नाकाका विद्यार्थीलाई पानीको कष्ट : तिर्खाउँछन् विद्यार्थी, तिर्खा मेट्ने खोला सुख्खा

देवेन्द्र बस्नेत
दाङ, २ चैत । गत वर्षको चैत अन्तिम साता खोलाको पानी सुक्यो । खोला सुख्खा बनेपछि विद्यार्थीहरूलाई पानी खुवाउनै सकस भयो । त्यसपछि नेपाल भारत सीमा क्षेत्र गढवा गाउँपालिका, कोइलाबासमा रहेको महेन्द्र आधारभूत विद्यालय बन्द गर्नु प¥यो । पानीको अभाव भएपछि एक हप्तासम्म विद्यालय नै बन्द गर्नु परेको भन्दै विद्यालयका प्रधानाध्यापक रामलाल वलीले भने, ‘खोलामा पानी सुकेपछि बालबालिकालाई पानी खुवाउनै नसकिने अवस्था बन्यो अनि विद्यालय नै बन्द गरेर बस्यौँ ।’

एक हप्तापछि गढवा गाउँपालिकाले ट्याङ्करबाट पानी पु¥याइदियो अनि पालिकाले ट्याङ्करबाट पानी पु¥याइदिएपछि बल्ल विद्यालय खोलियो । ‘गाउँपालिकाले ट्याङकरबाट पानी पु¥याएपछि एक हप्तापछि विद्यालय खोलेका हौँ’, विद्यालयका प्रधानाध्यापक वलीले भने। ‘यहाँ त विद्यार्थीलाई पानीको व्यवस्थापन गर्न असहज अवस्था छ ।’ यस वर्षको सुख्खा याम फेरि सुरु भइसकेको छ । खोलामा रहेको पानी सुक्दै जान थालिसकेको छ । विद्यालयलाई फेरि उही पिरलो सुरु भइसकेको छ । विद्यालयका प्रधानाध्यापक वलीका अनुसार खोलामा रहेको पानी मोटरबाट तानेर गाउँमा वितरण भएको छ तर सुख्खा मौसम सुरु भएपछि पानीका लागि गरिएको यो व्यवस्थापन पनि बेकामे बनिदिन्छ ।

खोला सुख्खा बन्दा पानीको चरम समस्या झेल्नु पर्ने यो विद्यालयले भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो क्षेत्रमा जडान गरेको धाराको पानी प्रयोग गर्दै आइरहेको थियो । उसको ब्यारेक बाहिर जडान गरिएको धाराको पानी बोकेर विद्यार्थीलाई खुवाउँदै आइएको थियो तर एसएसबीले त्यो धारा हटाइदिएको छ । ‘खोलाको पानी सुक्यो भने एसएसबीको धाराको पानी खुवाउँथ्यौँ, एसएसबीले पानी लिन दिन्थ्यो पनि’, विद्यालयका प्रधानाध्यापक वलीले भने, ‘तर उसको ब्यारेक बाहिर जडान गरिएको धारा हटाइदियो अनि पानीका लागि झनै समस्या हुन थाल्यो ।’

एसएसबीले धारा फालिदिएपछि विद्यालयले भारतको जरुवा भन्ने स्थानबाट बोकेर पनि पानी खुवाउन थाल्यो । मोटरसाइकलमार्फत् ग्यालेनबाट पानी बोकेर खुवाउन सम्भव भएन अनि विद्यालय बन्द गरेरै बस्नु पर्ने बाध्यता आएको विद्यालयका प्रधानाध्यापक वलीले बताए । ‘भारतको जरुवा भन्ने स्थानबाट मोटरसाइकलमार्फत् ग्यालेनमा पानी ओसारेर पनि खुवाउने कोसिस ग¥यौँ’, उनले भने, ‘तर यो सम्भव भएन अनि विद्यालय बन्द गरेर बस्नु प¥यो ।’

यस वर्ष पनि गाउँपालिकाले ट्याङ्करबाट पानीको व्यवस्थापन नगरिदिए विद्यालय बन्द गरेर बस्नु पर्ने बाध्यता आउने उनको भनाइ छ । ‘अबको केही दिनपछि खोलाको पानी सुकिहाल्छ, पालिकाले गत वर्ष जस्तै ट्याङ्करबाट पानी पु¥याइदिएन भने त फेरि विद्यालय बन्द गरेर बस्नुको विकल्प हुँदैन’, उनले भने, ‘हामीले पालिकालाई यो समस्याबारे जानकारी गराउँदै आएका छौँ, पालिकाले पानी पु¥याइदिन्छ पक्कै पनि ।’ खोलाको पानी मोटरमार्फत् तानेर विद्यालयमा पु¥याइएको छ । खोलाबाट सिधै पाइपमार्फत् पु¥याईएको पानी विद्यालयले शुद्धीकरण गरेर विद्यार्थीलाई खुवाउने गरेको छ । ‘विद्यालयमा पानी शुद्धीकरण गर्ने मेसिन छ, हामीले पानी शुद्धीकरण गरेर विद्यार्थीलाई खुवाउँछौँ र हामी शिक्षकले पनि खान्छौँ’, विद्यालयका प्रधानाध्यापक वलीले भने । यो विद्यालयमा झन्डै एक सय विद्यार्थी छन् ।

