गोरक्ष समाचारदाता
दाङ, ५ चैत्र । रेशम चौधरी र रञ्जिता श्रेष्ठ दम्पत्तिको विवादबिच सुदूरपश्चिम प्रदेशको वर्तमान सरकारलाई समर्थन गर्ने भन्दै नागरिक उन्मुक्तिका सांसदले निर्णय गरेपछि सत्ता धरमरमा देखिएको लुम्बिनी प्रदेश सरकारलाई केही आश राख्ने ठाउँ दिएको छ ।
हाल प्रदेश सरकारकै समर्थनमा रहेका उन्मुक्ति प्रदेशका सांसदहरू रञ्जिता उन्मुख भए स्वतः अल्पमतमा पर्ने खतरा देखिरहेको सत्ता नेतृत्वकर्ता कांग्रेसका लागि सुदूरपश्चिम प्रदेश रेशम अनुकूल बनिदिएपछि यहाँ पनि रेशमकै जोर चल्नेमा आश गर्ने ठाउँ दिएको छ । यो दलका लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी भने अहिले काठमाडौंमा छन् ।
शीर्ष तहका नेताहरूसँग छलफल गर्नका लागि भन्दै काठमाडौं हानिएका मन्त्री चौधरी भने यो प्रदेशमा रहने भूमिकाबारे ठोस निर्णय सुनाउने अवस्थामा पुगिसकेका छैनन् । ‘सुदूरपश्चिममा कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको भए पनि हाम्रो प्रदेशमा सोही अनुसारको निर्णय हुन्छ नै भन्ने होइन र अहिले कुनै पनि ठोस निर्णय भइसकेको छैन’, चौधरीले भने, ‘शीर्ष नेताहरूसँग परामर्शमै छु, कसरी अघि बढ्ने भन्ने विषयको निक्र्यौल चाँडै होला ।’
सुदूरपश्चिममा जस्तै यहाँ पनि उन्मुक्तिले कांग्रेसलाई नै समर्थन गरेर जाने अवस्था रहे कांग्रेस र उन्मुक्तिको मत मात्रै संसद्मा ३१ कायम हुने छ । उन्मुक्तिका सांसद यो प्रदेशमा ४ जना छन् । यससँगै लोसपाको कांग्रेसलाई नै समर्थन रहनेमा ढुक्क रहेको कांग्रेसले लोसपाको तीन मतलाई पनि आफ्नो पक्षमै राखेर जोडेको छ । उन्मुक्तिले कांग्रेसलाई साथ दिए लोसपा सहित कांगे्रसको मत ३४ मत हुने छ । यसैगरी वर्तमान गठबन्धनको विपक्षमा देखिएको सिके राउत नेतृत्वको जनमत पार्टी पनि आफूसँगै रहने कांग्रेसको विश्वास छ ।
उसको तीन मत जोडिँदा कांग्रेसको पक्षमा सदनमा ३६ मत कायम हुने छ । यसैगरी वर्तमान गठबन्धनको विपक्षमा देखिएको राप्रपालाई समेत आफू पक्षीय गणना गरेको कांग्रेसले राप्रपाको मत पाए संसद्मा आफ्नो पक्षमा ३९ मत पु¥याउने छ । यसैगरी राष्ट्रिय जनमोर्चाको एक मत र स्वतन्त्र एक मतलाई आफूसँगै रहने दाबी गरेको कांग्रेसले यो दुई मत सहित सदनमा आफू पक्षीय सांसदहरूको सङ्ख्या ४१ पु¥याउने छ ।
यो प्रदेश सभाको अल्पमत हो । त्यो पनि नागरिक उन्मुक्ति कांग्रेसको समर्थनमा नरहे कांग्रेसलाई संसद्मा बहुमत पु¥याउन निकै हम्मे–हम्मे पर्ने देखिन्छ । त्यसो त नागरिक उन्मुक्तिलाई मात्रै साथमा लिएर मात्रै कांग्रेस नेतृत्वको सरकार जोगिने अवस्था भने रहन्न । उन्मुक्तिसँगै गठबन्धनमा जोडिएको जनता समाजवादी पार्टीको मत कांग्रेसले आफ्नो पक्षमा जोड्नै पर्छ । यसो हुँदा भने संसद्मा कांग्रेसको बहुमत पुग्छ । जसपाको तीन मत जोडिँदा कांग्रेसको मत ४४ मत पुग्छ । लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ ।
कांग्रेस उन्मुक्तिसँगै जसपालाई फकाउन अहिले लागि परेको छ । उन्मुक्तिले सुदूरपश्चिममा कांग्रेसलाई समर्थन गरेर जाने निर्णय गर्नु र र अर्को अपरिहार्य बनेको दल जसपा पनि सरकारमै कायम रहेका कारण पनि कांग्रेसलाई सत्ता जोगिने आशा कायमै राखिदिएको भने छ । त्य सो त जसपाले पनि यो प्रदेशमा आफ्नो झुकाव कांग्रेसतिरै रहेको आशय देखाएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी केन्द्रमा जस्तोसुकै गठबन्धन निर्माण भएको भए पनि वर्तमान प्रदेश सरकारलाई कायम राख्नका लागि सबै दलहरूसँग छलफल गरिरहेका छन् ।
‘साना ठुला दल सबैसँग छलफल चलिरहेको छ’, उनको सचिवालयले भनेको छ, ‘अहिलेसम्म छलफल सकारात्मक छन् ।’ दलहरूलाई फकाउन तल्लीन रहेका मुख्यमन्त्री चौधरीले सत्ता जोगाउने आशा कायमै रहेका कारण आफूले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने अन्तिम दिन संसद्मा फेस गर्ने रणनीतिमा छन् । माओवादीले केही दिन अघि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री चौधरीले ३० दिनभित्रमा विश्वासको मत लिनु पर्छ । उनले विश्वासको मत आगामी २२ गतेसम्ममा लिइसक्नु पर्ने छ । यो अवधिसम्म प्रदेशको राजनीति आफू अनुकूल बनाउन सकिनेमा आशावादी रहेका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तिथि अन्तिम दिनलाई टुङ्गो लगाएको बताइएको छ ।