान्छु पनि नभनी, भन्या’भा हुने नी
आमा म हजुरको धोतिको सप्को समातेर ,
अङ्गालोमा बेरेर जानै दिने थिइन नि आमा !

सम्झन त हरेक पल पलमा सम्झिन्छु म,
आज फेरि रूवाउनुभयो हजुरले
आज फेरि सम्झाउनुभयो हजुरले
आहा, आमा शब्दै कति मिठो, कति प्यारो
सन्तुष्टि हुनै पाइन नी ‘आमा.. आमा..’ भनेर
तोते बोली फुटाउनै पाइन नी आमा भनेर
हरेक पीडामा सम्झिन्छु आमा
हरेक खुसिमा सम्झिन्छु आमा

म जन्मिने बेला हजुरलाई भएको प्रसव पीडा
म आमा बन्दा महसुस गरेकी छु,
हजुरलाई हर क्षेणमा सम्झदै आमा बने
मैले ममतालाई भोगाइमा उतार्न पाइन
तर आज म आमा बनेर माया ममता छर्दैछु
कहिले हजुर सपनीमा देख्छु
कहिले दिउँसै आखाँ चिम्लीदै भेट्छु ।

म हजुरकी कान्छी
अनि धेरै दुःखमा सानी भन्दै बोलाएको आभास हुन्छ,
के होला र आमा हजुर आउनु भएको
सोंच्छु, सम्झिन्छु अनि आफैलाई सम्झाउँछु
हजुर त कहिले नआउने शहरमा जानुभो रे
हजुरले त एक्लो यात्रा तय गर्नु भो रे
मैले त्यति बेला कहाँ थाहा पाएर र आमा !
थाहा पाको भए किन छोड्थेर एक्लै
म पनिसङ्गै जान्छु भन्थेनी आमा
मधुर बोली, अनि न्यानो काख,
आफुमा समेट्दै कहिले नछुट्टिने गरी
सधै सङ्गै हुने गरि सप्को पकडेर जान्थेनी ।
यो कस्तो अन्याय हो भगवानको हामी माथी
यो कस्तो प्रहार हो उनको हामी माथी
आमा आज स्मरणमा मात्र ।

आज हजुरको दिन हो रे,
त्यसैले त अक्षर कोर्दै, बिछ्याउँदै
हजुरलाई उतार्ने प्रयास गरे आज
मनवाट महसुस गर्दै नमन गरे आज ।