नेपाल भारत सीमा क्षेत्रमा खानेपानीको समस्या चरम छ । खानेपानीका योजना सञ्चालन नहुँदा नाका क्षेत्रको पानी तिर्खा मेट््ने खहरे खोला नै हुन् । नाका क्षेत्रमा रहेका विद्यालयले साना बालबालिकालाई समेत खोलाको दूषित पानी खुवाउनु पर्ने बाध्यता छ । खोलाको फोहोर पानीकै कारण विद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी समेत पर्ने गरेको शिक्षक बताउँछन् । गढवाको खबरी नाकामा रहेको दुर्गा प्राविका प्रधानाध्यापक कृपानन्द चौधरी भन्छन्, ‘खोलाको फोहोर पानी नै खानु पर्ने र विद्यार्थीलाई खुवाउनु पर्छ, विद्यार्थी मात्रै होइन हामी शिक्षकमा पनि स्वास्थ्य समस्या आइरहन्छन्, फोहोर पानीका कारण रुघाखोकीलगाएतका समस्या देखिन्छन् ।’ यो नाकामा रहेको स्थानीय खोला नै पानीको मुख्य स्रोत हो ।

खोलाबाट पाइपमार्फत् बस्तीमा पानी पु¥याइएको छ । बस्तीमा पु¥याइएको यही पानी विद्यार्थीले पिउँछन् । विद्यालयमा पानी शुद्धीकरण गर्ने मेसिन पनि छ तर विद्यालयसम्म पानी पुग्न सकेकै छैन । फलतः विद्यार्थीले खोलाबाट आउने फोहोर पानी पिउनु पर्ने बाध्यता छ । ‘पाइपबाट बस्तीमा पानी ल्याइएको छ तर हामीसँग पाइप खरिद गर्ने पैसा नभएर विद्यालयमा पानी तान्न सकिएको छैन’, यो विद्यालयका प्रधानाध्यापक चौधरीले भने, ‘पानी शुद्धीकरण गर्ने मेसिन त छ तर मेसिन प्रयोगविहीन अवस्थामा छ ।’ सानो बस्ती रहेको यो नाकाको विद्यालयमा २२ जना विद्यार्थी छन् ।

राजपुर गाउँपालिका, स्याउले नाका स्थित ज्ञानकुञ्ज प्राविका निमित्त प्रधानाध्यापक रामबहादुर विकलाई पनि सुख्खा यामको पिरलो सुरु भइसकेको छ । विद्यालयदेखि नजिकै रहेको खोलाको पानीले अहिलेसम्म विद्यार्थीले तिर्खा मेटिरहेका छन् तर यो खोलामा पानी सुक्दै जान थालिसकेको छ । ‘अब खोलाको पानी सुकिहाल्छ, विद्यार्थीलाइ पानी खुवाउन धेरै समस्या हुन्छ’, निमित्त प्रधानाध्यापक विकले भने, ‘हाम्रो विद्यालयमा सबैभन्दा ठुलो समस्या भनेको खानेपानीकै हो ।’ विद्यालय नजिकैको यो खोला सुक्नासाथ पानी बोक्नका लागि एक घण्टा तल झर्नु पर्छ ।

‘हाम्रो विद्यालय डाँडोमा छ, अब पानी ल्याउन एक घण्टा तल अर्को खोलामा झर्नु पर्छ’, उनले भने, ‘विद्यालयका कार्यालय सहयोगीमार्फत् पानी बोकेर विद्यार्थीलाई खुवाउने गरेका छौँ ।’ यो विद्यालयका विद्यार्थीले पिउने पानी पनि खोलाको फोहोर पानी नै हो तर अहिलेसम्म कोही विद्यार्थी फोहोर पानी पिएका कारण बिरामी भने नभएको उनले बताए । ‘पानी त खोलाबाट बोकेर ल्याइएको हुनाले फोहोर नहुने कुरै भएन’, उनले भने, ‘तर पानी शुद्धीकरण गर्ने कुनै उपाय नै छैन, पानीकै कारण अहिलेसम्म विद्यार्थी बिरामी परेको अवस्था भने छैन ।’

वर्षौँदेखि खोलाको पानीले तिर्खा मेट्दै आएका नाकाबासी विद्यार्थीलाई सफा, शुद्ध पानी पिउने अवस्था चाँडै नहुने स्थानीय सरकार देख्छ । राजपुर गाउँपालिकाले स्थानीय तहबाट मात्रै नाका क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्न नसक्ने बताउँछ । नाका क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि अर्बौँ बजेटमा बहुवर्षीय आयोजना सञ्चालन गर्नु पर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेले बताए । ‘स्थानीय तहको बजेटले त्यहाँ खानेपानीको आयोजना सञ्चालन हुने वातावरण बन्दैन’, उनले भने, ‘सङ्घीय सरकारले नै बहुवर्षीय आयोजना सञ्चालन गर्न सके मात्रै नाका क्षेत्रमा खानेपानी पु¥याउन सकिन्छ ।’