गोरक्ष समाचारदाता
देउखुरी, ५ चैत । नेपाली कांग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा इकाइ सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा समितिको आयोजनामा वडा सम्मेलनसँगै दोस्रो चरणको ‘समुदायमा कांग्रेस’ अभियानको समापन गरिएको हो । वडा सभापति शालिकराम चौधरीको शभापतित्व एवम् नेपाली कांग्रेस प्रदेश १ ‘ख’ का सभापति दिनेश गिरीको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले स्थानीयको सहयोगमा दत्तचित्त भएर लाग्न अनुरोध गरे । पार्टीको जग भनेकै इकाइ समिति रहेको भन्दै उनले हरेक तवरमा स्थानियबासीको सहयोगमा जुट्नु पर्ने र जसले गर्दा संगठन बलियो हुने बताए । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तथा ७ नम्बरका वडाध्यक्ष मोहन गिरीले भेलामा उठेको जिज्ञासालाई मेट्दै नदीजन्य पदार्थ निकासीका लागि आफू लागिपरेको बताए । भेलामा सहभागीले नदीजन्य पदार्थ निकास दिनुको साटो नगरपालिकाले गाडी छोप्दै कारबाही गरेकोप्रति आक्रोश पोखेका थिए । हसनापुर निवासी मन्साराम चौधरीले आफ्नै जग्गामा नदी बगेको र त्यहीँबाट घरको प्रयोजनका लागि बालुवा पनि लिन नपाएकोप्रति गुनासो पोखे । ‘नदीजन्य पदार्थ सबलाई आवश्यक पर्छ, लिन पाउनु प¥यो नि’, चौधरीले भने, ‘नगरपालिकाले रोक्ने मात्रै गर्ने हो कि निकास पनि दिने हो ?’
नगरपालिका प्रवक्ता समेत रहेका मोहन गिरीले कार्यपालिका बैठकमा सबैलाई सहज हुने गरी ठेली प्रयोगमा लिएर नदीजन्य पदार्थ निकासी गर्नु पर्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन नसक्दा नगरबासीले दुःख पाएको बताए । उनले उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्न पाउनु पर्ने र त्यसको लागि आफू लागिपरेको बताए । कार्यक्रममा समुदायमा कांग्रेस अभियानका लागि ७ नम्बरमा खटिएका जिल्ला प्रतिनिधि गोविन्द रेग्मीले यस वडामा कार्यक्रम गर्दै जाँदा कांग्रेसको उल्लेख्य मात्रामा संगठन बलियो पाएको बताए ।
घरायसी कामको बाबजुद पनि यहाँका वडाबासी बिहान, साँझ जतिखेर पनि उपस्थित भएकोप्रति खुसी व्यक्त गरे । क्षेत्रीय सदस्य किरणविक्रम शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन इकाइ सदस्य टेकबहादुर पुनले गरेका थिए । कार्यक्रमको अवसरमा गोरक्षकर्मी टेकबहादुर पुनलाई वडा प्रवक्ताको जिम्बेवारी सुम्पिएको वडा सभापति शालिकराम चौधरीले जनाएका छन् ।