गोरक्ष समाचारदाता
दंगीशरण, ५ चैत । गुरुबाबा सहकारी सस्थाद्वरा सञ्चालित गोल्डेन पाथ एकाडेमी दंगीशरण ३ रावतगाउँको आयोजनामा मातृभाषामा आधारित बहुभाषा शिक्षण पद्धतिको लागि हाम्रो भूमिका विषयक छलफल कार्यक्रम विद्यालयको प्राङ्गण रावतगाउँमा सम्पन्न भएको छ ।
गुरुबाबा सहकारी संस्थाका अध्यक्ष तकबहादुर चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बोल्ने भाषालाई विद्यालयको सिकाइ तथा पठनपाठन गर्ने बेला प्रयोग गर्न कार्यक्रमको मुख्य उद्देश्य विद्यालयका अध्यक्ष वीरबल चौधरीले जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बालबालिकाको पहिलो पाठशाला परिवार भएकाले पनि सिकाइका क्रममा मातृभाषाको प्रयोग महत्वपूर्ण भएको बताए ।
आफूहरू पनि निर्वाचित भएर आएको दोस्रो वर्षमा अहिले स्थानीय पाठ्यक्रम लागु गरिएको जनाकारी गराए । नेपाली भाषा र थारू भाषाको प्रयोग दाङको सन्दर्भमा थारू भाषाको उल्लेखनीय बसोबास हुने समुदायमा प्रमुख आवश्यकता रहेको समेत उनले बताए । घरमा बोल्ने गरेको भाषालाइ सिकाइका क्रममा लागु गर्न सके विद्यार्थीलाई बुझ्न र सिक्न सहज हुने अध्यक्ष गिरीले बताए । बहुभाषा शिक्षणले विद्यार्थी कक्षा छोड्ने समस्यामा समेत कमी आउन सक्ने अपेक्षा अध्यक्ष गिरीको रहेको थियो ।
डेनमार्कबाट आएका ४ जना विदेशी नागरिक कृस्टेनो बाउन, सेरोनालगायतले यहाँको संस्कृति तथा परम्पराको उच्च प्रशंसा गरेका थिए । विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट रचनात्मक कार्य गर्दै प्रविधिमैत्री शिक्षामा जोड दिँदै आएको छ । कार्यक्रममा विभिन्न किसिमका थारू संस्कृति झल्कने गीतमा नृत्य प्रस्तुत गरिनुका साथै विद्यालयमा आयोजित विभिन्न कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक अञ्जु कुसुम्याले गरेकी थिइन् ।